भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकारप्रति जनताले ठूलो आशा र भरोसाका साथ दुई तिहाइ बहुमत दिएकाले जनइच्छाबमोजिम काम गर्नुपर्ने बताए ।
उनले जनताबीच लोकप्रियता हासिल गर्न वडादेखि केन्द्रसम्म सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । ‘वर्तमान अवस्थामा नेपालमा प्रतिपक्ष कमजोर छ’, नेता नेपालले भने, ‘एक हिसाबले मैदान खाली जस्तै छ तर यसो भनेर विचलित हुने अवस्था छैन ।’ सरकारको नेतृत्व गरेर जनताको पक्षमा लोकप्रिय काम गर्न नसके जनताले सजाय दिने उनले बताए ।
विश्वमा कम्युनिष्ट पार्टीहरु अलोकप्रिय भइरहेका बेला नेपालमा भने कम्युनिष्टहरुको कामका कारण लोकप्रियता बढ्दै गएको उनको भनाइ छ । उनले पार्टीमा जागृतप्रसाद जस्ता नेताहरुको जगका कारण लोकप्रियता बढेको बताए । ‘भेटवाल सरल नेता हुनुहुन्थ्यो’, उनले भने, ‘उहाँको व्यवहार, आचरण र त्याग हाम्रा लागि उदाहरण हुन् ।’ भेटवालबाट शिक्षा लिन सबै जनप्रतिनिधिलाई नेता नेपालको सुझाव छ ।
यस्तै स्मृति सभामा नेकपाका सचिवालय सदस्य बामदेव गौतमले एक वर्षदेखि पार्टीले आफूलाई कुनै भूमिका नदिएको गुनासो गरे । ‘एक वर्षदेखि म पार्टीको कुनै भूमिकामा छैन’, उनले भने, ‘म पार्टीभित्र बेरोजगार भएको छु ।’ भेटवालले देखेका सपना र अधुरा काम सम्पन्न गर्न सके उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने नेता गौतमको भनाइ छ ।
यस्तै नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवनमा कम्युनिष्ट पार्टी निर्माणमा भेटवालको योगदान महत्वपूर्ण रहेको बताए । भेटवालको उदारता र आत्मबल प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनले व्यक्ति र पार्टीभन्दा पनि जनताप्रति उत्तरदायी हुने नेता भएको बताए ।
सो स्मृति सभामा स्व नेता भेटवालकी छोरी सृजना भेटवालले बुबाले आफ्नो राजनीतिक जीवन सधैँ जनताका लागि समर्पित गरेको बताए । उनका अधुरा सपना पूरा गर्न पार्टी र सरकारबाट जनताप्रति समर्पित भएका काम गर्न अनुरोध गरे ।
नेता भेटवालको २०७४ चैत २१ गते काठमाडौँको वीर अस्पतालमा क्यान्सरको उपचारका क्रममा निधन भएको थियो । स्मृति सभामा नेकपाका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, काशिनाथ अधिकारी, केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ, कृष्ण खनाल, देवी ज्ञवाली, केदार न्यौपाने, सांसद कृष्णभक्त पोखरेल, प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रदेशसभा सदस्य विजय सुवेदी, कञ्चन खनाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेकपाका नेता यमबहादुर परियारको अध्यक्षतामा भएको थियो । - रासस
प्रतिक्रिया दिनुहोस