कञ्चनपुर । जङ्गली जनावरलाई पानी खुवाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनमा सौर्यपम्प जडान गरिएको छ । सामुदायिक वनमा दुई वर्षअघि जङ्गली जनावरलाई पानी खुवाउन बनाइएको कृत्रिम पोखरीमा रु तीन लाख ३० हजार रकम खर्चेर दुई हजार वाट क्षमताको सौर्यपम्प जडान गरिएको हो ।
वन क्षेत्रमा रहेका चितुवा, पाटेबाघ, निलगाई, हात्ती, खरायो, स्याल, बाँदर, बँदेल र चराचुरुङ्गीलाई पानी खान सहज होस् भनेर सौर्यपम्प जडान गरिएको सामुदायिक वनका अध्यक्ष बहादुर महराले बताउनुभयो । बढ्दो गर्मीसँगै चुरेक्षेत्रको वन भएकाले खहरेखोलामा पानी सुक्ने गरेको छ, उहाँले भन्नुभयो, “प्राकृतिक ताल सुक्ने भएकाले सौर्यपम्प जडान गर्नुपरेको छ ।”
पानीको खोजी गर्दै जङ्गली जनावर मानव बस्तीमा पसेर मानिसलाईसमेत आक्रमण गर्ने गरेका छन् । जनावरको आक्रमणलाई न्यूनीकरण गर्नका लागि सौर्यपम्पबाट १० बिघा क्षेत्रफलमा खनिएको कृत्रिम पोखरीमा पानी भरेर जलाशयजस्तै बनाइएको उहाँले बताउनुभयो ।
पोखरीमा विपन्न समुदायका व्यक्तिलाई आयआर्जनका लागि माछापालन गर्ने योजनासमेत बनाइएको छ । पोखरीमा माछापालन गरेर वार्षिक रुपमा रु ३५ लाख बढी आम्दानी लिन सकिने अध्यक्ष महराको भनाइ छ ।
जलपक्षीका ताल संरक्षण गरिने
कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा रहेको पुरैनी ताल संरक्षण गरिने भएको छ । नगरपालिकाले तालको पानी सुकेको भागलाई पोखरीमा परिणत गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने भएको छ । रु १६ लाख लागतमा झण्डै तालको सात बिघा जग्गामा पोखरी निर्माण गर्ने र तालको चारैतिर माटोको पर्खाल निर्माण गर्ने योजना अघि सारिएको नगरप्रमुख पोतीलाल चौधरीले बताउनुभयो ।
तालको पुरिँदै गएको भागमा पोखरी निर्माण गर्दा ताललाई पुरानै अवस्थामा फर्काउन सकिन्छ, उहाँले भन्नुभयो, “पोखरीमा माछापालन गर्दा स्थानीय बासिन्दाको आयस्रोतसमेत वृद्धि हुन्छ ।” आगन्तुक र रैथाने जलपक्षीका लागि पुरैनी ताल प्रख्यात रहेको छ । ताल पहिला ३२ बिघा क्षेत्रफलमा फैलिएको थियो ।
स्थानीय बासिन्दाले तालको वरिपरिको क्षेत्रमा अतिक्रमण गरी खेती गर्न थालेपछि ताल २८ बिघा क्षेत्रफलमा खुम्चिएको स्थानीयवासी रामबहादुर चौधरीले बताउनुभयो । ताल अतिक्रमण हटाउनका लागि नगरपालिका कार्यालयले जग्गाको नक्साङ्कन गर्ने जनाएको छ । स्थानीय बासिन्दासमेत ताल संरक्षणका लागि काम अगाडि बढाइने भएपछि तालको अतिक्रमण गरेको जग्गा फिर्ता गर्नका लागि सहमत देखिएका छन् ।
ताल संरक्षणका लागि सिद्धेश्वर सहकारी संस्थाले काम अगाडि बढाउँदै आएको छ । तालमा रहेका जलपक्षीलाई संरक्षण गर्न र तालको जैविक विविधता बचाइराख्नका लागि सहकारी संस्थाले स्थानीय बासिन्दालाई सचेत पार्दै आएको छ ।
तराई क्षेत्रका अधिकांश ताल वैशाख, जेठमा सुक्ने गरे पनि यस तालमा बाह्रै महीना एकनाशको पानी रहने गरेको छ । ताल कमलका फूलका लागि समेत प्रख्यात छ । स्थानीय थारू भाषामा कमललाई पुरैना भन्ने गरिएका त्यसै आधारमा तालको नाम पुरैनी राखिएको हो ।(रासस)
प्रतिक्रिया दिनुहोस