वीर अस्पतालले सुरु गर्यो नयाँ सेवा

विहीबार, ०४ माघ २०७४, १९ : ५८
वीर अस्पतालले सुरु गर्यो नयाँ सेवा

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सम्पूर्ण पूर्वाधारसहितको टेलीमेडिसिन सेवा सुरु गरेको छ ।  वीर अस्पतालका निर्देशक डा.भूपेन्द्र बस्नेतले राजधानीबाहिरका चिकित्सकसँग सम्र्पक गरी बिरामीको उपचार सेवा सहज बनाउन अहिले पूर्वाभ्यास सेवा सुरु गरिएको बताए ।

‘वीर अस्पतालबाट डिस्चार्ज भई गएका बिरामीलाई पनि आफ्नै ठाउँमा नियमित जाँच गर्न, अन्य बिरामीहरुको भिडियो कुराकानीपछि तुरुन्त उपचार गर्न सकिन्छ ,’’ उनले भने ।  उनले पूर्वाधार जडान गरी पूर्वाभ्यास गरिरहेकोले छिट्टै नियमित सेवा शुरु गरिने पनि बताए । अस्पतालाई अमेरिका नेपाल मेडिकल फाउण्डेशनले रु १२ लाख बराबरको टेलीमेडिसिनको उपकरण सहयोग गरेको हो ।

‘‘पहिलो अवस्थामा स्याटेलाइट सेन्टरहरु धादिङ, दोलखालगायत स्थानबाट, त्यसपछि विराटनगर, भैरहवा, बुटबललगायतमा न्याम्सबाट गएका आवासीय चिकित्सकलाई वीर अस्पतालबाटै यो सेवा प्रदान गर्न सकिने छ,’’ उनले भने ।  अस्पतालले टेलीमेडिसिन सेवालाई दुर्गम क्षेत्रमा पनि विस्तार गरी त्यहाँका जनतालाई स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

टेलीमेडिसिनले उपचारमा आएको जटिलताबारे केन्द्र र मोफसलका चिकित्सकबीच सम्पर्क, समन्वय हुनसकेमा धेरै बिरामीको अकालमै हुने मृत्यु रोक्न सम्भव हुने अस्पतालको विश्वास छ । रासस

प्रतिक्रिया दिनुहोस