स्वास्थ्य स्वयंसेविका भत्ता वार्षिक २० हजार बनाउने तयारी

सोमबार, ०८ माघ २०७४, १७ : २६
स्वास्थ्य स्वयंसेविका भत्ता वार्षिक २० हजार बनाउने तयारी

सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक २० हजार भत्ता उपलव्ध गराउने तयारी थालेको छ । यस्तो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक २० हजार भत्ता उपलव्ध गराउने प्रस्तावलाई सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद् बैठकमा लैजान लागेको मन्त्रालयका स–सचिव डा. भोलाराम श्रेष्ठले बताए ।

डा. श्रेष्ठले भने, “अहिले महिला स्वास्थ्य स्वयंसेविकाले वार्षिक ७ हजार पोशाक भत्ता पाउने गरेकोे छन् भने त्यसलाई बढाएर वार्षिक २० हजार भत्ता बनाउन लागिएको हो ।”
मन्त्रालयका प्रवक्ता श्रीराम गिरीले भने, “मन्त्रालयले प्रस्ताव तयार गरिसकेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्छौं । मन्त्रालयले थप १ अर्व १० करोड रकम विनियोजन गर्न लागेको हो ।”

त्यसैगरी, अहिले महिला स्वास्थ्य स्वयंसेविकाले वार्षिक ७ हजार पोशाक भत्ता पाउने गरेका छन् भने बैठकका बेला र खोप तथा औषधि खुवाउने अभियानका दिनहरूमा छुट्टै दैनिक भत्ता पाउने गरेका छन् । हाल देशभर करिब ५५ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस