राजपामा नयाँ विधान : एकल अध्यक्ष सहित १७१ जनाको केन्द्रीय समिति बनाउने प्रस्ताव

महाधिवेशन कात्तिक २८ देखि ३० गतेसम्म

सफल खबर संवाददाता

मंगलबार, २१ जेठ २०७६, ०७ : २७
राजपामा नयाँ विधान : एकल अध्यक्ष सहित १७१ जनाको केन्द्रीय समिति बनाउने प्रस्ताव

काठमाडौँ । राष्टिय जनता पार्टी (राजपा)ले महाधिवेशन पछि बन्ने पार्टी संरचनाको विद्यान सम्भवत आज टुंगो लगाउने भएको छ । ६ ओटा मधेस केन्द्रीत पार्टीको एकतापछि बनेको उक्त पार्टीमा अहिले ६ जनाको अध्यक्षमण्डल बनाएर आलोपालो अध्यक्ष मण्डलको संयोजक तोक्दै आईरहेको छ ।

८ सय भन्दा बढी त अहिले राजपाको केन्द्रीय समिति नै छ । तर त्यसको अहिलेसम्म बैठक समेत बस्न सकेको छैन । यस्तो बेला अबको राजपाले पार्टी संरचना कस्तो बनाउँला उसका नेता कार्यकर्ताका लागि निक्कै चासोको विषय बनेको छ ।

नेता लक्ष्मणलाल कर्णको नेतृत्वमा उसले विद्यान बनाउन मस्यौदा समिति बनाएको थियो । उक्त समितिले बनाएको मस्यौदा प्रतिवेदन आज अध्यक्षमण्डलको बैठकमा पेश हुने र त्यससम्बन्धमा छलफल हुने राजपाका एक नेताले बताएका छन् । महाधिवेशन उसको कात्तिक २८ देखि ३० गतेसम्म गर्ने गरी मिति तय भएको छ ।
महाधिवेशनवाट एकल अध्यक्षीय प्रणालीमा राजपा जादै छ । अध्यक्षमण्डलले एकल अध्यक्ष प्रणालीमा जाने गरी विधानको मस्यौदा गर्न मस्यौदा समितिलाई दिएको जिम्मेवारी अनुसार, विधानको मस्यौदा बनेको छ ।

उसले केन्द्रीय समिति १७१ जनाको बनाउने, त्यसमध्ये ७० प्रतिशित महाधिवेशन प्रतिनिधीवाट प्रत्यक्ष निर्वाचित भएर चुनिने छन भने ३० प्रतिशत अध्यक्षले मनोनयन गर्न पाउने गरी विद्यानको मस्यौदा बनेको छ ।

उसले वरिष्ठ नेता सहित पदाधिकारी रहने ब्यवस्था विधानको मस्यौदामा गरेको छ । तर वरिष्ठ नेताको संख्या कति हुने भन्ने चही टुंगो लगाएको छैन । वरिष्ठ नेताको संख्या बाहेककै अन्य २३ जना पदाधिकारी हुने गरी विधान बनेको छ ।

जसमा एक जना अध्यक्ष, ७ जना उपाध्यक्ष, ३ महासचिव, ७ सहमहासचिव, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष र ३ जना प्रवक्ता बनाउने प्रस्ताव गरिएको छ । त्यसमा वरिष्ठ नेताको संख्या भने आपसी समझदारीका आधारमा तय गर्न सकिने प्रस्तावित विद्यानको मस्यौदामा उल्लेख छ ।

केन्द्रदेखि वडा तहसम्मको पार्टी संरचनाको परिकल्पना गरिएको विद्यानको नयाँ मस्यौदामा  प्रदेश समिति बढीमा ७१ सदस्य हुने ब्यवस्था गरिएको छ । जसमा १ अध्यक्ष, ७ उपाध्यक्ष, २ प्रदेश महासचिव, ३ प्रदेश सचिव, १ प्रदेश कोषाध्यक्ष र १ प्रदेश प्रवक्ता सहित ७१ सदस्यीय कार्यसमिति रहने छ । आज बस्ने अध्यक्षमण्डलको बैठकले विद्यान पािरत गरेमा त्यस अनुसारको हुने महासचिव केशव झाले बताए । 

प्रतिक्रिया दिनुहोस