उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा

आइतबार, ०७ माघ २०७४, १५ : ४८
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा

सोल । उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल आइतबार दक्षिण कोरिया पुगेको समाचार छ ।

अर्काे महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकोले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न सो प्रतिनिधिमण्डल सोल पुगेको हो ।

यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको चार वर्ष पछि यो पहिलो पटक भएको अधिकारीहरुले सोलबाट जानकारी दिएका छन् ।

उक्त प्रतिनिधिमण्डलले सो खेलकूदको तयारीका साथै उत्तर कोरियाको तर्फबाट प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रमको तयारीको बारेमा पनि निरीक्षण गर्ने र आवश्यक निर्देशन दिने बताइएको छ ।

उत्तर कोरियाको एक प्रसिद्ध सांगितीक समूह (मोराङ्बोङ ब्यान्ड) का प्रमुख होङ सोन उलको नेतृत्वको सात सदस्यीय समूह उक्त प्रतिनिधिमण्डलमा रहेको छ ।

आइतबार बिहान सो समूह सोल पुग्दा प्रहरीको निकै ठूलो सुरक्षा घेराले सुरक्षा दिइरहेको थियो । पश्चिमा देशहरुको जस्तै सांगितीक प्रस्तुति दिने उक्त ब्यान्ड उत्तर कोरियामा निकै प्रचलित छ ।
उनीहरु उत्तर कोरियाको संगीतसम्बन्धी सो ब्याण्डका अधिकारी हुन् । उक्त ब्याण्ड सरकारको मातहतमा स्थापना र सञ्चालन भइरहेको छ ।

फेब्रुअरीमा हुनलागेको सो खेलकूदमा उत्तर कोरियाका तर्फबाट सांगीतिक प्रस्तुति पनि उनीहरुले नै दिने तय भएको छ । सो प्रस्तुतिको तयारीको निरीक्षण गर्न उनीहरुले दुई दिनसम्म दक्षिण कोरियाको भ्रमण गर्न लागेका हुन् ।

संयोजक संगीतकर्मी महिला उलको नेतृत्वमा रहेको सो समूहले उक्त खेलकूदको समयमा पश्चिमाको जस्तै संगीत देखाउने बताइएको छ । उत्तर कोरियामा उनीहरुले यसका लागि लामो समयदेखि तयारी गरिरहेका पनि अर्काे एक समाचारमा जनाइएको छ ।

आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारी पठाउने जानकारी यसअघि नै दिइसकेको छ ।

उक्त खेलकूदमा २२ जना एथलेट्स र अरु खेलकूद अधिकारीहरु उत्तरले दक्षिण पठाउन लागेको छ । ती खेलाडीहरुको नामावली र उनीहरुले खेल्ने खेलको बारेमा ओलम्पिक कमिटीले अनुमोदन गरिसकेको बताइएको छ ।

यस ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाले एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्चगर्न पनि सहमति जनाएका समाचार यसअघि नै आएको थियो ।(रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस