विप्लव समूहका पूर्वी क्षेत्र कमान्डर विरहीको खोजी गर्न चितवनमा केन्द्रदेखि प्रहरी

बुधबार, १३ चैत्र २०७५, १२ : १७
विप्लव समूहका पूर्वी क्षेत्र कमान्डर विरहीको खोजी गर्न चितवनमा केन्द्रदेखि प्रहरी

भरतपुर । विप्लव समूहका पूर्वी क्षेत्र कमान्डर अनिल शर्मा विरहीको खोजीमा प्रहरी लागेको छ । उनी गृह जिल्ला चितवनमै रहेको सूचना प्रहरीले पाएपछि उनको खोजी व्यापक पारिएको हो । विरहीलाई खोज्न प्रहरी हेडक्वार्टरबाट समेत टोली परिचालन भएको बुझिएको छ ।

विप्लवका मध्य क्षेत्रका कमान्डर हेमन्तप्रकाश ओली, पश्चिम र सुदूरपश्चिमका कमान्डर धर्मेन्द्र बास्तोला र पूर्वी क्षेत्रका कमान्डर विरही रहेका छन् । ओली गत हप्तामात्रै काभ्रेमा पक्राउ परिसकेका छन् । ओलीको पक्राउपछि विरही पनि चितवनमा नै रहेको सूचनाका आधारमा प्रहरीले भरतपुरआसपासमा खोजिरहेको छ ।

ओलीको पक्राउपछि विप्लवका केही नेता भारततर्फ लागेको भन्ने सूचना भए पनि विरही भने चितवनमै लुकी बसेको भन्ने सूचना प्रहरीले पाएपछि उनको खोजीमा प्रहरीले तीव्रता दिएको जनाएको छ ।
नेत्रविक्रम चन्द विप्लवको सबैभन्दा निकट रहेर विरहीले काम गरिरहेको भनी राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशन भएको थियो । तत्कालीन माओवादी पार्टी विभाजन हुँदा वैद्य समूहमा रहेका विरही पछि विप्लव समूहमा गएका हुन् । विभिन्न पत्रपत्रिकामा लेखरचना निरन्तर प्रकाशन गर्दै आएका उनको केही महिनादेखि रचनाहरु प्रकाशितसमेत भएका छैनन् ।

चार जनाले छाडे पार्टी

देशभर विप्लव समूहका नेता तथा कार्यकर्ताहरु धमाधम पक्राउ परिरहँदा चितवनमा ४ जनाले मंगलबार विज्ञप्ति जारी गरी राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १० का इन्चार्ज मधु क्षेत्री, नगर सदस्यहरु रामप्यारी श्रेष्ठ, राजकुमार विक र श्रमनाथ पण्डितले राजीनामा दिएका हुन् । विप्लव समूहका ६ जना जिल्ला तहका नेता तथा कार्यकर्ता पक्राउ गरी चितवन प्रहरीले मुद्दा चलाएको छ । दुई दिनअघि थप २ जना पक्राउ परेको र अनुसन्धान चलिरहेको चितवन प्रहरी प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले बताए । उनीहरुविरूद्ध संगठित अपराध, बम विस्फोट र आगजनीजस्ता गम्भीर प्रकृतिका मुद्दा चलाइएको छ ।

अन्यसरह व्यवहार

चितवन प्रहरीले हिरासतमा राखेका विप्लव समर्थक सबै नेता तथा कार्यकर्तालाई अन्य थुनुवासरह नै व्यवहार गरिएको जनाएको छ । थुनामा रहेकाहरुले पनि आफूहरुमाथि प्रहरीबाट कुटपिट तथा अन्य ज्यादती नभएको बताएका छन् । परिवार र आफन्तलाई पनि सहजै भेट्ने वातावरण रहेको उनीहरुको भनाइ छ । उनीहरुका गतिविधिबारे सामान्य सोधपुछ भएको तर मानवअधिकारविरोधी कुनै पनि काम नभएको प्रहरीको भनाइ छ ।

डाक्टरसँग चन्दा

केही समयअघि चितवनमा जनप्रतिनिधिसँग चन्दा मागेका विप्लव कार्यकर्ताले अहिले डाक्टरहरुसँग चन्दा माग्न थालेको बुझिएको छ । भरतपुरमा धेरै संख्यामा डाक्टरहरु रहेको र उनीहरुले चन्दा पनि दिने भएकाले डाक्टर केन्द्रित गरी चन्दा मागिएको हो । आफूहरुसँग चन्दा मागेको बताए पनि दिए÷नदिएको भन्नेबारे डाक्टरहरुले सुरक्षाका कारण देखाउँदै सार्वजनिक गर्न चाहेनन् ।

नवलपरासीबाट जनपरिषद् प्रमुख पक्राउ

त्यसैगरी नवलपरासी प्रहरीले विप्लव नेतृत्वको नेकपाका गतिविधि रोक्न जिल्लामा सक्रियता बढाएको छ । सोमबार रातिमात्रै पूर्वी नवलपरासीमा एक जना र पश्चिम नवलपरासीमा एक जना गरी दुई जना जिल्लास्तरका नेताहरुलाई पक्राउ गरेलगत्तै मंगलबार दिउँसो पूर्वी नवलपरासीको जनपरिषद् प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जिल्लामा विप्लवका गतिविधि रोक्नका लागि सुरक्षा सतर्कता बढाएको बताए । उनले भने, ‘हामीले सम्भावित क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाएका छौँ, उनीहरुको कुनै पनि गतिविधि हुन नदिनका लागि हामीले सक्रियता बढाएका हौँ ।’

प्रहरीले सोमबार राति विप्लवको नेकपाका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र नवलपुरका जिल्ला सदस्य धनबहादुर मर्द्नियालाई पक्राउ गरेको थियो भने मंगलबार नवलपुरका जनपरिषद् प्रमुख दानबहादुर आचार्यलाई पक्राउ गरेको हो ।

यसैबीच, फागुन २९ गतेको बन्दमा नवलपरासीको सरावलमा दुईवटा ट्रकमा आगजनी गरेको अभियोगमा सुमन ज्ञवालीलाई मुद्दा चलाई कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ । चितवन पोष्ट
 

प्रतिक्रिया दिनुहोस