काठमाडौं । मान्छेको दिमाग २५ वर्षको उमेरसम्म विकास भइरहेको हुन्छ। त्यसभन्दा कम उमेरमा गाँजाको नियमित प्रभावले दिमागको विकासमा नकारात्मक असर पुर्याउँछ।
उरुग्वेको राजधानी मोन्टेभिडिओको बाहिरपट्टि सानो बस्तीमा रहेको एउटा औषधि पसलबाहिर हरेक दिन दिउँसो लामो लाइन लाग्ने गर्छ। औषधि पसल यति सानो छ कि एक पटकमा एक जनालाई मात्र भित्र पस्न दिइन्छ। पालो कुर्न साह्रै दिक्कलाग्दो छ। तर, लाइनमा उभिएका अधिकांश तन्नेरीको अनुहारमा पर्खाइको पीडा देखिँदैन। उनीहरु या त सडकमा उभिएका हुन्छन्, या दुईतीन जनाको समूहमा सिँढीमा बसेर गफ चुटिरहेका हुन्छन्।
औषधि पसलभित्र हरियो कोट लगाएका एक जना केमिस्टले उनीहरुलाई फिंगरप्रिन्ट स्क्यानरमा हाजिर गराउँछन्। यो विद्युतीय उपकरण केन्द्र सरकारको कम्प्युटरमा जोडिएको छ। स्क्यानरमा औँला राख्नेबित्तिकै कम्प्युटरले उनीहरुलाई सरकारी रासनको गाँजा दिने अनुमति दिन्छ या अस्वीकार गर्छ। यो गाँजा राज्यको नियन्त्रणमा उत्पादन गरिएको उच्च गुणस्तरीय हुनाले यसले कडा नशा दिन्छ।
‘सडकमा अवैध गाँजा किन्दा २५ ग्रामको झण्डै सय डलर पर्छ,’ लाइनमा उभिएका एक युवा लुसियानोले भने, ‘त्यो गाँजामा कीटनाशक औषधि, बियाँ र बोक्रा पनि मिसिएको हुन्छ। तर, यहाँ त्यति नै गाँजा किन्न ३० डलर भए पुग्छ। यहाँको गाँजाको गुणस्तर पनि ग्यारेन्टी गरिएको हुन्छ। पाँच–पाँच ग्रामको प्याकेटमा दिइन्छ।’
सन् २०१७ को जुलाईमा उरुग्वेले देशभरि नै गाँजालाई वैधानिक बनायो। मनोरञ्जनात्मक उद्देश्यले गाँजा प्रयोगलाई वैधानिक बनाउने उरुग्वे पहिलो देश पनि बन्यो। ‘यो परिवर्तन निकै महत्त्वपूर्ण छ,’ गास्टन रोड्रिगेज लेपेरा भन्छन्। उनी सरकारका लागि गाँजा उत्पादन गर्ने दुई निजी कम्पनीमध्येको एक सिम्बायोसिसका शेयरधनी हुन्। ‘गाँजा वैध बनाउने विषयमा उरुग्वेलाई कसैको समर्थन थिएन,’ उनले भने, ‘त्यसैले समस्या परेको थियो। धेरैले यस्तो प्रणालीले काम गर्दैन भनेका थिए। तर, अहिले काम चलिरहेको छ।’ सम्पूर्णबाट
प्रतिक्रिया दिनुहोस