विप्लवको हेडक्वार्टरमा सरकारको उच्च निगरानी

यस्तो छ विप्लव पार्टीको भूमिगत संगठनात्मक संरचना

विहीबार, ०५ बैशाख २०७६, ११ : ५६
विप्लवको हेडक्वार्टरमा सरकारको उच्च निगरानी

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको विरोधमा उसले आज नेपाल बन्दको आह्वान गरेको छ भने भोलिबाट प्रधानमन्त्री उपस्थित हुने कार्यक्रममाथि नै प्रतिबन्ध लगाउने सम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 
विप्लवको संगठन र गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएसँगै उसका केन्द्रीय नेताहरु सरकारको उच्च निगारानीमा छन् । अहिलेसम्म ४ जना केन्द्रीय समितिका नेताहरु पक्राउ परिसकेका छन् । स्थायी समिति सदस्य हेमन्तप्रकाश वली, पोलिटब्यूरो सदस्य मोहन कार्की, केन्द्रीय सदस्यहरु वसन्त श्रेष्ठ र वन्धु चन्द पक्राउ परेका छन् । 
यसमध्ये वली मध्यकमाण्ड इन्चार्ज र श्रेष्ठ पूर्वी ताम्सालिङको संगठनमा भौगोलिक जिम्मेवारी नै लिएका नेताहरु हुन् । यो बाहेक पनि उसको मेची ब्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पनि पक्राउ परेका छन् । नेताहरु पक्राउ परेपछि ति भौगोलिक क्षेत्रमा उसले अहिलेसम्म नयाँ नेतालाई कामको जिम्मेवारी तय गर्न सकेको छ्रैन । 
उसको संगठनात्मक संरचना भूमिगत शैलीकै बनाईएको छ । 
केन्द्रीय समितिमा अहिलेसम्म कति जना छन भन्ने विप्लवको पार्टीले सार्वजनिक गरेको छै्रन । यद्यपी, थवाङ  महाधिवशेनयता दुई वर्षको बीचमा ६१ केन्द्रीय समितिबाट त्यो संख्या घटेर अहिले ४१ मा झरेको बताइन्छ । केहीले विप्लवको नेकपा छोडेर मुलधारको नेकपामा प्रवेश गरिसकेका छन भने कतिपय नेताहरु निष्क्रिय बस्दा संख्या घटेर ४१ मा आईपुगेको विप्लव नेतृत्वकै नेताहरु 
बताउँछन् । 

यस्तो छ संरचना

पार्टीमा एक पदीय व्यवस्थासहित महासचिव विप्लव छन । पाँच सदस्यीय स्थायी समिति बनाईएको छ । जसमा विप्लवसहित खडगबहादुर विश्वकर्मा (प्रकाण्ड), हेमन्तप्रकाश वली (सुर्दशन), धर्मेन्द्र बास्तोला (कञ्चन), सन्तोष बुढामगर (विषम) छन् । जसमध्ये प्रकाण्ड अहिले जिम्मेवारीबिहिन अवस्थामा छन् । उनलाई दिईएको प्रवक्ता र आर्थिक परिचालन विभागको जिम्मवाट अघोषित निलम्बनको अवस्थामा छन् । सुर्दशन मध्य कमाण्ड इन्चार्ज बनाइए पनि उनी पक्राउ परेका छन् । धर्मेन्द्रलाई पश्चिम कमाण्ड र अन्तराष्टिय ब्यूरोको जिम्मा छ । तीन कमाण्ड मध्येको अर्काे पूर्वी कमाण्डको जिम्मा भने पोलिटब्यूरो सदस्य अनिल शर्माले पाएका छन् । 
१७ क्षेत्रिय ब्यूरो छन, विप्लवको पार्टीको । जसमध्ये उपत्यका ब्यूरो : माइला लामा (प्रज्वल), जनकपुर ब्यूरो : सन्देश पौडेल (अरुण), सगरमाथा ब्यूरो : दिपेश राई, मेची ब्यूरो : सुमन लिम्बु पाथाङगवा, कोशी ब्यूरो : किरण राई (निसान) निलम्बनमा परेर पार्टी छोडेपछि घनश्याम श्रेष्ठ (पुष्कर) लाई संयोजक बनाईएको थियो । तर श्रेष्ठ पनि पक्राउ परेपछि यो ब्यूरोको नेतृत्व खाली भएको छ ।
त्यस्तै,  धौलागिरी ब्यूरो : धुव्र घिमिरे (विप्लव), राप्ती ब्यूरो सुवास , महाकाली ब्यूरो रामप्रसाद तिमल्सिना (आरपी), पूर्वी ताम्सालिङमा वसन्त श्रेष्ठ (विजय) छन् । वसन्त पनि अहिले पक्राउ परेका छन् । उनी गोरखा जेलव्रेककी नायिका उमा भुजेलकी श्रीमान पनि हुन् । भुजेल भने उक्त पार्टीको पोलिटब्यूरो सदस्य तथा समानान्तर रुपमा बनाईएको विप्लवको संसदको सभामुखको जिम्मेवारीमा छिन् । 
नारायणी ब्यूरोमा चिरन पुन, पश्चिम ताम्सालिङमा मोहलाल चन्द (आधार), गण्डकी ब्यूरो मा सावित्रि दुरा (आस्था) र लुम्बिनी ब्यूरोमा चन्द्रबहादुर चन्द (वीरगञ्ज) छन् । वीरगञ्ज महासचिव विप्लवका आफ्नै सहोदर दाजु हुन् । 
कर्णाली ब्यूरोमा खम्बा बुढा (एटम), भेरी बलबहादुर ओली (शितल) र सेतीमा शंकर खड्का (सिकन्दर) छन् । १६ भौगोलिक र एक ओटा अन्तर्राष्टिय ब्यूरो बनाएको उसले अन्तर्राष्टिय ब्यूरोमा भने पश्चिम कमाण्ड इन्चार्ज रहेका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) लाई नै जिम्मेवारी दिएको छ । केन्द्रीय कार्यलयको सचिवमा भने भेषराज भुषाललाई जिम्मा दिएको छ । 
पोलिटब्यूरो सदस्यहरु ओमप्रकाश पुन, भरत बम, पदम राई लगायतलाई भने विभागिय जिम्मेवारीसहित देशव्यापी परिचालनको नीति उसले बनाएको स्रोतको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस