नेताहरुको निधनको पीडालाई अब शक्तिमा बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड

विहीबार, २३ फागुन २०७५, १८ : ४५
नेताहरुको निधनको पीडालाई अब शक्तिमा बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्यटनमन्त्री रवीन्द्र अधिकारी, नेता भरतमोहन अधिकारीको निधनबाट पाठ सिकेर उहाँहरुको सपना पुरा गर्न लाग्नुपर्ने बताउनु भएको छ ।
दिवंगत पार्टीका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी र नेता भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न आज काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै प्रचण्डले दुबै नेताहरुको निधनले ठुलो पीडा भएको भन्दै त्यो पीडालाई अब शक्तिमा बदल्नुपर्ने बताउनुभयो ।
राष्ट्रले अकल्पनिय क्षति बेहोर्नुपरेको भन्दै प्रचण्डले दिवंगत नेताका परिवारलाई पनि नेताहरुको सपना पुरा गर्न संकल्प गर्न आग्रह गर्नुभयो । मन्त्री अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा र पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको फागुन १८ गते उपचारका क्रममा निधन भएको थियो ।

उहाँले आफूहरू अहिले शोकमा भएको र दिवंगत भएकाका परिवार शोकमा भएकाले त्यो शोकलाई शक्तिमा बदल्ने बेला आएको बताउनुभयो । अध्यक्ष प्रचण्डले रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको मृत्यु ‘पहाडभन्दा ग्रहुंगो’ भएको उल्लेख गर्नुभयो । उहाँले लाखौँ जनतालाई तरंगित पार्दै भएका निधनबाट शिक्षा लिनुपर्ने बताउनुभयो।
अध्यक्ष प्रचण्डले फागुन महिना शोक र श्रद्धाञ्जलिमा बिताउनु परेको बताउनुभयो । फागुन १ गते जनयद्ध र जनआन्दोलनका सहिदहरूप्रति र त्यसपछि अन्य दिवंगतहरूको निधनमा बिताउनु परेको बताउनुभयो।

उहाँले देशको राजनितिक परिस्थितिको विशिष्ट मोडमा रहेको बताउनुभयो । ठूलो राजनीतिक अवसर छ र चुनौती सँगसँगै आएको उहाँको भनाइ थियो। लामो संघर्ष र बलिदानपछि नेपाल लोकतान्त्रिक गणतन्त्रमा पुगेको भन्दै उनले रवीन्द्र र भरतमोहनले दिएको योगदान यसमा महत्वपूर्ण रहेको बताउनुभयो।
उनीहरूले जीवन नै अर्पण गरेको उहाँको भनाइ थियो । प्रचण्डले सबै संसारबाट विदा हुनुपर्ने यथार्थ रहेको भन्दै राष्ट्र निर्माणमा लाग्न पनि आग्रह गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस