यौनसम्बन्धी सपना किन देखिन्छ ?

शुक्रबार, ०३ जेठ २०७६, २१ : ५२
यौनसम्बन्धी सपना किन देखिन्छ ?

प्रतिकात्मक फोटो

डा. सुमनराज ताम्राकार
जिज्ञासा : आर, सुनसरी

अन्य घटनाजस्तै निदाइरहेको बेलामा यौनसम्बन्धी सपना देख्नु स्वाभाविक प्रक्रिया हो। त्यसो त यौन सपनाको क्रममा स्वप्नदोष हुन सक्ने भए पनि दुवै फरक–फरक कुरा हुन्। सधैँजसो र सबैको स्वप्नदोष हुनैपर्छ भन्ने छैन। कतिपय बेलामा अर्धचेतन अवस्थामा लिंग उत्तेजना मात्र पनि हुन सक्छ।

बैँस पुगेपछि करिब ५० प्रतिशत व्यक्तिले एक न एक पटक यौन सपना देखिसकेको हुन्छ। किशोरावस्थामा बढ्ता देखिने यौन सपना तथा स्वप्नदोषको घटना व्यक्तिअनुसार फरक–फरक हुन सक्छ। पुरुषका साथै महिलाले पनि यौनसम्बन्धी सपना देख्छन्।

यस क्रममा योनि स्राव अत्यधिक हुने तथा यौन सन्तुष्टि प्राप्त गर्ने हुन्छ। यौन सपनाको क्रममा कतिपयलाई वास्तवमै यौन कार्यमा संलग्न भइरहेको अनुभूति हुन्छ। यस्तो बेला यौन कार्यमा संलग्न यौन साथी परिचित वा अपरिचित दुवै हुन सक्छन्।

बाह्य वातावरण तथा सामाजिक रीतिअनुसार मानिसले आफूमा भएको यौन चाहना दबाएर राख्नुपर्ने हुन्छ। कतिपय व्यक्तिको संकुचित भावना तथा हस्तमैथुनप्रतिको नकारात्मक दृष्टिले पनि यौन चाहना दबाउने हुन्छ। यसै बेला शरीरभित्रै विकसित भइरहेको यौन अवस्थाले विकल्प खोज्छ।

यस क्रममा धेरैले हस्तमैथुन गरेर आफ्नो यौन भोक शान्त पार्छन् भने कतिपयमा यौन सपनासँगै वीर्य स्खलन वा योनि स्राव भई यौन तनाव शान्त हुन्छ। कतिपयले यौन सपनासँगै स्खलित हुनै लाग्दा थाहा पाउँछन् भने कतिपयले स्खलित भएपछि मात्र आफूले यौन सपना देखिरहेको वास्तविकता थाहा पाउँछन्।

त्यसो त यौन सपना स्वाभाविक प्रक्रिया हो। हस्तमैथुन गर्ने बानी तथा विवाहपश्चात् नियमितजस्तो यौन कार्यले यौन सपना कम हुँदै जान्छ। बिरलै कतिपयको भने सपनामा हिँड्ने बानीजस्तै वास्तवमा सपनामा यौन सम्पर्क स्थापित गर्ने, यौन क्रियाकलाप गर्ने बानी हुन्छ।

उमेरसँगै यौन विकासको एउटा चिह्नको रूपमा रहेको यौन सपना सबैले देख्नैपर्छ भन्ने चाहिँ होइन। यसले दमित यौन तनाव घटाउन मद्दत गर्ने हुनाले समग्रमा यौन दुव्र्यवहार, यौन हिंसा घटाउन मद्दत गर्छ। प्रजनन प्रणाली राम्ररी विकसित भएको अवस्थामा बारम्बार देखिन सक्छ भने कसैले चाहँदैमा यौन सपना देखिने पनि होइन।

यौन सपना देख्ने बानी घटाउन यौन परिकल्पना नगर्ने, यौन सामग्री अत्यधिक नहेर्ने, नपढ्ने, सुत्नुअघि पिसाब फेरेर तथा हातखुट्टा राम्ररी धोएर सुत्ने तथा मन शान्त पारेर सुत्ने गर्नुपर्छ। यसलाई स्वाभाविक प्रक्रिया ठानी स्खलित हुनै लाग्दा वा भएपछि यौनांगको सरसफाइमा ध्यान दिने गर्नुपर्छ। भित्री कपडा फेर्ने, तन्ना वा सिरकको खोलको सरसफाइ पनि गर्नुपर्ने हुन्छ। परामर्शको अभावमा चिन्ताग्रस्त हुन सक्ने भएकोले मनोपरामर्शको आवश्यकता हुन सक्छ।  सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस