निद्रासम्बन्धी  भ्रमले स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको विशेषज्ञको भनाइ

एजेन्सी

मंगलबार, ०७ जेठ २०७६, ०७ : २१
निद्रासम्बन्धी  भ्रमले स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको  विशेषज्ञको भनाइ

एजेन्सी । हामीमध्ये धेरैको निद्राबारे केही धारणा बनाएका हुन्छौं । तीमध्ये केही अनुसन्धानमा आधारित हुन्छन् भने हामीमध्ये कतिले त्यस्ता भ्रम पालेका हुन्छौं जसले स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको हुने एनवाईयू लाङ्गोन हेल्थ स्कूल एण्ड मेडिसिनका अनुसन्धानकर्ताले बताएका छन् ।

एनवाईयू लाङ्गोन हेल्थ स्कूलकी पोष्टडक्टरल रिसर्च फेलो रेबेका रबिन्सले हाम्रो सुताई र उठाईबीच निकै गहिरो सम्बन्ध हुने बताएकी छिन् ।

रबिन्स र उनका सहकर्मीले निद्राको सही तालिकाको अध्ययनका लागि आठ हजार वेबसाइटको अध्ययन गरे । त्यहाँ उल्लेखित धारणालाई ‘स्लिप मेडिसिन एक्सपर्ट’सँग सल्लाह गरे । तीमध्ये कुन भ्रम हो वा कुन यथार्थ हो भन्ने निश्चित गर्दै यसलाई झुटो र स्वास्थ्यको हिसाबले कति महत्वपूर्ण छ भनेर सूचीबद्ध गरियो ।

यसैका आधारमा निद्राबारे हामीले पाल्ने यस्ता १० भ्रमबारे  जानकारी दिइएको छ ।

यस्ता भ्रमलाई आजबाटै हामीले त्याग्नुपर्ने विशेषज्ञ बताउँछन् ।

भ्रम नं १: वयस्कलाई पाँच घण्टा वा सोभन्दा कम सुते पुग्छ ।

‘यदि तपाईं दिनमा निकै फुर्तिलो हुन चाहनुहुन्छ, बिरामी हुन चाहनुहुन्नँ, मानसिक रुपमा बलियो हुन चाहनुहुन्छ, आफूले चाहेको जस्तो जीवनशैली अपनाउन चाहनुहुन्छ भने तपाईं कति घण्टा सुत्नुपर्छ ? डिपार्टमेन्ट अफ पपुलेशन हेल्थका वरिष्ठ अनुसन्धानकर्ता गिरार्डिन जिन–लुइसले प्रश्न सोधे ।

‘धेरैले पाँच घण्टा वा सोभन्दा कम सुते पर्याप्त हुने बताउन सक्छन्,’ उनले भने । ‘हामीले पत्ता लगाएको सबैभन्दा ठूलो समस्याग्रस्त धारणा यही नै हो ।’

उमेर अनुसार हामी दैनिक सातदेखि १० घण्टा सुत्नैपर्छ । तर अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार एक तिहाई अमेरिकी सात घण्टाभन्दा कम सुत्छन् । वर्ल्ड स्लिप डे स्ट्याटिस्टिक्सका अनुसार पर्याप्त निद्रा नपुग्दा ४५ प्रतिशतको स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको छ ।

‘लगातार पाँच घण्टा वा सोभन्दा कम सुत्नेहरुको स्वास्थ्यमा विकराल समस्या निम्तिने प्रमाण नै हामीसँग छ जसमा हृदयसम्बन्धि रोग र छिटो मृत्यु हुने पर्दछन्,’ रबिन्स भन्छिन् ।

बेलायतका १० हजार तीन सय ८ जना निजामती कर्मचारीमाथि एउटा अनुसन्धान गरिएको थियो । यसमा सात घण्टा सुत्ने कर्मचारी केही रातका लागि पाँच घण्टा मात्र सुत्दा उनीहरुको मृत्युदर दोब्बरले बढेको पाइयो, विशेषगरी मुटुसम्बन्धि रोगका कारण ।

विज्ञानले पनि थोरै सुत्दा रक्तचाप उच्च हुने, रोग प्रतिरोधी क्षमता कम हुने, तौल बढ्ने, यौनेच्छामा कमी, मुड परिवर्तन भइरहने, डिप्रेशन, मधुमेहको उच्च जोखिम, स्ट्रोक, दिमागी रोग र केही प्रकारको क्यान्सर हुने बताएको पुष्टि गरिसकेको छ ।

भ्रम नं २: निदाउने त हो, जहाँ र जहिले सुते पनि भइहाल्यो नि ?

पर्याप्त विश्राम लिएका व्यक्ति कार, ट्रेन, विमान चल्न सुरु भएलगत्तै निदाउने गरेको धेरैले धारणा बनाएका हुन्छन् । वास्तवमा यो ठिक विपरित हो ।

‘जहाँ पनि जतापनि निदाइहाल्नु भनेको तपाईंले पर्याप्त निन्द्रा नपाएको संकेत हो,’ रबिन्सले भनिन् । ‘यसको अर्थ यो हो कि तपाईंको शरीर यति थकित छ कि तपाईंले मौका पाएलगत्तै निन्द्राको बोझ हल्का पार्न खोज्नुहुन्छ ।’

निन्द्रा नपुग्दा तपाईंको दिमागमा एडेनोसाइन नामको रसायन श्राव हुन्छ जसका कारण तपाईंलाई दिनभरी झुप्प–झुप्प भइरहन्छ । मिठो निन्द्रा लाग्दा यो रसायनको श्राव निकै कम हुन्छ र जब तपाईं उठ्नुहुन्छ तपाईं फ्रेश भएको महसुस गर्नुहुन्छ ।

भ्रम नं ३ः तपाईंको दिमाग र शरीरले कम निन्द्रा बिस्तारै पचाउन सक्छ ।

दिनदिनै कम सुत्ने व्यक्तिहरुको दिमाग र शरीर क्रमशः यसमा अभ्यस्त हुँदै जाने धेरैले सोचिरहेका हुन्छन् । तर विशेषज्ञका अनुसार यो पनि एउटा भ्रम नै हो । किनभने हाम्रो शरीरले पूर्ण रुपमा आफूलाई पुनर्स्थापित गर्न निन्द्राको चारवटा भिन्न चरण पार गर्नुपर्छ ।

पहिलो चरणमा, तपाईं कम सुत्न थाल्नुहुन्छ र तपाईं आफ्नो वातावरणसँग कम घुलमिल हुनुहुनेछ । दोस्रो चरणमा तपाईं आफ्नो धेरैजसो समय सुतेर नै बिताउनु हुनेछ । तेस्रो र चौथो चरणमा सबैभन्दा गहिरो, सबैभन्दा राम्रो निन्द्रा र –यापिड आइ मुभमेन्ट (REM) स्लिप पर्छ ।

'REM मा तपाईंको दिमाग सबैभन्दा बढी प्रतिक्रियाशील हुन्छ,’ रबिन्सले भनिन् । ‘यदि तपाईंको दिमागी तरङ्गलाई हेर्ने हो भने तपाईंको दिमाग ब्यूँझिरहेको देख्नुहुनेछ ।’

REM   तपाईं निदाएको जुनसुकै बेला पनि सुरु हुनसक्छ तर साधारणतया यो तपाईं निदाएको ९० मिनेटपछि सुरु हुन्छ । REM त्यतिबेला हुन्छ जब तपाईंको शरीर र दिमाग तपाईंका यादहरु कैद गर्न व्यस्त हुन्छन् । तपाईं सपना देखिरहेका बेला पनि REM  हुन्छ । तपाईं REM  निन्द्रामा हुँदा हात र खुट्टाका माशंपेशी अस्थायी रुपमा पक्षघात हुन्छन् त्यसकारण तपाईं सपनामा बहकिएर आफूलाई असर पुर्याउन सक्नुहुन्नँ ।

मिठो निन्द्राका लागि तपाईंको REM साइकल दोहोरिरहन्छ । यसले तपाईंको सुत्ने समयको २५ प्रतिशत ओगटेको हुन्छ ।

निन्द्राको अर्को महत्वपूर्ण पाटो भनेको गहिरो निन्द्रा हो । यतिबेला तपाईंको दिमागको तरङ्ग डेल्टा वा स्लो वेभ स्लिपमा परिणत हुन्छ । यतिबेला मानव वृद्धि हर्मोनको श्राव हुन्छ र यादहरु कैद हुन्छन् ।

‘गहिरो निन्द्रा न्यूरोनको विकासका लागि, मासंपेशीको मर्मतका लागि र रोग प्रतिरोधी क्षमताको विकासका लागि अत्यधिक महत्वपूर्ण छ,’ रबिन्सले भनिन् ।

गहिरो निन्द्रामा भएका मानिसहरुलाई ब्यूँझाउन निकै गाह्रो हुन्छ । यदि तपाईंलाई जबर्जस्ती ब्यूँझाइयो भने तपाईंलाई थकाई लागेको महसुस हुन्छ । तपाईंको दिमागले आधा घण्टासम्म राम्रोसँग काम गर्न सक्दैन,’ अनुसन्धानले भन्छ ।

भ्रम नं ४ः घुर्ने बानी रिस उठ्दो भएपनि हानिकारक हुँदैन 

बीचबीचमा सास रोकिएर ठूलो आवाजमा घुर्नुलाई स्लिप एप्निया भनिन्छ । यो एउटा यस्तो निन्द्रा विकार हो जसले नेशनल हार्ट, लंग एण्ड ब्लड इन्स्टिच्युटका अनुसार हृदयघात, दम, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, मृगौला रोगको सम्भावना बढाउने गर्छ ।

‘स्लिप एप्नियाले निकै थकित बनाउँछ,’ रबिन्सले भनिन् । ‘यस्ता व्यक्तिहरु बारम्बार ब्यूँझिरहन्छन् । उनीहरु निकै थाक्ने भएकाले दिनरात निदाउन प्रत्यत्न गरिरहेका हुन्छन् । यस्तो लाग्छ कि यसले हाम्रो ३० प्रतिशत जनसंख्यालाई प्रभावित पारेको छ । ’

भ्रम नं ५ः राती सुत्नुअघि मद्यपान गर्दा मज्जाले निन्द्रा लाग्छ ।

‘मद्यपानले तपाईंलाई छिटो निन्द्रा लाग्न सहयोग त गर्ला तर यसले तपाईंलाई गहिरो निन्द्रामा पर्न भने दिँदैन,’ रबिन्सले भनिन् ।

‘यसले तपाईंलाई REM  बाट बाहिर निकालिरहन्छ जसका कारण तपाईं मज्जाले निदाउन सक्नुहुन्नँ त्यसैले त रक्सी पिएर सुतेको मान्छे उठ्दा आलस्य महसुस गर्छन्,’ रबिन्स भन्छिन् ।

भ्रम नं ६ः निन्द्रा लागेन रु ओछ्यानमा पल्टिएर आँखा चिम्लनुहोस् र निदाउन प्रयत्न गर्नुहोस् 

तपाईंले मान्नुपर्छ कि यो लाइन अर्थपूर्ण छ । तपाईं बेडमा सुतेर आँखा नचिम्ली कसरी निदाउन सक्नुहुन्छ रु यद्यपी, निदाउन प्रयत्न गरेको १५ मिनेटभित्र निदाइसक्नुपर्ने निद्रा विशेषज्ञ बताउँछन् ।

बेडमा गएपछि निद्रा नलाग्ने बानीलाई रबिन्स जिममा गएर ट्रेडमिलमा उभिने तर केही पनि नगर्ने जस्तो बताउँछिन् ।

रबिन्स भन्छिन्, ‘एक व्यक्ति मस्त निन्द्रामा पर्न १५ मिनेटको समय लाग्छ । यदि तपाईं १५ मिनेटभन्दा बढी समयका लागि कोल्टे फेरिरहनुहुन्छ भने बेडबाट निस्कनुहोस्, दिमाग खियाउनु नपर्ने काम गर्नुहोस् । मधुरो बत्ती बाल्नुहोस् र मोजा पट्याउनुहोस्,’ उनी सल्लाह दिन्छिन् ।

भ्रम नं ७ः दिउँसो जतिबेला सुतेपनि फरक पर्दैन ।

केही विशेषज्ञका अनुसार यो एउटा यस्तो भ्रम हो जसले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने गर्छ ।

‘मानिसहरुले आफ्नो निद्राको तालिका नै बनाउनुपर्छ किनभने यसले हामो जैविक समयतालिका नियन्त्रण गर्ने गर्छ,’ जिन–लुइसले भने । ‘यसले हाम्रो शरीरको सम्पूर्ण हर्मोन, तापक्रम, खानपिन, पाचनक्रिया र सुत्ने–उठ्ने साइकल नियन्त्रण गर्छ ।’

यदि तपाईंको जैविक समयतालिका र बाहिरी वातावरणबीचको तादम्य मिल्दैन भने तपाईं असन्तुलित, बेचैन र जतिबेला पनि निद्रा लागेको जस्तो महसुस गर्नुहुनेछ ।

फरक समय तालिकामा काम गर्नेहरुलाई मुटु रोग, अल्सर, डिप्रेशन, मोटोपना र केही प्रकारको क्यान्सरको अत्यधिक जोखिम हुन्छ ।

यस्ता व्यक्तिहरु केही कुरामा ढिला प्रतिक्रिया दिने किसिमका हुन्छन् त्यसकारण  कार्यस्थलमा विभिन्न दुर्घटनाको शिकार बन्ने गर्छन् ।

भ्रम नं ८:बेडमा टिभी हेरेर विश्राम लिनु राम्रो काइदा हो ।

यो हामी सबैले गर्छौं । हामीमध्ये धेरैजना सुत्नु अघि ल्यापटप र स्मार्टफोन नियाल्छौं । दुर्भाग्यवश, यसले तपाईंको निद्रा बिगारिरहेको हुन्छ ।

‘विद्युतीय उपकरणले निलो प्रकाश फाल्ने गर्छ र यही निलो प्रकाशले हरेक बिहान हाम्रो दिमागलाई जागा हुन निर्देशन दिन्छ,’ रबिन्स भन्छिन् । ‘सुत्नुअघि हामी निलो प्रकाश फाल्ने टेलिभिजन र स्मार्टफोनबाट जोगिनुपर्छ । हामीलाई जे कुराले आनन्द दिन्छ, त्यो कुरा गर्नुपर्छ ।’

नेशनल स्लिप फाउन्डेशनका अनुसार निलो प्रकाशले स्लिप हर्मोन भनिने मेलाटोनिनको श्रावमा प्रभाव पार्छ । सुत्नु दुई घण्टाअघि टिभीलगायत विद्युतीय उपकरण हेर्दा तपाईंलाई निद्रा लाग्न बेर लाग्न सक्छ, तपाईंलाई  गहिरो निद्रा लाग्नबाट रोक्छ । यसो गर्दा तपाईं आठ घण्टा वा सोभन्दा बढी सुतेर उठ्दा पनि तपाईंलाई आलस्य महसुस हुन्छ ।

अबेर रातीसम्म काम गर्नुपरेको खण्डमा स्क्रिनको चमकलाई घटाउने र स्क्रिनको रङलाई सूर्यास्त हुँदाको प्रकाशसँग मेल खाने किसिमको बनाउनुपर्छ । रातो र पहेँलो रङको तरङ्ग कम हुन्छ र यसले मेलाटोनिनलाई कमै असर गर्दछ ।

भ्रम नं ९: स्नूज दबाउनु राम्रो हो १ अलार्म बज्ने बित्तिकै उठ्नु पर्दैन ।

बिहान उठ्नुअघि धेरैले स्नूज बटन दबाउनुहुन्छ होला ।

‘स्नूज बटन दबाउने तपाईंको बानी त्याग्नुहोस् । तपाईंको शरीर पुनः निद्रामा जान्छ – निकै हल्का, कम गुणस्तरको निद्रा ।’ रबिन्सले भनिन् ।

‘तपाईं आफ्नो निद्राको अन्तिम समयमा आइपुग्दा तपाईंको शरीरले सम्भवतःचक्रलाई बिट मार्ने प्रक्रियामा हुन्छ । स्नूज बटन दबाउने बित्तिकै तपाईंको दिमाग पुनः नयाँ च्भ्ः चक्रमा जान्छ । केही मिनेटपछि अलार्म पुनः बजेपछि तपाईं उक्त चक्रको अन्त्यमा नभई बीचतीरै उठ्नुहुन्छ त्यसकारण तपाईं उठ्दा पुनः शिथिल महसुस गर्नुहुन्छ ।

स्नूज बटन दबाउने आफ्नो बानी हटाउन गाह्रो भइरहेको छ भने सुत्नुअघि आफ्नो फोनलाई कोठाको कुनै कुनामा राख्नुहोस् ता कि अलार्म निभाउन तपाईं उठेर हिँड्नै परोस् ।

भ्रम नं १०: सपना सम्झनु भनेको मिठो निन्द्राको संकेत हो ।

‘यो सरासर गलत हो किनभने हामीमध्ये धेरैले एक रातमा चार वा पाँचपटक सपना देख्छौं,’ जिन– लुईसले भने । ‘र हामीलाई यो याद नै हुँदैन किनभने हामी त्यतिबेला ब्यूँझिएका हुँदैनौं र निद्रा पनि बिग्रिरहेको हुँदैन ।’

फ्रान्समा गरिएको एक अनुसन्धान अनुसार जसले आफ्नो सपना सम्झन्छन् उनीहरुको मस्तिष्क निकै क्रियाशील हुन्छ । यस्ता व्यक्तिहरु राती बारम्बार उठिरहन्छन् र सानो आवाज आउँदा पनि ब्यूँझिने किसिमका हुन्छन् ।

‘यदि हामी मज्जाले निदाएका छौं भने सपना सम्झिनै सक्दैनौं,’ जिन लुईसले भने ।
 

प्रतिक्रिया दिनुहोस