पोखरा । रेड लाइट एरिया र गाँजा खुल्ला हुने गरी पोखरामा ‘इञ्जोय जोन’ बनाउने प्रदेश सरकारको योजना सार्वजनिक भएसँगै पक्ष–विपक्षमा बहस सुरु गरायो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले इन्जोय जोनको डिपिआर अगाडि बढाएकोबारे शुक्रबार साप्ताहिकले अघिल्लो साता विस्तृत सामाचार प्रकाशित गरेको थियो ।
सो योजना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पक्ष–विपक्षमा खुलेर बहस सुरु भयो । केही खुलेरै पक्षमा उभिए भने केही विपक्षमा । पक्षमा देखिएकाहरुको तर्क छ ‘गुपचुप गराउनुभन्दा कानुनी दायरामा ल्याउनु राम्रो ।’ विपक्षमा मत राख्नेहरुको तर्क छ ‘यो सामाजिक मूल्य र मान्यताविपरीत हो’ ।
पोखरामा विरोधको स्वर बाक्लो सुनियो । पोखरा बाहिर समर्थनको स्वर । नागरिक समाज, लेखक, बुद्धिजीवी, प्राध्यापक, पर्यटन व्यवसायी, पत्रकारलगायतका क्षेत्रका पोखरेली विपक्षमा देखिए । समर्थन गर्ने पोखरेली नभएका हैनन् तर उनीहरुको स्वर अली सुस्त देखियो ।
पर्यटनमन्त्री विकास लम्सालको भनाइमा ‘इन्जोय जोन’मा खाने, बस्ने, सुत्नेसहित यौनजन्य क्रियाकलाप र लागूऔषधको सेवन खुल्ला हुनेछ । उनले पर्यटक र मनोरञ्जनका लागि आवश्यक सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउने गरी ‘इन्जोय जोन’ खोलिने जहाँ यौन र लागूऔषधसमेत खुल्ला हुनसक्ने बताएका थिए । तर बहस पूरै रेड लाइट क्षेत्रमा मात्र केन्द्रित भयो । सर्वसाधारणदेखि बौद्धिक वर्गसमेत पोखरामा रेड लाइट एरिया बन्ने भो भनेर त्रसित अवस्थामा देखिए । यौन ममिलामा खुलेर कलम चलाउनेहरुसमेत यसको विपक्षमा देखिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीले नै यस अगाडि ‘रेड लाइट एरिया’ खोल्ने धारणा सार्वजनिक गरेकाले अधिकांशले ‘इन्जोय जोन’ रेडलाइट एरियाको परिस्कृत नाम मात्र भएको विश्लेषण गरेका छन् ।
इञ्जियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर पोखराका प्राध्यापक डा. वसन्त गौतम प्रदेश सरकारको इन्जोय जोनको अवधारणामा सहमत देखिएनन् । केही शब्दजालले छोपेर भए पनि ‘रेड लाइट एरिया’ खोल्न कस्सिएर लागे पोखरेलीले प्रतिवाद गनुपर्ने उनको मत छ । शुक्रबारबाट
प्रतिक्रिया दिनुहोस