५० वर्ष पहिले यसरी भएको थियो प्रचण्ड र सीताको विवाह

सफल खबर संवाददाता

विहीबार, २६ बैशाख २०७६, ०८ : ५०
५० वर्ष पहिले यसरी भएको थियो प्रचण्ड र सीताको विवाह

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड र सीता दाहालको विवाह बन्धनमा बाँधिएको आज ५० औं वर्षगाँठ । प्रचण्ड परिवारले आफ्नै नीजि निवास खुमलटारमा आफन्त र केही निकट सहयोगीका साथ विवाह वर्षगाँठ सेलिव्रेट गर्दैछ ।

अस्वस्थ्य पत्नी सीताको मुहारमा खुसी ल्याउन सकिने अपेक्षासहित प्रचण्ड यो सेलिव्रेट गर्न तयार भएको सचिवालयले जनाएको छ ।

प्रचण्डको विवाह २०२६ साल वैशाख २६ गते भएको थियो । उमेरमा आफुभन्दा ६ महिना जेठी सीतासँग प्रचण्डले विवाह गरेका थिए ।

प्रचण्ड सीताको जोडी मिलाउने काम नजिकका नातेदार केशवप्रसाद भटटराईले गरेका थिए । सीताका मामाको  नातामा थिए, केशवप्रसाद भटटराई । आजको सेलिव्रेटका लागि गत भदौं साउनतिरै निम्तो पाएका उनको गत पुष २३ मा काठमाडौंमा निधन भईसकेको छ ।

२०१९ सालमा कास्कीको ढिकुरपोखरीबाट चितवन बसाईं सर्दा प्रचण्डको परिवार आर्थिक रुपमा कमजोर थियो । अढाई विघा जति जग्गा जमिन मात्रै चितवनमा उनका बाबुसँग थियो । त्यसमाथी आधा दर्जन सन्तान पाल्नुपर्ने अवस्थामा थिए, – प्रचण्डका पिता मुक्तिराम ।

शुरुमा सीताको परिवारले प्रचण्डसँग सीताको विवाह गराईदिन आनाकानी गरेका थिए । ठूलो परिवार, थोरै जग्गा जमिन, आर्थिक अवस्था पनि आफ्नोभन्दा कमजोर भएको ठाँउमा छोरी दिन सीताका बाबुले अप्ठायारो मानेका थिए ।

छोरीले खाएको घर र डडेलोले खाएको बन भनेजस्तो अल्लि गा¥हो हुन्छ की भनेर उखानैसहित सीताका बाबुले लमीमामा केशवप्रसाद भट्टराइृलाई भनेका थिए ।

छोरी धेरै भएको परिवारमा आफ्नी छोरी अन्माएर दिन अन्कनाउने प्रचलन त्यतिबेलाको ग्रामिण समाजमा थियो । त्यही भएर बाआमाले आफ्ना दुई छोरी मध्येकी जेठी सीतालाई प्रचण्डसँग बिहे गराईदिन सुरुमा अप्ठेरो मानेका थिए ।

तर भट्टराइृले सीताको परिवारलाई मनाएरै छोडे । ‘केटो एकदम ठीक छ, मैले बच्चैदेखि जानेको छु, स्कुलमा पनि एकदम चलाख’ सीताका अविभावकलाई ‘कन्भिन्स’ गर्न भट्टराईले भनेका थिए, ‘झैझगडा भयो भनेपनि मिलाउन जान्छ । केटो यति चलाख छ की, केही गर्न नसके एक्लै रुखको टुप्पामा लगेर भएपनि पाल्न सक्छ । यस्तो केटालाई छोरी दिए हुन्छ ।’

त्यसपछि मात्र सीताको परिवार प्रचण्डलाई छोरी दिन तयार भएका थिए । सीताका बुबा निकै धनी, छोरीको बिहे उनले धुमधामसँग गराइदिए ।

कुनै पनि कुराको ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाउने चलन छ । प्रचण्डले पनि विवाह स्वर्ण वर्षका रुपमा सेलिव्रेटका लागि तयार भएका हुन् ।

‘यो ५० बर्षको बीचमा सीताले मलाई थुप्रै सहयोग गरेकी छन्’, पारिवारिक सदस्यहरुसँग प्रचण्डले भन्ने गरेका छन्, ‘त्यसैले, ५० बर्ष पुगेको उपलक्ष्यमा  म विवाह सेलिव्रेट गर्न तयार भएको हँु ।’

प्रचण्डको एकमात्र छोरा प्रकाशको ३ मंसीर ०७४ मा निधन भयो । चुनावी चटारोमा रहेका बेला जब प्रकाशको निधन भयो, पत्नी सीता विव्ह्ल बनिन् । उनलाई अनेक रोगले गाँज्दै लग्यो । अत्याधिक शोकका कारण सीताको मुहारमा खासै खुसी देखिएको छैन ।

त्यही मुहारमा खुसी खोज्न प्रचण्ड विवाह सेलिव्रेटका लागि तयार भएका हुन् ।
अनेक हण्डर ठक्करका बाबजुद पत्नी सीताले आफूलाई गरेको सहयोगका कारण कृतज्ञ बनेका प्रचण्ड पत्नी सीताको यस्तो अवस्थाका कारण निकै चिन्तित छन् । तर, घरमूलीले नै चिन्ता देखायो भने पत्नी सीताको अवस्था त झन् नाजुक हुनसक्छ, बाँकी २ छोरी र अन्य पारिवारिक सदस्यहरुमाथि पनि तनाव बढ्न सक्छ भन्ने कुरामा उत्तिकै सचेत छन् प्रचण्ड ।

सीताको अवस्थामात्रै ठीक हुने हो भने प्रचण्ड परिवारमा खुसी पूर्ववत रुपमा फर्किन सक्छ । त्यसैले, प्रचण्ड सीताको हृदयमा जसरी हुन्छ, खुसी फर्काउने ध्याउन्नमा छन् । सीताले जे भन्छिन्, उनी टार्न सक्दैनन् ।

एक महिना अगाडीको अमेरिका उपचारमा जानुको कारण पनि यही थियो । दाम्पत्य जीवन सुरु भएको ५० बर्ष पुगेको उपलक्ष्यमा प्रचण्डले सीतासँग विवाह सेलिव्रेट गर्न चाहानुको प्रमुख उद्देश्य पनि उनको मुहारमा पुरानै खुसी हेर्नका लागि हो ।

‘प्रचण्ड सीता खुसी भएको, मज्जासँग हाँसेको देख्न चाहन्छन्’ पारिवारिक स्रोत भन्छ, ‘त्यही खुसीका लागि प्रचण्ड परिवार आज विवाह वर्षगाँठ सेलिव्रेटमा छ ।’

प्रतिक्रिया दिनुहोस