एक वर्षमा सरकारले धेरै काम गरेको छ : खानेपानी मन्त्री मगर

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०७५, १८ : ३१
एक वर्षमा सरकारले धेरै काम गरेको छ : खानेपानी मन्त्री मगर

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले खेलकुदलाई मौलिक अधिकारका रूपमा स्वीकार्नु पर्ने बताउनुभएको छ ।
कञ्चनपुरको पुनर्वासमा आयोजना भएको छैठौं लालझाडी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले सो कुरा बताउनुभएको हो । खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै लिन नहुने बताउँदै उहाँले खेलकुद क्षेत्रले समग्र राष्ट्रको पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 
विकासको काम सँगसँगै सरकार खेलकुद, स्वास्थ्य र शिक्षा क्षेत्रलाई पनि बढी प्राथमिकता दिएर अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले केन्द्रबाट केही नीतिगत कार्यहरू गर्दा प्रदेश र स्थानीय तहमा काम गर्न समस्या देखिएपनि त्यो समस्या छिटै समाधान हुने बताउनुभयो । 
मन्त्री मगरले संविधान विरोधी र संघीयता असफल पार्न खोज्नेहरुका गतिविधि निष्तेज पार्न सरकार दृढ रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “ यो वर्ष संघीयता कार्यान्वयनको वर्ष भएकाले सरकार त्यसका लागि लागिरहेको छ । सरकारले केही काम नै गरेन भन्ने दुष्प्रचार भईरहेको छ । त्यस्तो होईन, सरकारले कानुन बनाउनुपर्ने, संघीयता कार्यान्वयन गर्नुपर्ने र विकासका कामहरु गर्नुपर्ने भएकाले तत्काल नदेखिएको हुन सक्छ तर सरकारले एक वर्षमा धेरै काम गरेको छ ।”   
उहाँले सरकारका काम कारवाही रफ्तारमा अघि बढिरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले जनताका मागहरू धेरै भएकाले कामहरू अझै गर्न बाँकी रहेको बताउनुभयो । 
बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले बेलौरी नगर शुरुवाती चरणमा रहेकाले नगरमा कार्य गर्न धेरै रहेको बताउनुभयो । ऐन कानुन निर्माणमा भएको ढिलाईले गर्दा बेलौरी नगरले चाहेर पनि विकास निर्माणका कार्यहरू गर्न नसकिरहेको नगर प्रमुख चौधरीको भनाई छ ।
प्रतियोगिता उद्घाटन कार्यक्रम शुरु हुनु भन्दा पहिले खानेपानी मन्त्री मगरलाई क्लबद्धारा स्वागत गरिएको थियोे । चैत १ गतेबाट शुरु भएको फुटबल प्रतियोगिता चैत्र ११ गते सम्पन्न हुनेछ । 

प्रतिक्रिया दिनुहोस