पल रिनकन
विज्ञान सम्पादक, बीबीसी न्यूज वेबसाइट, द वुडल्याण्डस्, टेक्सस
नासाका अनुसार पृथ्वीको वायुमण्डलमा गत डिसेम्बरमा एउटा ठूलो उल्का विस्फोट भएको थियो।
उक्त विस्फोट ३० वर्षयता त्यस्तो प्रकारको दोस्रो ठूलो प्रकृतिको हो र ६ वर्षअघि रुसको चेल्याविंस्कमाथिको आकाशमा भए यताको सबैभन्दा ठूलो।
तर रुसको कामचात्का प्रायद्वीपको तट पारी बेरिङ सागरमाथि विस्फोट भएको हुनाले त्यसप्रति अहिलेभन्दा अघि धेरैको ध्यान गएको थिएन।
उक्त अन्तरिक्ष चट्टान विस्फोट हुँदा त्यसबाट निस्केको उर्जा हिरोसिमा परमाणु बमबाट निस्केको भन्दा १० गुणा बढी थियो।
नासाका ग्रह प्रतिरक्षा अधिकारी लिन्डले जनसनले बीबीसी न्यूजलाई भनेका छन्, यति ठूलो आकारको उल्का विस्फोट प्रत्येक १ सय वर्षमा दुई वा तीनपटक मात्र हुने अनुमान गरिन्छ।
हामीलाई के थाहा छ?
१८ डिसेम्बरको स्थानीय समय अनुसार मध्यान्हको समयमा, एउटा क्षुद्रग्रह ३२ किलोमिटर प्रति सेकेण्डको वेगमा सात डीग्रीको कोणबाट वायुमण्डलमा प्रवेश गरेको थियो।
केही मिटरको आकार भएको उक्त उल्का पृथ्वीको सतहभन्दा २५ दशमलव ६ किलोमिटरमाथि विस्फोट हुन पुगेको थियो र त्यसबाट निस्केको उर्जा १ सय ७३ किलोटन थियो।
"त्यो चेल्याविंस्क घटनामा उत्सर्जन भएको उर्जाको ४० प्रतिशत मात्र हो, तर त्यो बेरिङ सागरमाथि भएकोले त्यसबेलाको जस्तै प्रभाव त्यसले पार्न सकेन र समाचारहरूमा त्यसको चर्चा भएन," नासाको पृथ्वी नजिकका बस्तुहरू निरीक्षण कार्यक्रमकी केली फास्टले बताइन्।
"हाम्रो ग्रहमा पानीको मात्रा प्रशस्तै छ, त्यो हामीसंग उपलब्ध प्रतिरक्षाको अर्को व्यवस्था हो।"
टेक्ससको ह्युस्टन नजिकैको द उडल्याण्डस् आयोजित चन्द्र र ग्रह विज्ञान सम्मेलन, ५० औं लुनार एण्ड प्ल्यानेटरी साइन्स कन्फेरेन्समा भएको छलफलका क्रममा डाक्टर फास्टले यसबारे जानकारी दिएकी हुन्।
सैनिक भूउपग्रहहरूले गत वर्ष उक्त विस्फोटबारे थाहा पाएका थिए; नासालाई उक्त घटनाका बारेमा अमेरिकी हवाई सेनाले जानकारी गराएको थियो।
डाक्टर जनसनले उक्त आगोको विशाल डल्लो उत्तर अमेरिका र एसियाबीच व्यापारिक उडानहरू हुने बाटोदेखि नजिकैको क्षेत्रमा प्रवेश गरेको बताइन्।
त्यसैले अनुसन्धानकर्ताहरूले उक्त घटना कसैले देखेको थियो की भन्ने बारे जानकारी प्राप्त गर्न विमानसेवाहरूसँग सोधखोज गर्दैछन्।
त्यसको महत्त्व के होला?
सन् २००५ मा, अमेरिकी कंग्रेसले नासालाई सन् २०२० सम्ममा पृथ्वी नजिकका १ सय ४० मिटर वा त्यो भन्दा ठूलो आकारका क्षुद्रग्रह कति छन् भनेर पत्ता लगाउने जिम्मा दिएको थियो।
यी आकारका अन्तरिक्ष चट्टानलाई "राहदानी विनाका समस्याहरू" पनि भनिन्छ किनभने तिनीहरू पृथ्वीमा ठोक्किएमा त्यसबाट ठूलो क्षेत्रमा असर पर्न सक्ने अनुमान गरिएको छ।
तर वैज्ञानिकहरूले कंग्रेसले दिएको यो निर्देशन पूरा गर्न नासालाई अर्को ३० वर्ष लाग्ने आकलन गरेका छन्।
एकपटक पृथ्वीतर्फ आउँदै गरेको वस्तुको पहिचान भएपछि, त्यसको कक्षको सही निर्धारणको आधारमा त्यो पृथ्वीमा कता ठोक्किन्छ भनेर आकलन गर्नमा नासाले केही उल्लेख्य सफलता हासिल गरेको छ।
सन् २०१८ को जुन महिनामा, एउटा सानो ३ मिटरको क्षुद्रग्रह २०१८ एलएलाई त्यो पृथ्वीमा ठोकिन सक्ने अनुमानित समयको ८ घण्टाअघि नै एरिजोनामा रहेको स्थलगत बेधशालाले पत्ता लगाएको थियो।
नासाको जेट प्रोपल्सन ल्याबोरेटरीस्थित सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिजले त्यसपछि उक्त छुद्रग्रहको कक्षको सटिक निर्धारण गरेको थियो।
त्यसको प्रयोग गरेर पृथ्वीमा असर पर्न सक्ने सम्भाव्य क्षेत्र पत्ता लगाउने गणना गरिएको थियो।
र, उक्त अन्तरिक्ष चट्टान दक्षिणी अफ्रिकामा खस्ने देखिएको थियो।
उक्त गणनाले सुझाए जस्तै, बोत्स्वानाको आकाशमा उक्त उल्का विस्फोट भएको दृश्य त्यहाँको एउटा खेतमा रहेको सुरक्षा क्यामराले खिचेको थियो। उक्त अन्तरिक्ष चट्टानका अवशेषहरू पछि त्यस क्षेत्रमा फेला परेका थिए।
निरन्तर अनुगमन कार्य कसरी सुधार्न सकिन्छ?
बेरिङ सागरमाथि भएको हालैको घटनाले अन्तरिक्षबाट ठूला पिण्डहरू विना जानकारी पृथ्वीसंग ठोक्किन आइपुग्छन् भन्ने देखाएको छ।
र, यसले तिनीहरूको निगरानीको व्यवस्थामा अझ सुधार गर्नुपर्ने आवश्यकतामा झन् बल पुर्याएको छ।
त्यस्तो एउटा सुदृढ नेटवर्क पृथ्वीमा रहेका टेलिस्कोपहरूमा मात्र नभइ अन्तरिक्षमा रहेका वेधशालाहरूमा समेत निर्भर रहनुपर्ने हुन्छ।
हाल विकास गरिँदै गरिएको एउटा काल्पनिक परियोजनामा निओक्याम नाम दिएको एउटा टेलिस्कोपलाई अन्तरिक्षमा गुरुत्वाकर्षणको सन्तुलन विन्दू रहेको स्थानमा प्रक्षेपण गरिनेछ र त्यहाँबाट उक्त टेलिस्कोपले १४० मिटरभन्दा ठूलो आकारका खतरनाक छुद्रग्रहहरूलाई पत्ता लगाउने र तिनीहरूको गुणको विश्लेषण गर्नेछ।
जेपीएलस्थित निओक्यामका प्रमुख वैज्ञानिक डाक्टर एमी मेइन्जर भन्छिन्, "कंग्रेसले नासालाई दिएको निर्देशन अनुसार पृथ्वी नजिकका १ सय ४० मिटर वा त्यो भन्दा ठूला क्षुद्रग्रह पत्ता लगाउने जुन लक्ष्य छ सम्भव भएसम्म त्यसको ९० प्रतिशतसम्म पुग्ने हाम्रो उद्देश्य हो।"
उनले यदि त्यस्तो परियोजना वास्तविक रुपमा नै शुरु हुन सकेन भने "हाल उपलब्ध जमिनमा आधारित रहेर गरिने सर्वेक्षणहरूको भरमा त्यस्तो उद्देश्य हासिल हुन दशकौं लाग्न सक्ने" विभिन्न आकलनहरूले देखाउँछन्।
डाक्टर मेइनजरले थपिन्: "तर यदि तपाईँसँग इन्फ्रारेडमा आधारित टेलिस्कोप छ भने, यो प्रक्रिया निकै छिटो अघि बढ्न सक्छ।"
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०७ चैत्र २०७५, १५ : ००
लेखकबाट थप