रेशम चौधरीले जन्मकैदको सजाय पाएपछि सरकारबाट बाहिरियो राजपा नेपाल

सफल खबर संवाददाता

बुधबार, २२ फागुन २०७५, १९ : ३१
रेशम चौधरीले जन्मकैदको सजाय पाएपछि सरकारबाट बाहिरियो राजपा नेपाल

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । 
आज बुधबार बसेको राजपा अध्यक्षमण्डलको बैठकले यस्तो निर्णय गरेको हो । आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसाल गरेपछि राजपा नेपाल सरकारबाट बाहिरिएको हो । 

जिल्ला अदालत कैलालीले आज बुधबार टीकापुर हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको छ ।

चौधरी माथि ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी टीकापुरमा हिंसा भड्काउने मुख्य योजनाकारको रूपमा भूमिका खेलेको अभियोग लागेको थियो ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भड्किएको हिंसामा ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । गत वर्षको प्रतिनिधि सभा चुनावमा चौधरी कैलाली-१ बाट सांसद निर्वाचित भएका थिए । टीकापुर घटनामा सजाय पाएसँगै चौधरीको सांसद पद गुम्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस