चितवनको जेम्स वल्र्ड फन पार्क वैशाखबाट सञ्चालनमा आउने, नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटनको तयारी

सफल खबर संवाददाता

शनिबार, २३ चैत्र २०७५, १५ : ४४
चितवनको जेम्स वल्र्ड फन पार्क वैशाखबाट सञ्चालनमा आउने, नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटनको तयारी

चितवन । भरतपुर महानगरपालिका–४ स्थित लंकुमा बनेको अन्तर्राष्ट्रियस्तरको जेम्स वल्र्ड फन पार्क वैशाख १ गतेबाट सञ्चालनमा ल्याइने भएको छ । फन पार्कको नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

फन पार्क परिवारले आज पत्रकार सम्मेलन आयोजना गरेर वैशाख १ गतेबाट सञ्चालनमा ल्याइने जानकारी ंदिएको छ । पत्रकार सम्मेलनमा फनपार्कका अध्यक्ष महेश तिवारीले वैशाख १ गतेबाट सञ्चालन हुने फनपार्कको सेवा लिन चाहने जोकोहीलाई एक महिनासम्म २५ प्रतिशत  छुट दिने व्यवस्था गरिएको बताउनुभयो । ‘हामीले विभिन्न सेक्सनमा गरेर प्रतिव्यक्ति २०० रुपैयाँदेखि ७५० नेपाली रुपैयाँसम्म टिकटको दर राख्ने निर्णय गरेका छौँ’ पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘चार हजार मानिसभन्दा बढीले सेवा लिने गरी पार्कलाई व्यवस्थित गर्ने छौँ ।’

यस फनपार्कमा मिनी रेल, ट्याम्पोलिङ, आउट डोर प्ले ग्राउण्ड, बढी स्लाइड, मल्टी लेन रेसर, पारिवारिक स्लाइडको आनन्द लिन सकिने अध्यक्ष तिवारीले बताउनुभयो । फनपार्कका प्रबन्ध निर्देशक ईश्वर विकल सापकोटाले कमर्सियल स्वीमिङ पुल र अम्ब्रेला वाटर फलको पनि फनपार्कमा व्यवस्था गरिएको बताउनुभयो । 

नारायणगढ बजारबाट तीन किलोमिटर दुरीमा तीन बिघा क्षेत्रफलमा फन पार्क बनाइएको छ । फन पार्कमा सानादेखि ठूला गरी एक सय खेल समावेश गरिएको छ । सबै उमेर समूहलाई लक्ष्य गरी छुट्टाछुट्टै खेलको व्यवस्था गरिएको छ । जिल्लामा पहिलोपटक ल्याइएको वाटर पार्कलाई विशेष आकर्षणको रूपमा राखिएको छ । वाटर पार्कमा दुई ठूला टनेल छन् । ४३ फिटको उचाइबाट दुई सय ६५ फिट लामो टनेलमा पानीमा रम्दै झर्ने व्यवस्था गरिएको छ ।
२५ करोड रुपैयाँको लगानीमा मनोरञ्जनका साधन र सुविधाका हिसाबले नेपालकै सबैभन्दा ठूलो फन पार्क भएको जेम्स वल्र्ड फन पार्कका अध्यक्ष महेश तिवारीले दावी गर्नुभएको छ । 

‘सबै खेल भएको पार्क कहिँ पनि भेटिँदैन, हामीले सबैलाई एकै स्थानमा राखेका छौं’, तिवारीले भन्नुभयो । दुई वर्षे बालबालिकाका लागि पनि अलग्गै स्विमङ पुल छ ।  बालबालिकाका लागि पानीभित्र जादुमय मल्टिपल प्ले स्टेसन निर्माण गरिएको छ । संसारबाट लोप भएको डाइनोसर प्रजातिबारे जानकारी हुने खालको जुरासिक पार्क बनाइएको छ । 
भेटघाट गु्रपको प्रवद्र्धनमा निर्माण भएको फन पार्कमा प्रयोग भएका सामान चीन, भारत र ताइवानबाट ल्याइएको हो । २०७४ मंसिरबाट निर्माण थालिएको हो । पार्कमा १२ लाख लिटर पानी सोस्ने क्षमताको सोक पिट बनाइएको छ । फन पार्कमा रेस्टुरेन्ट, फुड कोर्ट, नर्सिङ स्टेसनसमेत राखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस