एनसेलको फोरजी/एलटीई अब देशको हजारभन्दा बढी स्थानमा

सफल खबर संवाददाता

सोमबार, २० जेठ २०७६, १३ : २४
एनसेलको फोरजी/एलटीई अब देशको हजारभन्दा बढी स्थानमा

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भित्र्याइ त्यसको लाभ ग्राहकहरूलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम देशकै वृहद् चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटीई) नेटवर्क थप विस्तार गरी देशका १ हजारभन्दा बढी स्थानहरूमा फोरजी सेवा पुर्‍याएको छ ।

एनसेलले आइतवार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका १ हजारभन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीहरूको पहुँचमा पुगेकोे घोषणा गरेको छ । अब प्राय: सबै शहरहरू र शहरी क्षेत्र भन्दाबाहिर रहेका ग्राहकहरूले पनि द्रुत गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच र यसले दिने नयाँ अवसरहरूबाट फाइदा लिन सक्नेछन् । 

'हाम्रा प्रिय ग्राहकहरूलाई द्रुत गतिको मोबाइल कनेक्टीभिटीमा पहुँच सुनिश्चित गर्न, शहरी क्षेत्र भन्दा बाहिरका स्थानहरू समेत समेट्दै सफलतापूर्वक फोरजी सेवा विस्तार गरिएको र यो सेवा अझै देशव्यापी रूपमा विस्तार गर्ने कार्य भइरहेको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौं,' एनसेलका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने ।

'एनसेलको फोरजी नेटवर्कले सरकारद्वारा बजेटमा घोषणा गरिएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा योगदान गर्ने कुरामा हामी विश्वस्त छौं र यो ब्रोडब्याण्ड पूर्वाधार तथा उच्चगतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडब्याण्ड नीतिअनुरूप छ ।' 

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले द्रुत गतिको मोबाइल ब्रोडब्याण्ड सेवाको मजाका साथै यसबाट लाभ लिन सक्नेछन् । फोरजी/एलटीई प्रविधि अन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरू प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइलहरू आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरू सजिलै हेर्न लगायतका कामहरू गर्न सक्नेछन् । 

दुई वर्ष अगाडि जेष्ठ १८, २०७४ बाट एनसेलले आफ्नो फोरजी सेवा काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा शुरू गरेको थियो । यो सेवा मध्ये पौष २०७५ सम्म देशका विभिन्न २१ शहरहरूमा सीमित थियो । अब यो सेवा विराटनगर, इटहरी, जनकपुर, भरतपुर, भैरहवा, बुटवल, बागलुङ, नेपालगञ्ज, तुल्सीपुर, तम्घास, पाल्पा, कृष्णनगर, बर्दिबास, राजविराज, मलङ्गवा र घनकुटा लगायत अन्य धेरै शहरहरू सहित एक हजारभन्दा बढी स्थानहरूमा उपलब्ध छ । 

आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई मात्र १ रुपैयाँ शुल्क तिरेर फोरजी चल्ने सिम (युसिम) लिन सक्छन् ।

सिम लिँदा ग्राहकले आफ्नो नागरिकता वा सवारी चालकअनुमतिपत्र पेश गर्नुपर्छ । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोबाइल नम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जीबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा ७ दिनको लागि मान्य हुनेछ र यो दिनको समय अर्थात् बिहान ५ बजेबाट साँझ ५ बजेको समयमा प्रयोग गर्न सकिनेछ ।

एनसेलले फोरजी/एलटीई देशको विभिन्न भागमा विस्तार गर्ने आफ्नो प्रतिबद्धता अनुरूप सेवा सञ्चालनमा ल्याएको दुई वर्षभित्रमा ४४ जिल्लामा यो सेवा विस्तार गरेको छ । फोरजी सेवामा पहुँच थप बढाउनुका साथै ग्राहकका लागि विभिन्न आकर्षक अफर ल्याउन कम्पनी प्रतिबद्ध रहेको एनसेलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस