किन बढिरहेछ किशोरीहरूको आत्महत्या ?

बुधबार, १५ जेठ २०७६, २० : ११
किन बढिरहेछ  किशोरीहरूको आत्महत्या ?

काठमाडौँ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष आठ लाख मानिसले आत्महत्या गर्छन्। अर्थात्, हरेक ४० सेकेन्डमा एक जनाले आफ्नै ज्यान लिन्छ। यद्यपि, आत्महत्या कति डरलाग्दो छ, यो संख्याले मात्रै हामीलाई बताउन सक्दैन। किनभने, संगठनका अनुसार आत्महत्याबाट एक जनाले ज्यान गुमाउँदा अरू २० जनाले यसको प्रयास गरिरहेका हुन्छन्।  uni

 

प्रयास गर्नेजति सबैले ज्यान गुमाउने हो भने प्रतिवर्ष दुई करोडको मृत्यु हुन्छ। नेदरल्यान्ड्समा १ करोड ७० लाख जनसंख्या छ, अस्ट्रेलियामा २ करोड ३० लाख। यस अर्थमा एउटा देशको पूरै जनसंख्या बराबरको संख्याले बर्सेनि आत्महत्या प्रयास गरिरहेको हुन्छ। 

तर, गएका केही दशकमा आत्महत्या दर घटाउन केही उल्लेखनीय सफलता हात परेका छन्। सन् २००० यता विश्वमा आत्महत्या दर २९ प्रतिशतले घटेको छ। अर्थात्, यो अवधिमा २ करोड ८० लाख मानिसको ज्यान बचेको छ। यो संख्या त्यही अवधिमा युद्धमा मारिएकाभन्दा तीन गुणा बढी हो।

खास गरी, भारत र चीनमा युवतीहरूको आत्महत्या दरमा कमी आएको छ। संसारका धेरैजसो ठाउँमा उमेरदारभन्दा उमेर ढल्केकाले र महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्छन्। तर, चीन र भारतमा चाहिँ कम उमेरका केटीहरूले बढी आत्महत्या गर्छन्। अहिले त्यो संख्या घटिरहेको छ। सोभियत संघको विघटनपछि त्यहाँका अधबैँसेहरूमा आत्महत्या अकासिएको थियो। अहिले यो पनि घटिरहेको छ। त्यस्तै विश्वभरका वृद्धहरूमा पनि सन् २००० यता आत्महत्या दर कम भएको छ। 

ठूलामध्ये अमेरिका मात्रै त्यस्तो देश हो, जहाँ आत्महत्या गर्नेको संख्या बढिरहेको छ। अमेरिकामा मात्र हरेक वर्ष ४१ हजारले आत्महत्या गर्छन्। सन् २००० यता अमेरिकाको आत्महत्या दर १८ प्रतिशतले बढेको छ। खास गरी, श्वेत, अधबैँसे र कम पढेका पुरुषबीच आत्महत्या दर बढी छ। 

सबैभन्दा बढी चिन्ताको विषय हो, किशोर–किशोरीको आत्महत्या। पछिल्ला दशकमा युवाहरूमा आत्महत्या दर बढेको देखिन्छ। खास गरी, किशोरीहरूमा यो दर ह्वात्तै बढेको छ। 

आत्महत्या र उमेर
संसारभरि नै बुढेसकाल लागेका मानिसमा आत्महत्याको दर बढी छ। अस्वस्थ तथा सम्बन्धविच्छेद गरेका वा जीवनसाथी गुमाएकाले बढी आत्महत्या गर्छन्। तर, अमेरिका र बेलायतजस्ता देशमा ४५–५० वर्ष उमेर समूहमा यो दर बढी छ। विश्वमै १५ वर्षमुनिका बालबालिकामा आत्महत्याको दर निकै कम छ। यो उमेर समूहकाले फाट्टफुट्ट मात्रै आफ्नो ज्यान आफैँ लिँदै आएका छन्।

तर, किशोर–किशोरीमा आत्महत्याको दर निकै उच्च छ। १५–१९ वर्ष बीचका किशोरीहरूमा मृत्युको सबैभन्दा मुख्य कारण पनि आत्महत्या नै हो। १५–२९ वर्ष उमेर समूहका महिला र पुरुष दुवैमा मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या हो। 

विभिन्न अध्ययनअनुसार युवाहरू वृद्धभन्दा बढी आत्महत्याबारे सोच्छन् र त्यसको प्रयास पनि गर्छन्। अमेरिकाको सेन्टर फर डिजिट कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार १८–२९ वर्ष बीचका युवाले ३० वर्षमाथिका वयष्कहरूभन्दा धेरै गुणा बढी आत्महत्याको प्रयास गर्छन्। २० प्रतिशत किशोर–किशोरीले आत्महत्याबारे सोचविचार गर्छन्। ५–८ प्रतिशतले वास्तवमा ज्यान दिने प्रयास नै गर्छन्। यो निकै ठूलो संख्या हो। यसमा पनि केटा र केटीमा ठूलो फरक छ। केटीहरूमा १० प्रतिशतभन्दा बढी र केटाहरूमा करिब पाँच प्रतिशतले आत्महत्या प्रयास गर्छन्। 

सबैभन्दा डरलाग्दो तथ्यांक त अझ के हो भने गएको ५० वर्षमा युवामा आत्महत्याको दर तीन गुणाले बढेको छ। कुनै–कुनै देशमा युवाहरूको आत्महत्याको दर अरू उमेर समूहमा भन्दा अत्यधिक बढी छ। जसमा नेपाल पनि पर्न सक्छ। 

अमेरिकामा गरिएको अनुसन्धानअनुसार कक्षा ९–१२ का विद्यार्थी अर्थात्, १४–१८ वर्ष उमेर समूहका विद्यार्थीमा आत्महत्या गर्ने प्रवृत्ति बढी हुन्छ। उनीहरू यसप्रति आकर्षित हुन पुग्छन्। यो समूहका करिब १७ प्रतिशतले आत्महत्याबारे विचार गरेको बताएका छन् भने झण्डै १४ प्रतिशतले योजनै बनाएको स्विकारेका छन्। आठ प्रतिशतले वास्तवमै प्रयास गरेका छन्। अमेरिकामा प्रत्येक ३० मध्ये एक अर्थात् कक्षाको एउटा सदस्य आत्महत्या प्रयासबाट घाइते भएर उपचार गराउँछन्। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस