भ्रमण वर्ष मनाउँदैमा पर्यटक बढ्ने होइन : विनोद चौधरी

सफल खबर संवाददाता

मंगलबार, २१ जेठ २०७६, १३ : ५९
भ्रमण वर्ष मनाउँदैमा पर्यटक बढ्ने होइन : विनोद चौधरी

काठमाडौं । उद्योगी तथा सांसद विनोद चौधरीले भ्रमण वर्ष मनाउँदैमा नेपालमा पर्यटक नबढ्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बजेट छलफलमा भाग लिँदै उद्योगी चौधरीले वर्षौदेखि पोखरा, काठमाडौं र चितवनबाहेक अर्को अन्तर्राष्ट्रिय स्केलको पर्यटकीय गन्तव्य देखिएको छैन’ उहाँले भन्नुभयो, ‘नयाँ पर्यटकीय गन्तव्य खोज्न सरकार लाग्नुपर्छ ।’

संघीयताका कारण बढेको चालु खर्चका कारण मुलुक राष्ट्रले उठाएको करबाट तलब भत्ता पनि भ्याउन नसक्ने स्थिति उत्पन्न भएको उहाँको भनाइ थियो । 

‘७ सय ५३ भन्दा बढ्दा विभिन्न तहका सरकार, ती सरकारमा थपिने राष्ट्रले धान्नै नसक्ने खर्च, आर्मी र विभिन्न सुरक्षा निकायको बढ्दो माग यी सम्पूर्ण कुराहरुको समिश्रण भनेको अहिलेको टोटल ट्याक्सले टोटल चालु खर्च भ्याउन नसक्ने स्थिति छ’ संसदमा उहाँले भन्नुभयो, ‘‘देश अत्यन्त डरलाग्दो दुष्चक्रममा फसेको मैले अनुभव गरेको छु ।’ नेपालको बजेटको संरचनामा आधारभूत रुपमा परिवर्तन आवश्यक भएको उहाँको भनाइ थियो । 

‘समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन जुन प्रकारको बजेटको स्ट्रक्चर हुनुपर्ने हो, त्यसमा आधारभूत फन्डामेन्टल चेन्ज आधारभूत रुपमै परिवर्तन गर्नुपर्छ’ उहाँले भन्नुभयो । गतिशील अर्थतन्त्रका लागि विकास खर्च ६० प्रतिशत र चालु खर्च ४० प्रतिशत हुनुपर्ने सर्वमान्य नियम भए पनि आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च ६६ प्रतिशत र विकास खर्च २३ प्रतिशत देखिएको चौधरीले बताउनुभयो । उहाँले सरकारले पूर्वाधार विकास गर्ने हो भने पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गन्तव्य नेपाल बनाउन सरकारलाई सुुझाव दिनुभयो । 


 

प्रतिक्रिया दिनुहोस