विप्लवका जीवन्त कोठाबाटै गिरफ्तार

सफल खबर संवाददाता

शनिबार, ०२ चैत्र २०७५, ११ : ५४
विप्लवका जीवन्त कोठाबाटै गिरफ्तार

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त)लाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले ललितपुर च्यासलस्थित कोठाबाटै शुक्रबार साँझ गिरफ्तार गरेको हो ।
औषधी लिन डेरामा पुगेका बेला बाटो कुरेर बसेको प्रहरीले उनलाई गिरफ्तार गरेर लागेको उक्त पार्टीका एक नेताले संचारकेन्द्रलाई जानकारी दिए । सुगर रोगले पीडित कार्की औषधी लिन भन्दै डेरामा जानासाथ सादा पोशाक र ड्रेसमा गएका प्रहरीले पक्राउ गरेर लगेको पारिवारिक स्रोतले जनाएको छ । उनलाई गिरफ्तार गरेर कहाँ राखिएको छ भन्ने बारेमा प्रहरीले केहि जानकारी दिएको छैन । यता ललितपुर प्रहरीले भने उनलाई पक्राउ गरिएकोबारे कुनै जानकारी दिएको छैन । बिनाकारण प्रहरीले समातेर बेपत्ताजस्तै बनाएको भन्दै रिहाइको पहल गरिदिन उनको घरपरिवारले आम पत्रकार, मानवअधिकारकर्मी र नागरिक समाजलाई आग्रह गरेको छ । 
केहिदिन अघि मात्रै नेकपामाथि प्रतिबन्ध लगाएको सरकारले उक्त पार्टीका नेता कार्यकर्तामाथि व्यापक धरपकड र गिरफ्तारी बढाएको छ ।  सरकारले गिरफ्तारको पुरानै श्रृंखलालाई पुनः दोहोर्याउन थालेको छ । नेकपाका नेता कार्यकर्तालाई विभिन्न अभियोगमा गिरफ्तार गरेर हिरासतमा राख्ने र अदालतले निर्दोष साबित गरेर रिहा गर्न आदेश दिँदा पनि फेरी गिरफ्तार गर्न थालेको छ । गत बुधबार अछाम जिल्ला अदालतलको आदेशमा रिहा भएकी नेकपा नेतृ तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई रिहालगत्तै अदालत परिसरबाट सशस्त्र रुपमा तैनाथ प्रहरीको टोलीले पुनः गिरफ्तार गरेको छ । चन्दलाई माघ १ देखि शुरु भएको पार्टीको २ महिने केन्द्रीय कार्यक्रम संगठन सृदृढ तथा विस्तार अभियानमा सहभागी भइरहेको बेला माघ ११ गते अछामको पुल्लेतोलाबाट प्रहरी गिरफ्तार गरी हिरासतमा राख्दै आएको थियो ।
मंगलबार उनलाई अदालतले रिहा गर्न आदेश दिएकोमा परिसरबाटै प्रहरीले गिरफ्तार गरी हिरासतमा पुर्याएको छ । प्रहरीले चन्दलाई गिरफ्तार गर्नुको कारण भने खुलाएको छैन । माथिको आदेश भन्दै उनलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ। मंगलबारदेखि नेकपामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको सरकारले गत साउन–भदौ महिनामा पनि नेकपा नेता कार्यकर्तालाई पटकपटक अदालतले रिहा गर्न आदेश दिए पनि पक्राउ गर्दै आएको थियो । त्यो शृंखला केहि समय रोकिएपनि सरकारले पुनः दोहोर्याएको छ । काठमाडौंबाटै गिरफ्तार परेका सुर्य भुजेल पनि प्रहरी हिरासतमै छन् ।

प्रतिक्रिया दिनुहोस