होलबडी चेकअपका लागि पुगेका प्रधानमन्त्री ओली अस्पताल भर्ना

सफल खबर संवाददाता

बुधबार, २२ फागुन २०७५, १३ : १६
होलबडी चेकअपका लागि पुगेका प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । नियमित स्वास्थ्य जाँचको क्रममा होलबडी चेकअप गर्न अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली चिकित्सकको सुझावपछि अस्पतालमै भर्ना भएका छन् । ओली त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँच गर्न पुगेका हुन् ।

गत कात्तिकमा बिरामी परेर प्रधानमन्त्री ओली शिक्षण अस्पतालमै भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्या सिंहले भनिन्, "होलबडी चेकअप गरेर त्यसको रिपोर्ट हेरेपछि उहाँ बालुवाटार फर्कनु हुन्छ । अहिले अस्पतालमै राख्नुपर्ने गरी बिरामी हुनुभएको हैन ।"

प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले प्रधानमन्त्री ओली नियमित चेकजाँचका क्रममा बुधबार बिहान १० बजे अस्पताल गएको र चिकित्सकले बाहिर भन्दा अस्पतालमै बस्दा राम्रो हुने सुझाव दिएपछि भर्ना गरिएको जानकारी दिए । 

प्रधानमन्त्री निकटस्रोतका अनुसार पछिल्लो समय दौडधूप बढी हुँदा उनलाई थकान महसुस हुने समस्या देखिएको थियो । कुनै समस्या नरहे पनि नियमित उपचारकै लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको उपचारमा संलग्न डा। अरुण सायमीले जानकारी दिएका छन् ।

कार्यव्यस्तताको कारण प्रधानमन्त्री ओलीले स्वास्थ्य जाँच गर्न समेत भ्याएका थिएनन् । उनलाई धपेडी हुने गरी काम नगर्न चिकित्सकहरुले सुझाव दिँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस