चुरोटका अम्मलीमा मुटुरोगको जोखिम

मुटुरोगीमध्ये ४५ प्रतिशत गरिब र अशिक्षित

सफल खबर संवाददाता

शनिबार, ११ जेठ २०७६, ०७ : २७
चुरोटका अम्मलीमा मुटुरोगको जोखिम

काठमाडौं । नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ । त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी देखिएको हो ।

देशभरका ठूला अस्पताल पुगेर ९७ जना मुटुरोगका बिरामीमा केन्द्रित रहेर अनुसन्धान गरिएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिए । अनुसन्धानकर्ताहरूले चुरोटकै कारण मुटुरोग भएका बिरामीलाई अध्ययनको आधार बनाएका थिए । 

एक्सन नेपालका डा। देवीप्रसाद प्रसाईंले चुरोटसँग सम्बन्धित विभिन्न रोगको उपचारमा लाग्ने खर्च र नियमित प्रयोग गर्ने चुरोटमा हुने खर्च जोड्दा एक व्यक्तिले वर्षमा नौ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको पाइएको बताए । अस्पताल भर्ना भएका मुटुरोगका बिरामीहरूको प्रतिक्रियाको आधारमा यस्तो खर्च देखिएको हो । चुरोट सेवनले गर्दा हुने मुटुरोगको उपचारमा मात्रै प्रत्येक वर्ष ३३ अर्ब रुपैयाँ खर्च हुने गरेको डा। प्रसाईंले जानकारी दिए । 

बर्सेनि २७  हजारको मृत्यु

एक्सन नेपालले सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण वर्षमा २७ हजार एक सय ३७ जनाको मृत्यु हुने गरेको जनाएको छ । संस्थाका अध्यक्ष आनन्दबहादुर चन्दले शुक्रबार आयोजित एक कार्यक्रममा तथ्यांक प्रस्तुत गरे  कार्यक्रममा द युनियनको एसिया प्यासिफिकका क्षेत्रीय उपनिर्देशक डा। तारासिंह बमले नेपालको कुल जनसंख्यामध्ये ३० प्रतिशतले सुर्तीजन्य पदार्थको सेवन गर्दै आएको बताए । उनले पनि कम आम्दानी भएका व्यक्तिले नै बढी सुर्ती सेवन गर्ने गरेको अध्ययनमा पाइएको जानकारी दिए । डा। बमले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको कानुन कडाइका साथ कार्यान्वयनमा ल्याउन आग्रह गरे । 

अत्यधिक कर बढाउन आग्रह

एक्सन नेपालका अध्यक्ष चन्दले नेपाल सरकारले सुर्तीजन्य पदार्थमा थोरै कर लगाउने गरेकाले नियन्त्रणमा कठिन भएको बताए । सुर्तीजन्य पदार्थमा भारी मात्रामा कर वृद्धि गर्नुपर्ने भन्दै चन्दले बंगलादेश, श्रीलंका र भारतमा ६० प्रतिशत देखि ७० प्रतिशतसम्म कर लगाउने गरिएको जानकारी दिए । नेपालमा भने सरकारले २७ प्रतिशत मात्रै कर लगाउने गरेको छ । 

सुर्तीबाट ५० अर्ब राजस्व उठ्नुपर्नेमा १४ अर्ब मात्रै

राज्यले सुर्तीजन्य पदार्थबाट उठेको राजस्व स्वास्थ्य करकोषमा जम्मा गर्दै आएको छ । आन्तरिक राजस्व विभागले यस वर्ष १४ अर्ब रुपैयाँ राजस्व संकलन गरेर स्वास्थ्य कर कोषमा जम्मा गरेको छ । तर, सुर्तीजन्य पदार्थको सेवनबाट बिरामी भएकाहरूको उपचारमा मात्रै ३६ अर्ब रुपैयाँ खर्च भएको  अधिकारीहरूले बताएका छन् । डा। प्रसाईंका अनुसार यस वर्ष ५० अर्ब राजस्व संकलन हुनुपर्ने हो ।  तर, राजस्व नउठ्दा यस वर्ष २३ अर्ब गुम्ने अवस्था रहेको उनले बताए । 

छलफलमा कसले के भने  ?
 

कृष्ण पोखरेल, सभापति कानुन न्याय तथा मानवअधिका

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्नेसम्बन्धी कानुन बनिसकेको छ । केही कामहरू पनि भएका छन् । तर, पूर्णरूपमा भएको छैन । यसलाई कार्यान्वयनमा ल्याउनु हाम्रो दायित्व हो । कानुन बन्ने तर कार्यान्वयनमा ल्याउन नसक्नु मुख्य चुनौती रहेको छ । म आफ्नो तर्फबाट कर बढाउने विषयमा सक्रिय भूमिका निर्वाह गर्ने छु । 

निरु पाल, सांसद
कानुन बनेको छ । त्यसको सही कार्यान्वयन आवश्यक छ । हामीले  सम्बन्धित ठाउँमा आवाज उठाएका छौँ । सुर्तीजन्य पदार्थभन्दा पनि हामीले स्वास्थ्य रोज्ने हो । जनताका प्रतिनिधि भएको नाताले पनि हामीलाई यसले गम्भीर बनाएको छ ।

डा.भगवान कोइराला
वरिष्ठ मुटुरोग विशेषज्ञ

चुरोट नितान्त गरिबको रोग हो । गरिबले बानी व्यहोराले भन्दा बाध्यताले गर्दा चुरोट खाएको देखिन्छ । चुरोट सेवन गर्नेलाई हृदयघात हुने दर चार गुणा बढी हुन्छ । चुरोट मात्रै खाने व्यक्तिको नलीहरू बाँसजस्तै कक्रक्क परेको हुन्छ । त्यसैले, सेवन नियन्त्रण गर्न सरकारले चुरोटमा कर बढाए सेवनकर्ता घट्न सक्छन् । यस्तै, चुरोट खानेलाई सामाजिक बहिस्कार नगर्दासम्म कम हुने अवस्था देखिँदैन । टेलिफिल्म र फिल्महरूमा नायकले चुरोट तानेका दृश्यहरू राखिएका हुन्छन् । त्यसले पछिल्लो पुस्तामालाई प्रभावित 
पारेको छ । 

डा.रमेश चोखानी 
वरिष्ठ छातिरोग विशेषज्ञ

चुरोट सेवन गर्ने व्यक्तिहरूमा दम, खोकी, श्वासप्रश्वाससम्बन्धी बढी समस्या हुन्छ । यो निको पार्न सकिँदैन । यसको उपचार भनेको रोकथाम मात्रै हो । क्रमशः यसले च्याप्दै गएपछि अक्सिजनको आवश्यकता पर्छ । निकै खर्चिलो भएकाले गरिब बिरामीहरू यसको उपचार गराउन सक्ने अवस्थामा हुँदैनन् । तर, सुर्ति सेवन छाडेको दश वर्षपछि क्रमशः फाइदा पुग्दै गएको देखिएको छ । 

प्रतिक्रिया दिनुहोस