भरतपुर महानगरको सडक सुरक्षा सप्ताह २०७६ सुरु :  प्रमुख रेनु दाहाल कुचो लिएर सडकमा

सफल खबर संवाददाता

सोमबार, २३ बैशाख २०७६, ११ : ०६
भरतपुर महानगरको सडक सुरक्षा सप्ताह २०७६ सुरु :  प्रमुख रेनु दाहाल कुचो लिएर सडकमा

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरलाई देशकै सफा र हरियाली महानगर बनाउने बताउनुभएको छ । नारायणगढको पुल्चोकमा समुदाय प्रहरी साझेदारी सडक सुरक्षा सप्ताह २०७६ को आरम्भ भएको घोषणा गर्दै महानगर प्रमुख दाहालले स्मार्ट सिटीको अवधारणालाई साकार पार्न पनि महानगरलाई हरियाली र सरसफाइको नमुना बनाउनपर्ने बताउनभयो । 
उहाँले भन्नुभयो, ‘हरियाली निर्माण तथा सरसफाइ अभियानमा आफैँ सरिक भएमा जनमानसमा सरसफाइको राम्रो प्रभाव पर्छ, जतिसक्दो छिटो भरतपुर महानगर सरसफाइको नमुना बन्छ भन्ने हामीलाई अनुभव भएको छ ।’ प्रमुख दाहालले भरतपुर महानगरलाई सफा र हरियालीको नमुनाको रुपमा चिनाएर विश्वका पाहुनालाई भरतपुर आउने वातावरण सिर्जना गर्न महानगर लागेको बताउनुभयो ।

महानगर प्रमुख दाहालका अनुसार स्मार्ट सिटीको नमुनाको थालनी र परिकल्पनालाई साकार पार्न सबैभन्दा पहिला नगर हरियाली र सफा हुन जरुरी छ । उहाँले भन्नुभयो, ‘महानगरलाई स्मार्ट सहर बनाउन पनि पहिला सफा र हरियाली हुनुपर्छ महानगरका ३ वटा वडाहरु सरसफाइयुक्त घोषणा भइसकेको छ, भविष्यमा नै भरतपुर महानगरलाई हरियाली र सरसफाइयुक्त महानगर घोषणा गर्ने अठोट मैले लिएको छ । 
दाहालले भरतपुर महानगरपालिकालाई वातावरणमैत्री, हरियाली र सफा सहर बनाउन विभिन्न योजनाहरु ल्याएको बताउनुभयो । नगरलाई सफा र हरियाली राख्न भरतपुर महानगरले १ घर २ बिरुवा अभियान पनि चलाइरहेको हो । भरतपुरलाई वातावरणमैत्री बनाउन, संघसंस्थालाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने प्रमुख दाहालको भनाइ थियो । महानगरको सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, सरसफाइमा लागेको वे गु्रप, लायन्स क्लब अफ बागेश्वरी, जि एस ए टिमका विभिन्न संघसंस्थालगायत सामाजिक अभियान्ताहरु सहभागी रहेका थिए । सरसफाइ अभियान साताव्यापी रुपमा सञ्चालन गर्ने महानगरले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस