सभापति देउवा साताव्यापी जिल्ला भ्रमणमा जाँदै

बुधबार, २२ फागुन २०७५, १८ : २८
सभापति देउवा साताव्यापी जिल्ला भ्रमणमा जाँदै

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन छदिने जिल्ला भ्रमण जाने हुनुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयले पार्टी सभापति देउवा प्रदेश नं १ र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रमलाई सम्बोधन गर्न तथा कार्यकर्ता भेटघाटका लागि जाने भ्रमण तालिका सार्वजनिक गरेको छ । 

भ्रमण तालिकाअनुसार उहाँ बिहीबार बिहान विराटनगर प्रस्थान गर्नुहुनेछ । उहाँ मोरङबाट काङ्ग्रेसका तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच छलफल कार्यक्रममा सहभागी हुनुहुनेछ । सोही दिन मोरङबाट निर्वाचित सांसदसँग छलफल कार्यक्रममा सहभागी भई उहाँ काठमाडौँ फर्कनु हुनेछ । 

सभापति देउवा कार्यकर्ता भेटघाट र पार्टीका कार्यक्रममा सहभागी हुन फागुन २४ गते पोखरा प्रस्थान गर्नुहुने पार्टी कार्यालयले जनाएको छ । उहाँ फागुन २५ गते बिहान पोखराबाट हेलिकप्टरद्वारा म्याग्दीको सिंहा तातोपानी प्रस्थान गरी त्यहाँबाट सडक मार्ग हुँदै बेनीबजार जाने र त्यहाँ काङ्ग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवन उद्घाटनसभालाई सम्बोधन गर्नुहुनेछ । 

सभापति देउवा फागुन २६ गते बिहान बेनीबाट सडक मार्ग हुँदै पर्वतको जलजला गाउँपालिकाको मिलनचोक जाने र त्यहाँ काङ्ग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास गर्नुहुनेछ । सोही दिन उहाँ बाग्लुङबजार प्रस्थान गरी कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने पार्टी कार्यालयले जनाएको छ । 

फागुन २७ गते उहाँ बिहान बाग्लुङ सदरमुकामबाट पर्वतको कुश्मा जाने र काङ्ग्रेस पर्वत जिल्ला सम्मेलनलाई सम्बोधन गरी पोखरा प्रस्थान गर्नुहुनेछ । त्यसदिन पोखरामै बस्ने र फागुन २८ गते बिहान काठमाडौँ फर्कनुहुने भ्रमण तालिका पार्टीले सार्वजनिक गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस