चितवन । वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने जिम्मेवारी पनि मानिसकै हो । जनसंख्या वृद्धि, सवारी साधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घातक ग्यासले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएको छ ।
विकासशील मुलुकहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भूक्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखा परी पर्यावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ ।
यस्तो किसिमको विकराल समस्याको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नु परको छ ।
यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको लागि चिन्ताको विषय बनेको छ । विश्वमा जनसंख्याको चाप गणितीय रूपमा वृद्धि भएको छ तर, जमिन भने दिनहुँ घट्दो रूपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ ।
यी कारणले गर्दा ठूलाठूला महामारी र डरलाग्दा रोगहरूको उत्पत्ति भइराखेको छ । फोहोर मैलाको उचित र वैज्ञानिक रूपले विसर्जन गर्नुपर्ने टड्कारो स्थिति विद्यमान छ । मानव समाजले विज्ञानको चरम सिमामा पुगेर उल्लेखनीय उपलब्धीहरू हासिल गरेको छ ।
सञ्चारको विकासले गर्दा आजभोली मानिसहरू विश्वलाई ग्लोबल भिलेज पनि भन्ने गर्दछन् । मानवले जति जति उन्नति गर्यो उति उति समस्या र संकटहरू आइलागेका छन् ।
एकातिर सफलता तथा उल्लेखनीय उपलब्धिहरू हासिल भएको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवको लागि ठूलो संकट आइलागेको छ ।
मानिसले अन्धो भएर एकपक्षीय रूपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यापरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानवजातिको हितको लागि गरिएको विज्ञान प्रविधिको विकासले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्वहरू प्रदूषित भएका छन् ।
पृथ्वीको सिर्जना साढे चार अर्ब वर्ष अघि भए तापनि करिब डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एक कोशीय जीवको अस्तित्वका साथै बीस लाख वर्ष जति अघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यहि प्रकृति मै हुन्छ । त्यसैले एक अर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ ।
प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ उपहार हो र, यसको सम्बन्ध प्रकृतिसँग अरूको भन्दा गहिरो र व्यापक छ । आजको २१औँ शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धि धेरै जटिल समस्या बनेको छ ।
यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ । तेश्रो विश्वका ८० प्रतिशत प्राणीहरू फोहोर वासस्थानमा जीवन बिताउन बाध्य छन् भने अर्कोतिर १ अर्ब ३० करोड प्राणीहरू वासविहीन एवं जटिल अस्वस्थामा छन् ।
बर्सेनि १० करोडभन्दा बढी सल्फर डायोअक्साइड हावामा मिसिन्छ । यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना सहरीकरणले ध्वनि प्रदूषित गराउँछ । धेरै राष्ट्रहरू कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् । विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषित सहरको रूपमा चिनिने कायरोमा प्रतिवर्ष पाँच प्रतिशत मानिसहरू बहिरा हुन पुग्दछन् ।
तसर्थ पृथ्वीको बढ्दो उष्णीकरण, ओजोन लेयर पातलिने स्थिति ब्ल्याक होल, अम्लवर्षा, हिमाल पग्लन थाल्नुजस्ता परिणाम भोग्न मानव समुदाय बाध्य भएपछि यसका कारक तत्वहरूवारे अनुसन्धान हुन थाले ।
यी कुराहरूलाई मध्यनजर गरी सन् १९९२ जुन ५ मा ब्राजिलको रियोडी जेनेरोमा पृथ्वी शिखर सम्मेलन भयो । जसले मौसम परिवर्तनका कारक तत्वहरूको नियन्त्रण जैविक विविधताको संरक्षण र एजेन्डा २१ जस्ता महत्वपूर्ण सिद्धान्त प्रतिपादन र कार्यान्वयनका लागि घोषणा गर्यो ।
वन्यजन्तुको अवैध चोरी शिकारी तथा व्यापार मौलाउँदै गएको भन्दै विश्वभर यस विषयमा चिन्ता बढ्न थालेको छ । यसबाट जैविक विविधता नै खतरामा परेको भन्दै वन्यजन्तुको अवैध चोरी सिकारीलाई न्यूनीकरण गर्न यस्तो कदम चालिएको हो । मानवीय क्रियाकलापका कारण वातारवरणमा परिरहेको असर न्युनीकरणका लागि चेतना जगाउन यो दिवस निकै महत्वपूर्ण अवसर हो ।
विश्व वातावरण दिवसका अवसरमा वातावरण मन्त्रालय सहित सरकोकारवाला अन्य संघसंस्थाहरूको सहभागितामा जनचेतनामुलक कार्यक्रमहरू गरिँदै आएको छ । वातावरणको महत्व झल्काउँदै जिल्लाजिल्लामा चेतनामूलक याली पनि निकालिन्छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । नेपालमा सन् २००० देखि यो दिवस मनाउन थालिएको थियो ।
यसरी ५१६ जुन, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्नेमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्राप्त भयो । त्यसै अनुरूप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो बर्ष अर्थात् ५ जुन १९७३ मा विश्वमा पहिलोपटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अंगिकार गरिएको थियो ।
विश्वमा प्रतिमिनेट ३२ हेक्टर जमिन रूखविहीन भएका छन् । एउटा मनुष्यलाई प्राण वायुका लागि १२ वटा गोब्रे सल्लाका रूखहरूको आवश्यकता पर्दछ । त्यस्तै गरी, एक हुर्किएका सय वर्षका भोजपत्रले करिब आठ सय घरका एक वर्षको हावालाई शुद्ध पार्ने कार्य गर्दछ ।
यस क्रममा एक स्वस्थ भोजपत्रका रूखले सात हजार जीवात्मालाई वासस्थान दिन्छ । त्यस्तै अनुसन्धानबाट थाहा भएको छ वायु मण्डलमा भएको करिब २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले स्वास क्रियामा प्रयोग गर्दछन् ।
एक व्यक्तिका लागि स्वास फेर्ने कार्यका लागि मात्र पनि ६ वटा रूखको जरूरत पर्दछ । एउटा स्वस्थ मानिस प्रतिमिनेट १२ देखि २० पटक सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महत्व खाएको भोजनको मात्राभन्दा झण्डै २० गुणा बढ्ता हुन्छ ।
एक वृक्षले सरदर २ दशमलव ७ केजी प्राणवायु वायुमण्डलमा फ्याँक्छ । तर प्रतिवर्ष बिरूवाबाट ८० लाखदेखि २ करोड हेक्टर जंगलको विनाश भएको हुने गरेको छ । प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वर भूमि मरूभूमीकरण हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस