चितवन । नेपाली चलचित्र जगतमा फरक शैलीको चलचित्र बनाउने निर्देशकको पहिचान बनाएका छन् मनोज पंडितले । पछिल्लो पटक उनले निर्देशन गरेको चलचित्र खाग देशभरका हलहरुमा प्रदर्शन भइरहेको छ । एउटा वास्तविक कथा कमलजंग कुँवरको ‘गैंडालाई चार वर्ष’ किताब पढेपछि उनले यही कथालाई फिल्म बनाउने निधो गरे ।
आज फिल्म तयार भएर दर्शकमाझ पुगिसकेको छ । दासढुंगा, बधशाला, ग्रेटर नेपाल, छायालगायतका फिल्म पस्केका निर्देशक पंडितको पछिल्लो चलचित्र खागबारे यसो भन्छन्–
विभिन्न किताबहरुको अध्ययन गर्ने क्रममा मलाई कमलजंग कुँवरको गैंडालाई चार वर्ष नामको किताब पढ्ने अवसर मिल्यो । पटक पटक राम्रोसँग अध्ययन गरें । एउटा सत्य घटना पुस्तकमा छ अनि संघर्षको कथा छ ।मनमा लाग्यो यसलाई नेपाली कथानक चलचित्र बनाउनुपर्छ । त्यही सोचअनुसार लेखक कँवरसँग भेटघाट गर्न पुगें । हामी दुबैको सोच मिल्यो । त्यही सोचले ‘खाग’ चलचित्रको जन्म भयो । आज फिल्म तयार भएको छ । दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेका छन् । फागुन २४ गतेबाट सिनेमा हलहरुमा लागिरहेको छ ।
खाग संघर्षको कथा हो । आशाको कथा हो । इमान्दारिता आफैँमा एक पृथक हो, खाग त्यही पृथकताको प्रस्तुति हो । खाग इतिहासदेखि भविश्यसम्मको हाम्रो यथार्थभित्र नायकको कठीन पनि संघर्ष हो ।
गर्न चाहे के गर्न नसकिँदो रहेनछ र ? के उपलब्धि हासिल गर्न सकिदैन र ? एउटा असल नियत भएको मानिसले आफ्नो समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने तथ्यले मलाई उत्प्रेरणा मिलेको हो । त्यही उत्प्रेरणाले फिल्म निर्माण गर्न पुगेको हो । इमान्दारी ठूलो शक्ति हो भन्ने तथ्य किताबमा पाएँ र पर्दामा देखाउन सकेँ । सबैको स्याबासी मिलिरहेको छ ।
चलचित्र हेरिसकेपछि यस्तो पनि सरकारी कर्मचारी हुन्छन् त भन्ने प्रतिकृया अवश्य आउँछन् । धेरैले पत्याउन सक्ने छैन । अतिरन्जना पनि भन्नु हुनेछ । तर, सबैले प्रमुख पात्रको संघर्षलाई सम्मान गर्नु भएको छ । आफ्नो काममा जिम्मेवार इमान्दार मान्छेको कथा हो । अलि गहिराइमा, यस फिल्मले सत्ता किन मानिसलाई दास बनाएर आफ्ना लागि फाइदा लुटिरहेको छ भन्ने प्रश्न छ । हामी किन गैँडालाई मार्दैछौँ भन्ने प्रश्न छ ।
यो भूगोलमा मेरो जति अधिकार छ, अर्को जनावरको पनि त्यत्ति नै अधिकार छ नि त । यो संरक्षणको मात्र होइन, सिङ्गो मानव सभ्यताकै सवाल हो । यो फिल्म किताबभन्दा अलि बढी छ ।इमान्दार भई बाँचेर पनि समाजलाई योगदान दिन सक्छौँ है भन्ने हिसाबले यो फिल्म बनाएँ ।
मैले किताब सारेको होइन, त्यसबाट प्रभावित भएको मात्र हुँ । मैले फिल्म बनाउन किताब मात्र पढिनँ, अनुसन्धानका सिलसिलामा विभिन्न मान्छेसँग घुलमिल पनि गरेँ । लामो अध्ययन गरे र पो आज सफल भएको छु । यो कमलजङ्ग कुँवरको मात्र कथा होइन, एउटा इमान्दार मान्छेले गर्ने संघर्षको कथा हो ।
विश्वसनीयता, यथार्थता, सरलता र निस्पक्षेताका साथ कथा चलचित्रमा रुपान्तरण गर्न मेरा लागि सबभन्दा ठूलो चुनौती बन्यो, तर मैले ती चुनौती पार गर्न सकेको अनुभव भइरहेको छ ।
म समाजमा समस्या देख्छु, इतिहासमा समस्या देख्छु र मानिसका जीवनमा समस्या देख्छु । मेरो चिन्ता ती समस्याहरुले मानव सभ्यतालाई बन्धक बनाउने छ भन्ने हो । म समस्या समाधान गर्न सक्ने गरि भूमिका निभाउन चाहन्छु । त्यसकारण, समस्याहरुलाई पर्दामा ल्याउन प्रयत्न गर्दछु ।
समस्यालाई प्रथामिकता दिनु मेरो नियत हो र चलचित्रमार्फत म त्यही गरिरहेको छु, फरक त्यति हो ।एउटा मान्छेले सबै कुरा त्यागेर आफ्नो उद्देश्यका लागि संघर्ष गर्छ भने त्योजस्तो नायकत्व अरू के हुन्छ र ? समाजले अनि सिनेमाले नायक खोजिरहेको हुन्छ र यो कथामा त्यो पाइन्छ । मैले एउटा संघर्षलाई पर्दामा ढालेको छु, जसले सबैलाई संघर्ष गर्न सिकाउँछ । हिजोका दिनहरूमा मैले बनाएका सिनेमामा निराशाजनक प्रश्न थिए । यो आशावादी प्रश्न हो ।
वास्तवमा खाग राष्ट्रियताको कथा हो । यो कमलजंग कुँवरको लडाइँ होइन, राष्ट्रको लडाइँ थियो । यो संघर्षले नेपाललाई प्रतिनिधित्व गर्छ ।
प्रतिक्रिया दिनुहोस