काठमाडौं । दैनिक ११ घण्टा थाङ्का लेख्ने काम गर्छन्, निमा। पर्यटकले चिनोका रूपमा लैजाने थाङ्का बनाउन कलाकारले दुई महिनादेखि एक वर्षसम्म परिश्रम गर्छन्। परिश्रमको फल भने अरूले नै खान्छन्।
रामेछाप, दोरम्बाका निमा दोर्जे लामाले थाङ्का लेख्न थालेको २८ वर्ष भयो। ४५ वर्षीय उनको उमेर ढल्कँदै छ। तर, संघर्ष झनै जवान हुँदै छ। जीवनको सुरुवातमा जुन पेशा अंगालेका थिए, अहिले पनि त्यही पेशामा छन्। सँगै थाङ्का लेख्न सिकेका साथीहरू कोही थाङ्का पसलका साहू भए, कोही गुम्बाका लामा भए। कोही साथीले काडमाडौँमा घर बनाए। उनी चाहिँ अझै थाङ्का नै लेखिरहेका छन्। पेशाले नाम दिएको छ, थाङ्का मास्टर। विभिन्न देशका पयर्टकले थाङ्का किन्न आउँदा उनलाई थाङ्का मास्टर भन्दै फोटो खिच्छन्।
आमा ठूली माया र बाबु पाल्देन लामाको जेठो छोरा निमाको बाल्यकाल घाँसदाउरा गरेर बित्यो। दुई घण्टाको उकालो–ओरालो हिँडेर पुगिने स्कुलमा बित्यो। उनले भीमेश्वर प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म पढे। बिहान घाँस र स्याउला काटेर दिउँसो पढ्न जान्थे। ‘गोजीमा भुटेको मकै हुन्थ्यो,’ उनी भन्छन्, ‘खुट्टामा चप्पल हुन्थेन। तैपनि, बाल्यकालका ती दिन रमाइला थिए।’
छिमेकीले थाङ्का लेखेको देखेपछि उनलाई पनि थाङ्का लेख्न रहर लाग्यो। केही दिन सिके। सिकेको केही समयपछि निमालाई सिकाउने मास्टर काठमाडौँ हिँडे। उनको सिक्ने इच्छा झन्–झन बढ्यो। १३ वर्षको उमेरमा थाङ्का लेख्ने रहरले उनलाई काडमाडौँसम्म डोर्यायो।
२०४४ सालमा काडमाडौँको लागि घरबाट बुबासँगै निस्किए, निमा। तर, उनको यात्रा बनेपा आइपुग्दा रोकियो। केही हप्ता त्यहीँ दिनको १० रुपैयाँमा धान काटे। त्यसपछि काठमाडौँ आए। खोजी गर्नु थियो गाउँको उही छिमेकी मास्टर। ती मास्टर भक्तपुरमा बस्ने गरेको थाहा पाए। बुबाको पछि–पछि मास्टरको खोजीमा हिँडे। ‘बाटोमा हिँडेजति, देखेजति सबैलाई मास्टरबारे सोध्थेँ,’ उनी भन्छन्, ‘तर, मास्टर भेटिएनन्।’ मास्टर नभेटिँदा निराश भए पनि मनमा थाङ्का कलाकार बन्ने सपना जुर्मराइरहेको थियो। भक्तपुरका एक स्थानीयमार्फत भेटे अर्का थाङ्का मास्टर। उनी पनि रामेछापकै थिए। निमा खुशी हुँदै उनै मास्टरसँग थाङ्का सिक्न थाले। सिकाएबापत मास्टरको कोठामा काम गर्नुपथ्र्यो उनले। ‘मास्टरको कपडा धुने, खाना पकाउने, कोठा सफा गर्ने काम गर्थें,’ उनी सम्झिन्छन्।
पहिला कागजमा थाङ्का कोर्न सिके। थाङ्का कलामा निपुण हुन कम्तीमा आठ चरणको सिकाइ पार गर्नुपर्ने उनी बताउँछन्। सिक्न थालेको एक महिनापछि उनी रङ लाउन सक्ने भए। जुन थाङ्का लेखनको पहिलो चरण थियो। रङ लगाउन सिकेको छ महिनापछि मात्रै उनले तलब पाए। ‘त्यो छ महिना पार गर्न सिकारुलाई एकदमै गाह्रो हुन्छ,’ उनी सुनाउँछन्, ‘त्यसबीच कतिले थाङ्का सिक्न छाड्छन्।’ तर, निमाले छाडेनन्। ‘मलाई जसरी पनि थाङ्का कलाकार बन्नु थियो,’ उनी भन्छन्। छ महिना सिकेपछि उनी नजिकैको थाङ्का पसलमा काम गर्न थाले। त्यहाँ उनले पहिलो पटक तलब पाए, दुई सय रुपैयाँ। त्यो तलब लिएर उनी बर्खे बिदामा गाउँ गए। आफ्नो पहिलो तलब बुबाको हातमा राखेको उनलाई अझै सम्झना छ। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस