सिके राउतले हामीलाई फसाएपनि मुलुक जोगाउने एक से एक उहाँहरू हुनुहुन्छ : विष्णु रिमाल

सफल खबर संवाददाता

सोमबार, २७ फागुन २०७५, १५ : ५५
सिके राउतले हामीलाई  फसाएपनि मुलुक जोगाउने एक से एक उहाँहरू हुनुहुन्छ : विष्णु रिमाल

काठमाडौं । शुक्रवार स्वतन्त्र मधेशको अभियान चलाउँदै आएका सीके राउत र सरकारबीच ११ बुँदे सहमति भएपछि अहिले राजनीति तरंगित बनेको छ । 

सहमतिलाई लिएर सत्तारुढ दल नेपाल कक्युनिष्ट पार्टीभित्रैबाट विरोध शुरु भएको छ । यही क्रमा प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले आलोचनालाई कडा जवाफ दिएका छन् । 

उनले ट्वीटरमार्फत आफूहरुले गल्ती गरेपनि, फसेपनि, फसाइएपनि केही नहुने भन्दै मुलुकको चिन्ता लिनेहरु ‘उहाँहरु’ हुनुहुन्छ भन्दै आलोचना गर्नेहरुप्रति खनिएका छन् । ‘नेताहरू झुक्किए, फसे वा फसाइए, या तिनिहरूले गल्ती नै गरे पनि कोइवात छैन– हामी धन्य छौं’ रिमालले कटाक्ष गर्दै भनेका छन्, ‘मुलुक जोगाउने एक से एक उहाँहरू हुनुहुन्छ ।’

उनले आलोचना गर्नेहरुको जन्मअघि मुलुक कसरी जोगिएको रहेछ भन्दै व्यङ्ग्य पनि गरेका छन् । उनले नेकपाका नेताहरु श्रेष्ठ, रावल र शर्मालगायतप्रति लक्षित गर्दै ट्वीटरमा भनेका छन्, ‘ आङ सिरिङ्ग हुन्छ र, साह्रै आश्चर्य लागि रहेको छ, उहॉहरूको जन्मअघि यो मुलुक कसरी जोगिए छ ?’

गत शुक्रवार सरकार र सीके राउतको स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे राजनीतिक सहमति भएको थियो भने आइतवार सीके राउत जनकपुर जाँदा उनका समर्थकहरुले ‘सम्झौतापश्चात परित्याग गरिएको भनिएको ‘स्वतन्त्र मधेश’ को विखण्डनकारी नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस