मोहन विक्रमको पार्टीमा दुई धार, राजधानीमै ‘गोप्य महाधिवेशन’

पार्टी सरकारमा जाने / नजाने विषयमा चर्काे अन्तरविरोध, भारत र चीनलाई हेर्ने दृिष्टकोणमा पनि विवाद

सफल खबर संवाददाता

सोमबार, २० जेठ २०७६, १० : ०४
मोहन विक्रमको पार्टीमा दुई धार, राजधानीमै ‘गोप्य महाधिवेशन’

काठमाडौं । अर्धभूमिगत नेकपा (मसाल)को पार्टी महाधिवेशन भूमिगत शैलीमा काठमाडौंमा जारी छ । गत बिहिबारबाट जारी महाधिवेशनमा अझै एक –दुई दिन लम्बिने बताइएको छ ।

महाधिवेशनको सूचना सञ्चारमाध्यमसम्म नपुगोस भन्ने उदेश्यले महाधिवेशनमा सहभागी सबैका मोबाइल कब्जामा लिइएको छ भने आयोजना स्थल पनि गोप्य राखिएको छ । देशभरबाट करिव ५ सय अगुवा नेता–कार्यकर्ताको सहभागिता रहेको महाधिवेशनमा महासचिव मोहन विक्रम सिंहले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमाथी फरक दस्तावेज प्रस्तुत भएको छ ।

सिंहले आफुसँग असहमत पक्षलाई निषेध गर्ने उदेश्यले कारबाही प्रस्ताव गदै महाधिवेशनमा सहभागिताका लागि समेत रोक लगाएको जानकारी प्राप्त भएको छ ।
महाधिवेशनबाट उनी पुन महासचिव बन्ने तयारीमा लागेका छन् । उनले आफुसँग असहमत पक्षलाई कारबाही गदै महाधिवेशन बोलाएकोले उनी नै महासचिव चुनिने करिब पक्का जस्तै भएको मसाल निकट स्रोतले बताएको छ ।

महाधिवेशनमा अहिले बन्दशत्र चलिरहेको छ । बन्दशत्रमा राजनीतिक प्रतिवेदन, न्यूनतम कार्यक्रमसम्बन्धी संशोधन प्रस्ताव, बिधानसम्बन्धी संशोधन प्रस्ताव, सङ्गठनात्मक प्रस्ताव र जाति, संस्कृति र धर्मसम्बन्धी प्रस्तावहरु प्रस्तुत भएका छन् ।
राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रस्तावमा भिन्न मत दर्ता भएको स्रोतहरुले बताएका छन् ।

खासगरी सरकारलाई हेर्ने र सहभागिता जनाउने / नजनाउने विषय र भारत र चीनलाई हेर्ने दृष्टिकोण लगायतका विषयमा उक्त पार्टीभित्र अहिले चर्काे अन्तरविरोध चुलिएको छ ।

श्रीमतिलाई पर्यटनमन्त्री बनाउने दाउ

मोहन विक्रम सिंहले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा पार्टी सरकारमा सहभागी हुनुपर्ने मतसहितको प्रस्ताव राखेका छन् । उनले पार्टी प्यूठानमा अहिलेको सरकार गठवन्धनसँगै चुनावी तालमेल गरेर आएको र एकपटक सरकारमा समेत सहभागिता जनाईसकेकोले यसपटक पनि सरकारमा गई प्रभावकारी भूमिका निर्वाह गनु पर्ने तर्क सहित सरकारमा सहभागिताको विषयलाई प्रधान रुपमा उठाएका छन् ।

सिंहकी पत्नी दुर्गा अहिले प्यूठानवाट प्रत्यक्ष निर्वाचित सांसद छिन् । सरकारमा अहिले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन पछि रिक्त रहेको र सरकारमा सहभागितालाई पार्टी बैठकवाट अनुमोदन गराउन सकिए त्यो रिक्त पदमा प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग आग्रह गरेर पत्नीलाई मन्त्री बनाउने दाउमा यतिवेला मोहन विक्रम सिंह देखिएका छन् ।

त्यसका लागि पनि उनले सरकारमा सहभागिताको विषयलाई प्रधान बनाउदै संसद र सरकारका विषयलाई पार्टी बैठकमा प्रवेश गराएका छन् ।
उनको यस्तो प्रस्तावमा नेताहरुले विरोध जनाएको स्रोतले वतायो ।
यद्यपी यस विषयमा कुनै निर्णयमा पार्टी पुगिसकेको छैन ।

रक्तिमका पूराना टिम कोही छैन

रक्तिमका सस्थापक समेतरहेका जनवादी कलाकार जीवन शर्मालाई मोहन विक्रम सिंहले केही महिना अगाडी मात्रै पार्टीबाट कारवाही गरे । पार्टी नियम नमानेको भन्दै सिंहले शर्मा लगायतलाई कारवाही गरेका थिए ।

शर्मामाथी सिंहले पूर्वाग्रही भएर कारवाही गरेपछि अहिले रक्तिमका पूराना कोही पनि मोहन विक्रम सिंहसँग नजिक छैनन । शर्मा लगायतलाई अहिले महाधिवशेन प्रतिनिधी बन्न पनि सिंहले रोकेका छन् । त्यही कारण पार्टीमा महाधिवशेन गोप्य रुपमा राजधनीमै चलिरहादा शर्मा भने जिल्ला घुमिरहेका छन् । सफल खबरले महाधिवशेनमा सहभागी हुनुभएन भन्ने विज्ञासामा शर्माले आफु जिल्ला तिर रहेको मात्र बताए अरु थप बताउन चाहेनन ।

रक्तिममा शर्मालाई कारवाही गरिएपछि अहिले त्यसको जिम्मा लोकगित गाउनेलाई लगाइएको छ । ‘जीवन शर्मा लगायतका पूरानो टिम रक्तिममा कोही पनि छैनन, सवै नयाँ टिम छन्,’ मसाल निकट एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस