प्रधानमन्त्रीको जवाफ– ढुक्कले भन्ने हो मेरो देश, मेरो सरकार

सफल खबर संवाददाता

मंगलबार, २४ बैशाख २०७६, १४ : ४४
प्रधानमन्त्रीको जवाफ– ढुक्कले भन्ने हो मेरो देश, मेरो सरकार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्कले मेरो देश मेरो सरकार भन्न हुने बताउनुभएको छ । उहाँले आज संसदमा सांसदहरुले सोधेका प्रश्नहरुको उत्तर दिँदै प्रधामन्त्रीले ओलीले भन्नुभयो, ‘राष्ट्रपतिले मेरो सरकार भन्नु, दुनियाँभरिको अभ्यास हो, हामी त्यही अभ्यास गर्दैछौँ ।’
उहाँले दुनियाँभरिको अध्यास गर्दा यस वर्ष मेरो सरकार भन्न अवसर मिलेको बताउँदै भन्नुभयो, ‘यो त दुनियाँको चलन हो, मेरो धर्ती भन्नु, मेरो  देश भन्नु, मेरो राष्ट्र भन्नु ! मेराभन्दा अरुको देश नहुनु हो ? कमन मान्छेले भन्छ मेरो देश, राष्ट्रपतिले भन्दा के बिग्रियो ?’ उहाँले जानीजानी नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ राखिएको बताउनुभयो । 
प्रधानमन्त्री ओलीले ‘मेरो सरकार’ आवश्यकीय शव्दवली भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजा महाराजाले भन्ने शव्दावली जननिर्वाचित राष्ट्रपतिले भन्दा के बिग्रियो ? यो वाच्छनीय छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको माग ‘जुनसुकै मौसममा गाउने गीतजस्तै भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘संविधान संशोधन हुन्छ, संविधान भनेको असंशोधनीय दस्तावेज होइन, बसेर छलफल गर्न सकिन्छ, तर बिहानै संविधान संशोधन, बेलुका संविधान संशोधन भनेरमात्र हुँदैन, कहाँ ? किन ? केका लागि ? छलफल गर्न सकिन्छ, बसेर छलफल गरौँ ।’ 
प्रधानमन्त्री ओलीले औचित्य र आवश्कताका आधारमा संविधान संशोधन हुन सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘एउटा सेक्टरको लागि मात्र होइन,  देशका लागि, जनताको एकतालाई सुदृढ गर्ने, साम्प्रदायिक विद्वेष खत्तम गर्ने उद्देश्यका लागि जहिले पनि संशोधन हुन सक्छ ।’
 अहिले सार्वजनिक खपतका लागि संविधान संशोधनको कुरा उठिरहेको प्रधानमन्त्री ओलीले दाबी थियो ।  ‘संशोधन गर्न नसकिने होइन । तर, यो कुनै लहडको विषय होइन । अनावश्यक ढंगले उछालिरहने विषय पनि होइन ’ उहाँले भन्नुभयो ।प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय सरकार केन्द्र सरकार मातहत नै रहने बताउनुभयो । 
प्रधामन्त्री केपी ओलीले सांसदहरुलाई राति देखिने सपनालाई मात्रै सपना नठान्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान नीति तथा कार्यक्रमले सपना देखेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीले नीति तथा कार्यक्रममार्फत् सपना प्रस्तुत गर्दा माननीयज्यूलाई अचम्म लागेको छ। उहाँहरुलाई सपना भनेका राति मात्रै देखिने कुरा हो भन्ने लागेको रहेछ।’ प्रधानमन्त्री ओलीले अहिलेको नीति तथा कार्यक्रम सपनामात्र नभई अठोट र संकल्पसहितको सपना भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस