कस्तो यौनालय ठीक ?

विहीबार, १६ जेठ २०७६, २१ : २६
कस्तो यौनालय ठीक ?

काठमाडौँ । युरोप पुग्ने अधिकांश नेपालीहरु नेदरल्यान्डको सबैभन्दा चर्चित गल्ली घुम्न पुगेकै हुन्छन् । एम्स्टर्डमको बदनाम त्यो रेड लाइट क्षेत्रका घुम्तीयुक्त गल्ली र ती गल्लीका घरमा उभिएर ग्राहकहरुलाई लोभ्याइरहेका युवतीको के कुरा !

विगत ५० वर्षयता यो नेदरल्यान्डको पर्यटन र सांस्कृतिक पहिचानको केन्द्र बन्न पुगेको छ । दशकौँदेखि सुरक्षित र कानुनी रुपमा वैध सेक्सका लागि स्वीकृति दिइएको यहाँका यौनालय चाँडै बन्द हुने हुन् कि भन्ने आशङ्का यतिबेला बढेर गएको छ । 

कारण यहाँका केही अधिकारकर्मी हुन् । तिनले नेदरल्यान्डको संसद्मा सेक्स वर्कलाई अब समयसापेक्ष परिमार्जन गर्दै कानुनी वैधता अन्त्य गर्नुपर्नेमा जोड दिइरहेको छन् ।

यस्तो जोड दिनेमा दक्षिणपन्थी क्रिस्चियन समूह र बामपन्थी महिलावादी दुवै छन् । तिनले यहाँको ‘विश्वस्तरीय’ यौनालय, त्यहाँ काम गर्ने महिला तथा पुरुष अनि सम्पूर्णतामा ‘सेक्स वर्क’मै प्रतिबन्ध लगाउनुपर्ने कुरा उठाइरहेका छन् ।

जति तीव्र आलोचनाका साथ त्यो समूह संसद्मै हल्ला गर्न तयार छ भने रेड लाइट क्षेत्रमा खटिएका यौनकर्मीको अधिकारका लागि काम गर्ने गैरसरकारी संस्थाले भने तिनको ‘कुत्सित’ विचारको विरोध गरिरहेका छन् । 

त्यसैले अहिले संसारको ध्यान नेदरल्यान्डको संसद्तर्फ सोझिएको छ । के साँच्चिकै यौन कार्यमाथि संसद्मा बहस होला ? बहस भयो भने त्यहाँको सेक्ससम्बन्धी कानुनमा परिवर्तन ल्याउन सक्ला ? कानुन परिवर्तन हुने नै भयो भने यससँग जोडिएका लाखौँ मानिसको रोजगारी र तिनको जीवनमा कस्तो असर पार्ला ?

‘म अनमोल हुँ’
‘ऊ तपाईंकी बहिनी भएकी भए के हुन्थ्यो ?’ नेदरल्यान्डको सोसल मिडियामा यतिबेला यस्तै पन्चिङ लाइन खुब चर्चामा आइरहेको छ । यो त्यहाँ चलिरहेको यौनालयविरोधी अभियानको एउटा अंश हो ।
यो अभियानको नाम हो, ‘म अनमोल हुँ’ । अभियान सञ्चालकहरु यौनलाई अपराधको तहमा राख्न माग गरिरहेका छन् ।

सारा लुस यो अभियानमा काम गर्नेमध्येकी एक हुन् । यौनालय बन्द हुनुपर्छ, पैसा तिरेर गरिने यौन कर्मलाई नियन्त्रित गरिनुपर्छ भन्दै गएका सात वर्षमा ४६ हजार मानिसको हस्ताक्षर सारा लुस र उनको समूहले जुटाएको छ । यही हस्ताक्षरका कारण संसद्मा बहस हुने भयो । 
यो अभियानको उद्देश्य नै कानुन परिवर्तन गर्नु हो ताकि नेदरल्यान्डमा ‘नर्डिक मोडल’ अपनाउन सकियोस् ।

के हो नर्डिक मोडल
अहिले नेदरल्यान्डमा दुई जना वयस्क स्त्री–पुरुषले सहमतिमा यौन सम्बन्ध राख्नुलाई वैध मानिन्छ । यो कानुन १९७१ देखि लागू भएको थियो । त्यसयता यौन किन्ने र बेच्नेमाथि कानुनी संरक्षण छ र यसले यौन व्यवसायीलाई व्यवसाय चलाउन सजिलो भएको छ ।

तर पछिल्लो समय भने यसमा थोरै परिवर्तन हुँदै आएको छ । तीन वर्षअघि फ्रान्सले ‘नर्डिक मोडल’मा आधारित यौन व्यवसाय अघि बढाउने सन्धिमा सम्झौता ग¥यो । यो सम्झौता सन् २०१६ मा भएको थियो र यसमा अमेरिका पनि मिसियो ।

यो मोडलमा कसैले पैसा दिएर सेक्स किन्यो भने त्यो पुरुष कार्बाहीको हकदार बन्छ । भनाइको मतलब पैसा तिरेर पनि ऊ कुनै स्त्रीसँग सहवास गर्न सक्तैन । गरेको पाइए उसमाथि कार्बाही हुन्छ । 

सामान्यतः यस्ता पुरुष कार्बाहीको दायरामा आउँदैनन् तर आइहाले पनि दह्रो कार्बाहीमा पर्दैनन् किनभने यसका लागि कसैले प्रहरीमा उजुरी गर्नुपर्ने हुन्छ । त्यस्तो उजुरी निकै कम र दुर्लभ नै हुने गर्छ । यसैलाई ‘नर्डिक मोडल’ भनिएको हो तर कुनै स्त्रीले यही कानुनको आडमा कुनै पुरुषलाई कार्बाही गराउन भने सक्छे । यस्तो भयो भने पुरुषमाथि भारी रकम जरिवाना हुन्छ । 

मीटूको युगमा नेदरल्यान्डमा भएको यौन व्यवसायसम्बन्धी छूट र यसका लागि बनेको कानुन निकै पुरानो भइसकेको यौनालयविरोधी समूहको धारणा छ । सारा लुस भन्छिन्, ‘रेड लाइट क्षेत्रमा जतिसुकै यौन स्वतन्त्रता भए पनि अहिलेको जमानामा ४८ वर्षअघि बनाइएको त्यो कानुन पुरानो भइसकेको छ । समयअनुसार यसमा परिवर्तन ल्याउन जरुरी छ । 

यौनकर्मी के ठान्छन् ?
रोमानियाबाट यौन बेच्न नेदरल्यान्ड आइपुगेकी सेक्स वर्कर चेरी (छद्म नाम) भाडा तिर्न र आफ्नो फुर्मासी पैसा कमाउन यौनालय आइपुगेको बताउँछिन् ।

गएको एक दसकयता उनी नेदरल्यान्डको सबैभन्दा बदनाम गल्लीमा आफ्नो देह बेचिरहेकी छन् ।
संसद्मा ‘नर्डिक मोडल’ या अरु नै कुनै नामले यौनसम्बन्धी क्रियाकलापमा नियन्त्रण गर्ने नियम बने यहाँबाट निस्कने सबैभन्दा उत्तम समय हुने उनको धारणा छ । ‘आपूलाई चाहिने पैसा मैले कमाइसकेँ र त्यस्तो कानुन बन्यो भने यहाँबाट निस्केर एउटा आरामको जीवन व्यतित गर्न सक्छु,’ उनको योजना छ ।
अर्की यौनकर्मी फक्सीलाई भने संसद्मा यस विषयमा छलफल भयो, विधेयक बन्यो र पास भयो भने यौन पेशा थप वर्जित हुने लाग्छ । उनीमाथि अझ निगरानी बढ्नेछ भने मानिसले उनीमाथि देहव्यापारीको ठप्पाका कारण बाहिरतिर कम स्वीकार्ने सम्भावना बढ्नेमा शङ्का छ ।

उनी भन्छिन्, ‘त्यसपछि हामी भूमिगत हुनुपर्नेछ ताकि प्रहरी र स्वास्थ्य सेवाका मानिसले हामीलाई सहजै फेला पार्न नसकून् । त्यसपछि प्रहरी र यौन व्यवसायीको मुसा÷बिरालोको खेल सुरु हुनेछ । यौन व्यवसायीहरु प्रताडित हुने सम्भावना अझ बढ्नेछ ।’

देह व्यापारविरोधी कानुन कति प्रभावी ?
देह व्यापार रोक्ने कानुनले महिलालाई कत्तिको सुरक्षा दिन्छ ? स्वास्थ्य सेवाजस्ता कुरामा तिनको पहुँच कत्तिको हुन्छ ? नेदरल्यान्डभन्दा बाहिर हे¥यो भने सबै देशमा सुरक्षा र स्वास्थ्य पहुँचको तथ्याङ्क उत्तिकै देखिँदैन ।

गरिब देशमा वेश्यावृत्तिविरोधी कानुनलाई आधार बनाएर प्रायः महिलालाई नै प्रताडित गरिन्छ । यति मात्र होइन, जुन र जसरी कानुन बनाइएको छ, त्यसले रोग फैलनबाट रोक्न, मानव तस्करी र महिलाविरुद्ध हुने हिंसा रोक्न यसले रामवाणको काम गर्न सकेको छैन ।

किङ्स कलेज लन्डनमा कानुन र सामाजिक न्यायकी प्राध्यापक प्रभाव कोटिश्वरन भन्छिन्, ‘यौन व्यवसाय रोक्ने कानुनले सेक्स वर्करको अधिकारको हनन् हुन पुग्छ ।’

उनी भन्छिन्, ‘कानुनबाट बच्नका लागि उनीहरुले प्रहरीलाई घुस दिनुपर्छ या त यौन या आर्थिक घुस । यसको अर्थ हो, घुसमा दिइएको पैसाको भर्पाईका लागि उनीहरुले अझ बढी सेक्स धन्दा चलाउनुपर्ने हुन्छ ।’
अभियान चलाउनेहरु आफूलाई उन्मूलनवादी भन्न रुचाउँछन् । उनीहरु पुरुष ग्राहकहरुलाई जरिवाना तिराउनुपर्नेमा जोड दिन्छन् । केही अन्यको भनाइमा भने सबैभन्दा पहिले महिलालाई नै सशक्त बनाउनुपर्ने, अन्य पेशामा सशक्त रुपमा उभिन सक्ने बनाउनु पर्छ ।

तर केही भने सय प्रतिशत नै यौन व्यापारलाई कानुनी मान्यता दिने विषयमा धारणा राख्छन् । जस्तो अहिले धन्दा चलाउनेहरुले निश्चित ठाउँमा मात्र चलाइरहेका छन् भने यौनको किनबेच जहाँ पनि जतिबेला पनि हुने र यसमा किन्ने र बेच्नेलाई छाडिदिने धारणा राख्छन् । शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस