सुर्खेत । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि १६ मंसिरमा हुने उपनिर्वाचनका लागि आइतबार दलहरूले मनोनयन दर्ता सुरु गरेका छन् ।
हालसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाले मनोनयन दर्ता गराएका छन् । उनीहरूले निर्वाचन कार्यालय गैडाबाजमा पुगेर मनोनयन दर्ता गराएका हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा मनोनयन गर्ने तयारी अवस्थामा रहेका छन् ।
नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा एमालेबाट जंगबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट जंगबहादुर बराल र एकीकृत समाजवादीबाट जगत हमालले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।त्यस्तै रास्वपाबाट प्रकाश बुढाले उम्मेदवारी दिएका छन् । कर्णालीका ७ वटा स्थानीय तहका विभिन्न पदमा उपनिर्वाचन हुन थालेको हो ।
दैलेखमा महाबु गाउँपालिका अध्यक्ष र दुल्लु नगरपालिकाको वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदै छ । यी दुई पदका लागि दलहरूले मनोनयन दर्ता गरेका हुन् ।
०७९ को स्थानीय तहको निर्वाचनमा महावुको अध्यक्षमा निर्वाचित कांग्रेसका लछुमन गुरुङको हृदयाघातका कारण निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । गुरुङको ७६ वर्षको उमेरमा २०७९ माघ २७ गते निधन भएको थियो ।
त्यसैगरी एमालेबाट निर्वाचित दुल्लु नगरपालिका–१३ का वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा २२ माघ २०८० गते निधन भएको थियो । कर्णालीका ७ वटा स्थानीय तहमा उपनिर्वाचन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १५ : ५७
लेखकबाट थप