द्वन्द्वको घाउ बल्झाउन नहुनेमा जोड

शनिबार, ०९ चैत्र २०७५, १० : ३६
द्वन्द्वको घाउ बल्झाउन नहुनेमा जोड

गोरखा  । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका घटनालाई बल्झाएर पीडितलाई थप पीडा दिन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । सदरमुकाममा ‘चहराइरहेका घाउ’ वृत्तचित्र प्रदर्शनी कार्यक्रमका सहभागी द्वन्द्वपीडितले द्वन्द्वका बेला भएका घटनालाई उठाएर मतभेद सिर्जना गर्नुभन्दा पीडितलाई न्याय दिनेतर्फ सबै पक्ष लाग्नुपर्ने बताए । 

द्वन्द्वका बेला आफन्त गुमाएका, बेपत्ता भएका, घाइते तथा विभिन्न यातना भोग्न बाध्य द्वन्द्व पीडितले पीडा सबैको एउटै किसिमको हुने भएकाले न्यायका लागि सबै द्वन्द्व पीडित एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए । “अब विगततिर फर्किएर मात्र हँुदैन”, द्वन्द्वका बेला घाइते हुनुभएका गण्डकी गाउँपालिका–७ का अङ्कुर तिमल्सिनाले भन्नुभयो, “सबैका समस्या उस्तै छन् । हामीलाई देखाएर घाउ बल्झाउने काम मात्र भयो, मिलेको मनमा फेरि फाँटो ल्याउने काम कसैले गर्नुहँुदैन ।” 

तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबाट मानवअधिकार हननका जघन्य घटना भएकाले सरकारले सही ढङ्गले सम्बोधन गर्नुपर्नेमा पीडितले जोड दिए । “समाजमा घृणा र आवेग सिर्जना गराउनु हुँदैन”, तिमिल्सनाले भन्नुभयो । द्वन्द्वका बेला भएका घटनाको छानबिन र सत्यतथ्य पत्ता लगाउन गठित आयोगलाई सक्रिय बनाउनुपर्ने उहाँको भनाइ छ । “द्वन्द्व पीडितका परिवारका लागि रोजगारी र परिचयपत्र आवश्यक छ”, उहाँले भन्नुभयो । 

द्वन्द्व पीडित विलास भट्टराईले आफूले चार वर्षसम्म विभिन्न यातनासहित जेलनेल भोग्नुपरेको भए पनि अहिले पीडा बिर्सिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पीडा सबैलाई भएको छ्, दोष जति सबै अरुलाई देखाएर आफू निर्दोष बन्ने परिपाटी बन्द हुनुपर्छ ।” यस्तै सिरानचोक गाउँपालिका–४ छोप्राककी शारदा घिमिरे स्थानीय सरकारले भन्दा पनि सङ्घीय सरकारले नै द्वन्द्व पीडितको घाउमा मलमपट्टी लगाउने खालका कार्यक्रम ल्याउनुपर्ने बताउनुहुन्छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस