फोरम नेपालको एकता : राजपा कि नयाँ शक्तिसँग पहिले ?

शुक्रबार, १५ चैत्र २०७५, १४ : ०६
फोरम नेपालको एकता : राजपा कि नयाँ शक्तिसँग पहिले ?

काठमाडौँ । पार्टी नेतृत्व कसले गर्ने भन्नेमा उपेन्द्र र बाबुरामबीच कुरा नमिल्दा स्थगित भएको पार्टी एकता पुनः सुरु भएको छ । स्रोतका अनुसार नेकपाको मोडल जस्तै बाबुराम भट्टराई र उपेन्द्र यादव दुईजना अध्यक्ष रहने गरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाईएको छ ।
यसअघि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नै अध्यक्षको दावी गरेको कारण कुरा मिलेको थिएन तर अहिले महाधिवेशनसम्मका लागि दुवैजना अध्यक्ष रहने विषयमा छलफल भइरहेको बताइएको छ ।
फोरम नेपालको चुनाव चिन्ह ‘मसाल’ लिएर नयाँ शक्ति पार्टीले स्थानीय तहको दुई चरणको निर्वाचनमा भाग लिएको थियो । एकीकरण अन्तिम चरणमा पुगिसकेको अवस्थामा नेतृत्वमा कुरा नमिल्दा चुनावपछि पुनः छलफल गर्ने गरी वार्ता स्थगित भएको थियो ।नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले निर्वाचनमासँगै सहकार्य गरेकाले दुईबीच एकता हुने सम्भवाना बढेर गएको छ ।

फोरम नेपालले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समिति र नयाँ शक्तिले नवराज सुवेदीको संयोजकत्वमा गरेको राजनीतिक संवाद समितिबीच छलफल भएको नयाँ शक्ति नेपालका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताउनुभयो । ‘अब नयाँ ढंगबाट छलफल अगाडि बढेको छ,उहाँले भन्नुभयो,‘यसअघि भएका वार्ता छलफल भरपर्दो भएको थिएन । पार्टीको तर्फबाट जसरी जबर्जस्त रुपमा कुराहरु राख्नुपर्ने थियो, त्यतिबेला त्यसरी राख्न सकेको थिएन ।’

त्यतिबेला वैचारिक र पार्टीको सांगठनिक संरचनाको बारेमा त्यति खुलस्त रुपमा कुराकानी नभएको नेता श्रेष्ठको दावी छ । राजपा नेपालभन्दा पहिले नयाँ शक्तिसँग एकीकरण हुने सम्भावना बढेको फोरम नेपालका एक नेताले बताउनुभयो । राजपा नेपालसँग अहिले पत्र मात्र आदानप्रदान भएको छ, अझै औपचारिक वार्ता हुने कुनै सम्भावना देखिएको छैन तर यता नयाँ शक्तिसँग औपचारिक वार्ता अगाडि बढिसकेको छ ।

फोरम नेपालका सहमहामन्त्री एवं वार्ता समितिका सदस्य समेत रहेका प्रकाश अधिकारीले भन्नुभयो, हामीले एकताका लागि विभिन्न दलसँग वार्तालाई अगाडि बढाएसँगै नयाँ नेपालसँग पनि छलफल शुरु भएको छ तर अहिले कुनै उपलब्धि भइहालेको चाहिँ छैन ।’ छलफल थुप्रै पार्टीहरुसँग भइरहेको बताउँदै उनले निष्कर्ष निस्केपछि मात्र केही भन्न सकिने बताउनुभयो ।
मंसिरमा बसेको फोरम नेपालको केन्द्रीय समितिको बैठकले राजपा नेपाललगायत अन्य दलहरुसँग एकताका लागि वार्ता समिति गठन गरेको थियो । समितिले पुस १९ गते तयार पारेको पत्र राजपा नेपालले फागुन १० गते प्राप्त गरेको थियो ।

राजपा नेपालले सो पत्रको जवाफ फागुन ३० गते पठाएको थियो । सो पत्र फोरम नेपालले प्राप्त गरेपछि त्यसको जवाफ चैत ६ गते पठाएको थियो । राजपा नेपालले वार्ताका लागि पहिलो शर्त सरकार छाड्नुपर्ने राखे भने फोरम नेपालले पार्टी एकतापछि मात्र सरकार छाड्ने–नछाड्ने निर्णय हुने जवाफ पठाएको थियो । यद्यपि पत्र हेर्दा दुवै पक्ष वार्ताका लागि तयार रहेको देखिएका छन् । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले भन्नुभयो, ‘पत्र आदान–प्रदान भएको छ, अब छिट्टै नै औपचारिक छलफललाई अगाडि बढाउँछौं ।’ राजपा नेपालले अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति गठन गरेको छ ।  

यसअघि पनि यस्तै भएको थियो । २०७२ सालमा एकताका लागि फोरम नेपाल, तत्कालीन तमलोपा र सद्भावना पार्टीसँग छलफल गरिरहेको थियो । त्यतिबेला एकता अन्तिम चरणमा पुगेको थियो । तर फोरम नेपालले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालसँग २०७२ जेठ ३२ गते एकीकरणको घोषणा गर्यो । यसपटक पनि त्यही हुने सम्भावना बढेको छ । एकताका लागि राजपा नेपालसँग वार्ताको प्रकृया अगाडि बढाएको छ तर नयाँ शक्तिसँग पहिला एकीकरण हुने सम्भावना बढ्दै गइरहेको देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस