आज बीसौँ भूकम्पीय सुरक्षा दिवस

मंगलबार, ०२ माघ २०७४, ०८ : ५२
आज बीसौँ भूकम्पीय सुरक्षा दिवस

वि.सं. १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ मनाउन लागिएको उक्त दिवसका अवसरमा मूल समारोह समितिले आज काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दै छ ।

कार्यक्रमअघि नयाँ सडकको जुद्ध शालिक अगाडिबाट जनचेतनामूलक भूकम्पीय सुरक्षा पदयात्रा निकालिनेछ । ०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ । दिवस मनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्ने जनाइएको छ । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लिएको थियो ।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो ।

प्रतिक्रिया दिनुहोस