प्रधानमन्त्री ओली र सिके राउतले एउटै मञ्चबाट सम्बोधन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २४ फागुन २०७५, ११ : ५७
प्रधानमन्त्री ओली र सिके राउतले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । 
सर्वोच्चको आदेशपछि हिजो मात्र रिहा भएका राउतले राष्ट्रिय सभागृहमा गर्न लागेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री अ‍ोली पनि उपस्थित हुने भएका हुन् ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओली आउने सम्भावना रहेको राउत नेतृत्वको मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले बताए । 

मधेशमा ओलीमाथि रहेको आक्रोश कम गर्न मधेश गठबन्धनको मञ्चबाट ओलीले सम्बोधन गर्न चाहेको खानले बताए । उनले भने, ‘प्रधानमन्त्री अ‍ोलीले पहिलादेखि नै मधेश गठबन्धनसँग कुरा गर्न चाहेका थिए, मधेशमा उहाँमाथि देखिएको आक्रोश कसरी कम हुन्छ त्यसलाई कम गर्न पनि सिके राउतको मञ्चबाट मन्तव्य दिन चाहेको हुनुपर्छ ।’

तर सिके राउतले लिएको स्वतन्त्र मधेशको अभियान नछाड्ने उनले बताए । उनले मधेश गठबन्धनलाई बदनाम गराउन केहीले गलत प्रचार गरेको बताए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘सिके राउतसँग एउटै मञ्चमा सम्बोधन हुन्छ कि हुँदैन थाह छैन तर प्रधानमन्त्री ओलीले राष्ट्रियसभा गृहमा राष्ट्र महत्वका विषयमा सम्बोधन गर्नुहुन्छ ।’हिजो रिहा भएका राउतलाई सरकारले एकजना सुरक्षाकर्मी पनि उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस