अन्योलमुक्त हुन सकेन आजको पत्रकारिता

बुधबार, २२ फागुन २०७५, ११ : ४१
अन्योलमुक्त हुन सकेन आजको पत्रकारिता

- प्रभुनारायण बस्नेत

नेपाली पत्रकारिता यतिबेला नाजुक मोडमा खडा छ । आजसम्म हाम्रो समाजले जेलाई पत्रकारिता भनेर बुझेको थियो, त्यसको अर्थात छापामाध्यमको पत्रकारिता ठूलो संकटमा परेको छ । पत्रपत्रिकालाई एकमात्र सूचना सम्प्रेषणको साधन ठान्ने हामी अहिले त्यसको भविष्य देखेर रणभुल्लमा परेका छौं । पत्रपत्रिकाको भविष्यलाई लिएर अहिले नेपाली समाजमा गम्भीर चिन्ता उत्पन्न भएको छ । पत्रपत्रिकाको मात्र के कुरा रेडियो टिभीकै भविष्य पनि अन्यौलमा परेको छ । ‘न्यू मिडिया’ नाम दिइएको अनलाइन सञ्चारमाध्यमले अहिले पत्रकारिताका अन्य माध्यमलाई बिस्तारै विस्थापित गर्दै लाँदैछ तर यसको भविष्य पनि सुनिश्चित भइसकेको छैन । यसर्थ, अहिले सिङ्गो पत्रकारिता जगत संकटको भुमरीमा फसेको देखिन्छ ।

राणाशासन अन्त्यसँगै शुरु भएको नेपालको स्वतन्त्र पत्रकारिताले पञ्चायतकालमा अनेक दुःख, कष्ट, समस्या झेल्यो । पञ्चायतको अन्त्यपछि तुलनात्मक रुपमा केही खुकुलो वातावरण बने पनि व्यक्तिकै लगानीमा चलेका, लगानीकर्ता नै सम्पादक रहेका साप्ताहिक पत्रिकाको स्थिति २०४६ सालपछि निकै कमजोर बन्न पुग्यो । प्रजातन्त्रले ग्यारेण्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको लाभ उठाउँदै ठूला आकारका र ठूलो लगानीका दैनिक पत्रिकाले बजार पिटे । तिनको प्रभावकारिता यति डरलाग्दो देखियो कि साप्ताहिक पत्रिकालाई पत्रिका नै नठान्ने र साप्ताहिकमा काम गर्ने सञ्चारकर्मीलाई पत्रकार नै नमान्ने स्थिति बन्न पुग्यो । ठूला आकारका दैनिक पत्रिकाले आफूलाई मूलप्रवाहको दावी गरे । र तिनले साना आकारका, कम लगानीका पत्रपत्रिकाको अस्तित्व स्वीकार गर्न समेत अप्ठेरो मान्न थाले । त्यही स्थिति सर्वसाधारण, राजनीतिक क्षेत्र, व्यापार व्यवसायसँग सम्बन्धितहरुको सम्बन्धमा पनि देखियो ।

पत्रकारिताको मूल्यमान्यता, मर्म र भावना नबुझेको जमात एकाएक यो क्षेत्रमा प्रवेश ग¥यो । व्यवसायी र अदृश्य पैसा लगानी गरेर नाम, दाम दुबै सँगै कमाउने र अन्य गैरकानूनी धन्दालाई सुरक्षित गराउने एउटा जमात पत्रकारिता क्षेत्रमा पस्यो र त्यसले यो क्षेत्रमा जबरजस्त कब्जा जमायो । यसले पत्रकारितामा विकृति विसंगतिलाई ह्वात्तै बढाइदियो । हुन त पत्रकारिता क्षेत्र हिजो पनि विकृतिमुक्त थिएन, आज पनि छैन र भोलि पनि हुने छैन । यस क्षेत्रमा क्रियाशीलहरुले नै विकृति हटाएर अघि बढ्ने आँट देखाउन जरुरी छ । विकृति बढ्यो भनेर पुर्पुरोमा हात लगाएर समाधान भेट्टाउन सकिँदैन । पत्रकारिताको वर्तमान अवस्थाको सही मूल्यांकन गर्न यसको विगत बुझ्नु जरुरी छ । जंगबहादुरले भित्राएको गिद्धे प्रेसबाट नेपालको मुद्रण परम्परा शुरुवात भएको हो । पछिसम्म बनारस, कलकत्ता गएर आफ्ना केही सामग्री छपाएर वितरण गर्ने चलन निकैपछिसम्म थियो । २००७ सालको परिवर्तनपछि नेपालमै मुद्रण व्यवसाय फष्टाउन थाल्यो । केही पढेलेखेकाहरु पत्रकारिता क्षेत्रमा प्रवेश गरे । नेपालीद्वारा नेपालमै पत्रकारिता अघि बढ्ने अवस्था आयो । त्यसअघि नेपालको राजनीति र पत्रकारिता भारतमा बसेर मात्र गर्न सम्भव थियो ।

हिजो प्रविधिको समुचित विकास नभइसकेको अवस्थामा पत्रकारिता अत्यन्त कठिन काम थियो । हप्ताभरि शिशाको अक्षर टिपेर कम्पोज गर्ने, त्यसलाई मेसिनमा छाप्ने र फेरि अक्षरका लागि त्यही सामग्री डिस्पोज गर्ने र नयाँ सामग्री कम्पोज गर्नुपर्ने बाध्यता आउँथ्यो । कतिपय अक्षर पुराना भएर प्रष्ट नबुझिने, छपाईका क्रममा कतिपय अक्षर खस्ने समस्या समेत उत्पन्न हुन्थ्यो । एउटा फोटो छाप्नु प¥यो भने ‘उड ब्लक’, ‘जिंक ब्लक’ बनाएर पहिले नै तयार पार्नु पथ्र्यो । सञ्चार र यातायातको सुविधा नहुँदा समाचार संकलन र प्रकाशन गर्न अत्यन्त कठिन थियो । धेरै पत्रपत्रिकाका आफ्ना छापाखाना थिएनन् । अर्काको छापाखानामा पैसा तिरेर छाप्न समयतालिका मिलाउन कठिन पथ्र्यो । जोसुकैले पत्रिका छाप्न मान्दैनथे । प्रशासनको आँखी भइन्छ भन्ने त्रास हुन्थ्यो । राजा, राजतन्त्रको त के मन्त्री, पञ्च नेता, अञ्चलाधीश, सिडियोको समेत आलोचना गरेर पत्रिकामा समाचार छाप्ने आँट कमैले गर्थे । त्यस्तो भयो भने पत्रकारलाई थुन्ने र पत्रिकाको दर्ता खारेज गरिदिने स्थिति आउँथ्यो ।
 
नेपालको दुर्गम क्षेत्र मानिएका कर्णाली, मनाङ, मुस्ताङ, सोलुखुम्बु, ताप्लेजुङ आदि जिल्लामा कुनै पत्रिकाका प्रतिनिधि हुँदैनथे । त्यहाँका समाचार जति नै सनसनीपूर्ण भए पनि प्रकाशनमा आउँदैनथ्यो । राससका प्रतिनिधि हुने हुँदा ठूला खालका एकाध घटना रेडियो, गोरखापत्रमा आउँथे । यातायातको सुविधा नभएका जिल्लामा पत्रपत्रिका समेत पुग्दैनथे । झापा, विराटनगर, राजविराज, जनकपुर, वीरगञ्ज, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्जजस्ता यातायातको सुविधा भएका स्थानमा पत्रिका पुग्न दुई दिन लाग्थ्यो । त्यहाँको समाचार हुलाकमार्फत आउनुपर्ने हुँदा राजधानीसम्म आइपुग्न हप्ता दिनसम्म लाग्ने गथ्र्यो । तात्तातो समाचार छाप्ने, ब्रेकिङ न्यूज दिएर तत्काल सूचना सम्प्रेषण गर्ने स्थिति नै थिएन । त्यसैले त्यसबेलाको पत्रकारिता, सूचनामूलक होइन विश्लेषणात्मक खालको हुन्थ्यो । आफ्नो धारणा राखेर समाचार दिने प्रचलन नेपाली पत्रकारितामा लामो समय चल्यो । आज जस्तो इमेल, इन्टरनेटको त के कुरा टोलमा एउटा ल्याण्डलाइन टेलिफोन समेत हुँदैनथ्यो । फ्याक्स हुने पसल दिनभरि हिँडेर पनि भेट्टाइँदैनथ्यो । मोबाइल फोनको जमाना थिएन त्यो । त्यसैले महत्वपूर्ण समाचार लेखेर हुलाकबाट पठाउनु एक मात्र विकल्प हुन्थ्यो ।
 
पत्रकारिताको यो ढुङ्गेयुगको अन्त्य पञ्चायतको अन्तिम समयतिर नै भयो । कम्प्युटर टाइप गरेर अफसेट मेसिनमा छाप्ने प्रविधि २०४४ कै हाराहारीमा सुरु भयो । केही पत्रिकाले २०४६ साल अघि नै यो प्रविधि प्रयोग गरे । तर, त्यसबेला पेजमेकर थिएन । वर्डमा प्रिन्ट गरेर त्यसलाई कटिङ गर्दै पेष्टिङ गर्दैगर्दा अनेक समस्या आउँथे । एउटा समाचार अर्कोमा जोडिने अवस्था पनि आउँथ्यो । विस्तारै फोटो ब्लक बनाउने, शिशाको अक्षर टिपेर पेज तयार गर्ने समस्याबाट नेपाली पत्रकारिता क्षेत्र मुक्त हुँदै गयो ।
 
आज छपाईमा विकास भएको प्रविधिले छापामाध्यम पत्रकारितालाई सहज बनाएको छ । रेडियो, टिभीमा डिजिटल प्रविधि भित्रियो । रेडियो र टिभी पत्रकारिताप्रति मान्छेको अपूर्व आकर्षण देखा प¥यो तर यो पनि धेरै समय टिकेन । अहिले पत्रिपत्रिका, टिभी, रेडियो, जुनसुकै माध्यम र संस्थाले पनि अनलाइन संस्करण राख्नु अनिवार्य भएको छ । अब संसारकै पत्रकारिताको मूलप्रवाह अनलाइन हुने स्थिति देखिँदैछ । तत्कालै अपडेट गरिहाल्ने र अपडेट गर्नासाथ संसारभरि पुगिहाल्ने भएकाले यसको प्रभावकारिताको अरु विकल्प नै छैन ।

यो त भयो पत्रकारिताको प्राविधिक पक्ष । कुनै पनि कुराको निर्णायक पक्ष प्रविधि हुँदैन । पत्रकारिता मात्र त्यसको अपवाद बन्न सक्दैन । निर्णायक कुरा सिद्धान्त, विधि, प्रक्रिया र प्रवृत्ति हो । नेपाली पत्रकारिताको शुरुवात सिद्धान्त पढ्ने पण्डितबाट भएको होइन । २०४६ सालको आन्दोलनअघि रत्नराज्य क्याम्पसमा मात्र पत्रकारिता पढाई हुन्थ्यो । शुरुमा स्नातकबाट मात्र शुरु भएको पत्रकारिताको पठनपाठन प्रमाणपत्र तहमा पनि ओर्लियो । र बिस्तारै स्नातकोत्तरमा पनि यो विषय पढाई हुन थाल्यो । त्यसपछि पत्रकारिता पढेका विद्यार्थीहरुको यो क्षेत्रमा प्रवेश भयो । अहिले पत्रकारिताप्रतिको आकर्षण बढ्दो देखिन्छ । प्लस टुमा मास कम्युनिकेशन पढ्ने, स्नातक, स्नातकोत्तरमा पत्रकारिता पढ्नेको जमात निकै ठूलो छ । देशभित्रै चलेका बिगहाउस, विदेशी सञ्चारमाध्यममा पाउने रोजगारी आदिले त्यो जनशक्ति खपत पनि भइरहेको छ ।

अहिले बिटवाइज जनशक्ति खपत भइरहेको छ । महिला, बालबालिका बिट हेर्नेले अर्थबिट बुझ्दैन । अर्थबिट हेर्नेले क्राइम बिट थाहा पाउँदैन । आफ्नो बिट र आफ्नो काम बाहेक कुनै मतलव नहुने पत्रकारको जमात अहिले निकै ठूलो देखिएको छ । तर हाम्रो  विगत त्यस्तो छैन ।  पत्रकार भनेपछि सारा कुरा थाहा पाउनुपर्छ भन्ने हुन्थ्यो । पत्रकारले कुनै विषयमा समाचार लेख्न सकेन भने ऊ यो पेशाको काविल होइन भन्ने हुन्थ्यो । 

पत्रकारिता पढेको र अन्य क्षेत्रबाट आएका बीच अहिले नजानिदो दुरी छ । तर विगतमा पत्रकारिताको अध्ययन, तालिम, प्रशिक्षण लिनुलाई मूर्खता ठानिन्थ्यो । पञ्चायतको अन्त्यतिर खुलेको प्रेस इन्स्टिच्यूटमा तालिम लिएको पुस्ता अहिले वरिष्ठमा गनिन थालेको छ । तर त्यो पुस्ताले अंगिकार गरेको प्रवृत्तिले हाम्रो पत्रकारितालाई सही बाटोमा हिडाउनेमा ढुक्क हुन भने सकिदैन ।

पत्रकारिताको विकासका लागि आज सरकारलाई घच्घच्याउने संघसंस्थाहरु प्रशस्त छन् । पत्रकार महासंघ, आर्थिक पत्रकार समूह, अनलाइन पत्रकार संघ, फोटो, चलचित्र, वातावरण, पर्यटन जस्ता क्षेत्रसँग सम्बन्धित पत्रकारका संगठनहरु क्रियाशील छन् । त्यसबाहेक पार्टीका भातृ संगठनका रुपमा पत्रकार संगठनहरु पनि छन् । सबै पार्टीले कुनै न कुनै रुपमा आफ्नो मातहतमा काम गर्ने गरी ‘प्रेसवीङ’ गठन गरेका छन् । तर तिनको काम भने पत्रकारिताको स्वच्छता र निष्पक्षता प्रवद्र्धन गर्नु, पत्रकारितालाई आफ्नो धर्ममा चल्न मद्दत गर्नु होइन । त्यस्ता संगठन पार्टीका प्रचार संयन्त्र मात्र भएका छन् । राजनीतिक दलका गलत, असंगत र खराव कुरा ढाकछोप गर्नु, नेताका भ्रष्ट चरित्रको बचाउ गर्नु, पार्टी सम्बद्ध पत्रकार संगठनको काम भएको छ । अहिले पत्रकारितामा यही नै सबभन्दा ठूलो समस्याको रुपमा देखा परेको छ । 

पत्रकार महासंघ, प्रेस काउन्सिल आदि पत्रकारको हितको पक्षमा खडा हुनुपर्ने संस्थामा पनि चर्को राजनीतिकरण छ । कांग्रेस समर्थकले हत्याएको संस्थाले आफ्नै पार्टीको हित मात्र हेर्ने, कदाचित उसले निष्पक्ष भएर काम ग¥यो भने पनि अर्को पक्षले त्यसलाई स्वीकार नगर्ने र कम्युनिष्ट पक्षले हत्याएका संस्थाले उचित निर्णय गरे पनि कांग्रेस पक्षलाई त्यो सहज नहुने अवस्था आज छ । यस्तो स्थितिमा समग्र पत्रकारिता क्षेत्रका चुनौतीको सामना गर्न, विद्यमान समस्या र विकृति हटाउनु सहज कार्य होइन ।

यस क्षेत्रको मूल समस्या हिजो जुन थियो, आज पनि त्यही छ । प्रविधिको विकासले काम गर्न सहज भयो । पहुँचको क्षेत्र विकास भयो, सामाजिक सञ्जालले गर्दा कुनै पनि क्षेत्र अब कसैको पहुँच बाहिर रहेन । तर यो समस्याको समाधान होइन । हाम्रो सामाजको ‘मोटिभ चेञ्ज’ गराउन समाजलाई अग्रगामी दिशा दिनमा पत्रकारिताको योगदान के रहन्छ, त्यो महत्वपूर्ण कुरा हो । हो, एक्सपोजर नपाएकाले एक्सपोजर पाए, तिनको जीवनमा परिवर्तन आयो । शिक्षा, स्वास्थ्य, रोजगारीबाट वञ्चितहरुको पक्षमा पत्रकारिताले कुरो उठाउँदा लाजगाल तिनको सुनुवाई गर्नुपर्ने पनि भयो । तर यति नै पर्याप्त होइन ।

यस क्षेत्रलाई कसरी निष्पक्ष, तटस्थ र सत्यको पक्षमा खडा गर्ने भन्ने सवाल पेचिलो बनेको छ । चाहे पञ्चायतकालमा होस् वा पञ्चायत अन्त्यपछि राजनीतिक दल, नेता, मन्त्री, प्रशासकहरुले पत्रकारितालाई आफ्नो गुणगान गाउने, प्रशंसा गराउने, तिनका अपराध छोप्ने संयन्त्रका रुपमा बुझ्छन् । मन्त्रीले आफ्नो राम्रो सुन्ने चाहना कतिसम्म राख्छ भन्ने कुरा सञ्चारमन्त्री हुँदा गोरखापत्रमा आफ्नो पक्षमा छापिएको कुरालाई लिएर प्रदीप नेपालले एउटा टिप्पणी गरेका थिए । उनले भनेका थिए, गोरखापत्रले आफ्नो बारेमा (मन्त्रीको बारेमा) जुन कुरा लेख्छ, त्यो देखेर  साह्रै आनन्द लाग्दो रहेछ । अहिले मात्र होइन धेरै पहिलेदेखि आफूले खर्च गरेर केही पत्रकार पाल्ने, आफ्नो मात्र गुणगान गाउने गरी पत्रिका, अनलाइन, रेडियो, टीभी, चलाउने प्रवृत्ति हावी छ । पत्रकार पनि आफ्नो विवेक प्रयोग गरेर सत्य असत्य छुट्याएर काम गर्नभन्दा जसले आफूलाई लगानी गरिदिएको छ, त्यसैको मात्र प्रशंसामा लागिरहन्छन् । विषयगत ज्ञान भएका नभएमा हुकुमी शासनमा, लोकतन्त्रमा, कम्युनिष्ट प्रजातन्त्रवादी सबैको सन्दर्भमा यो कुरा सत्य सावित भएको छ । पत्रकारिता विशुद्ध रोजगारीको पेशा होइन । अहिले यसको सामाजिक उत्तरदायित्वको पक्षलाई पूर्णतः बेवास्ता गरेर जागिर वा रोजगारीको पक्षलाई मात्र उठाउने गरिएको छ । त्यो नै समस्याको मूल जरो हो । कतै काम नपाए पत्रिका वा पत्रकारितामा हात हाल्ने प्रवृत्ति छ । यसले यो क्षेत्रलाई बदनाम गरिएको छ । 

अहिलेको पत्रकारिताको गुणस्तर खस्केको छ । भाषाको ज्ञान नै नभएकाहरु, अनेक स्वार्थ राख्नेहरु यस क्षेत्रमा प्रवेश गरेका छन् । हिजो आफूले लेखेको कुराको उत्तरदायित्व आफूमै हुन्छ भन्ने धारणा पत्रकार, टिप्पणीकार, लेखकहरुमा हुन्थ्यो तर आज त्यसलाई विलकुल महत्व दिन छाडिएको छ । भाषालाई बिगार्ने, विकृत गराउनेहरु र पत्रकारिता विशुद्ध जागिर वा आयआर्जनको माध्यम हो भन्ने ठान्नेहरुबाट यो क्षेत्रलाई मुक्त गराउन सकिएन भने संकटको बेला यसले डरलाग्दो समस्या निम्त्याउन सक्छ । हिजो दुःख गरेर राष्ट्र, जनता र आदर्शको लागि कलम चलाउने वा पत्रिका चलाउनेहरुको कदर पनि थियो । तर आज पत्रकारिताको आवरणमा अरु नै गलत धन्दा गरेर कुस्त कमाउनेको मात्र कदर हुने स्थिति बन्दैछ । नयाँ पुस्ता र पत्रकारितासँग सरोकार राख्ने निकायले यसलाई समय छँदै विचार पु¥याउनु पर्छ । (पत्रकारिताबाट)

प्रतिक्रिया दिनुहोस