अदालतको फैसलाविरुद्ध राजपाले आन्दोलन गर्ने

विहीबार, २३ फागुन २०७५, १२ : ४३
अदालतको फैसलाविरुद्ध राजपाले आन्दोलन गर्ने

विराटनगर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 

अध्यक्ष मण्डलका सदस्य महतोले वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारू र मधेशी समुदायका असन्तुष्टि रहेको बताउँदै अधिकार प्राप्तिका लागि आन्दोलन जारी रहेको उल्लेख गर्नुभयो । 

उहाँले समान विचारधारा मिल्ने पार्टीसँग मोर्चाबन्दी गरी संविधानमा पिछडिएका जनताको अधिकार प्राप्तका लागि शान्तिपूर्ण आन्दोलन केही दिनभित्र शुरु गर्ने बताउनुभयो । 

यसैगरी अर्का अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले सांसदलाई फौज्दारी अभियोग लगाई न्याय सम्पादन गर्दा जनतामा वितृष्णा आउने बताउनुभयो । 

उहाँले मधेश आन्दोलन र थारूहट आन्दोलन छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेमा सवै सत्यतपथ्य जनताले थाहा पाउने बताउनुभयो । 
सप्तरीको मलेठको कार्यक्रमका लागि पार्टीका अध्यक्ष मण्डलका सदस्य महतो, भण्डारी र महेन्द्र राय यादव आज विराटनगर आउनुभएको हो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस