पार्टीभित्र गुट हुनु स्वाभाविक हो : नेता कोइराला

आइतबार, १० चैत्र २०७५, १२ : ३०
पार्टीभित्र गुट हुनु स्वाभाविक हो : नेता कोइराला

चितवन । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ । 

नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।” 

नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँछ भन्नुभयो । 

गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताउनुभयो । 

नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताउनुभयो । 

काङ्ग्रेसकी नेत्रीद्वय सीता गुरुङ र डा डिला सङ्ग्रौलाले काङ्ग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताउनुभयो । 

काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइराला लगायतले पार्टीको संस्थागत विकासमा जोड दिनुपर्ने बताउनुभयो । - रासस

प्रतिक्रिया दिनुहोस