अन्योलनमा राजपा नेपालको महाधिवेशन

शनिबार, २३ चैत्र २०७५, १६ : ०६
अन्योलनमा राजपा नेपालको महाधिवेशन

काठमाडौँ  ।  ६ पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) को एकता भएको २ वर्ष बित्न लाग्दा पनि महाधिवेशन हुन सकेको छैन । पार्टीले वैशाख ७ देखि ९ का लागि मिति तय गरेको थियो तर तयारी नपुगेको भन्दै महाधिवेशन सर्न लागेको छ ।

आगामी असारभित्र महाधिवेशन नगरे राजपाको वैधानिकतामाथि नै प्रश्न उठ्छ । २०७४ असार ३० मा निर्वाचन आयोगले ६ पार्टीको एकीकरणलाई वैधानिकता दिएको थियो । त्यसका आधारमा असार मसान्तमा एकताको दुई वर्ष पुग्छ । दुई वर्षभित्र महाधिवेशन गरिसक्ने राजपाको विधानमा छ । त्यसैले विधानअनुसार महाधिवेशन नगरे उसको वैधानिकतामाथि नै प्रश्न उठ्छ ।

निर्धारित मितिमा महाधिवेशन नहुने भएपछि यसबारेमा छलफल गर्न राजपाले आउँदो सोमबार अध्यक्षमण्डलको बैठक बोलाएको छ । बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने सम्भावना छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले महाधिवेशनका विषय छलफल भइरहेको फरकधारलाई जानकारी दिए । वैशाखमा महाधिवेशन हुनेमा भने उनी ढुक्क छैनन् ।  

राजपाले संघीय समाजवादी फोरमसँग पार्टी एकताको पहल पनि गरेको छ । दुवै पार्टीले पत्र पठाइसकेका छन् । सरकारमा रहेको फोरमले राजपाका लागि पार्टी एकता गर्न सरकार नछाड्ने बताउँदै आएको छ । यता राजपाले भने सरकार नछोडी पार्टी एकता नगर्ने अडान लिएको छ । पार्टी एकताको विषयलाई लिएर पनि महाधिवेशन धकेलिएको स्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस