- डा. मतिप्रसाद ढकाल
विकसित राष्ट्रहरूमा १२ कक्षाको पढाइ सकेपछि आत्मनिर्भर बन्ने अभियानमा लागेर किशोरकिशोरीहरूले आमाबुबासहित घर छाड्छन् । आफैले ज्ञान सँगसँगै धन आर्जन गरेर आफ्नै ज्ञान र धनको आधारभूमिमा स्वावलम्बी बनेर जिउन सिक्छन् । आफ्नो घर आफैले बनाउन त उनीहरूले बिर्सिँदैनन् तर आफू जन्मेहुर्केको घर र आफूलाई जन्माउने(हुर्काउने आमाबुबालाई छिमेकीजस्तै अझ भनौं पराइजस्तै व्यवहार गर्छन् । विदेश जानेहरूले यसरी भनेको र अनुभव बाँडेको सुनिएको छ तर त्यसलाई प्रत्यक्षरूपमा देख्न र अनुभव गर्न भने पाइएको छैन । त्यही भनेको सुनेर होला हाम्रा अधिकांश किशोरकिशोरीहरू १२ कक्षा उत्तीर्ण गर्न नपाउँदै विदेन जाने र उतैको सुखसुविधामा रमाउने सपना देख्छन् । ११ कक्षासम्म पढ्दा हाम्रा अधिकांश किशोरकिशोरीहरू नेपालमै दुईखुट्टा टेकेर रमाइरहेका हुन्छन् भने १२ कक्षा पढ्न थाल्दाबित्तिकै उनीहरूको एउटा खुट्टाले विदेशतिर टेक्न थाल्छ । विदेशतिर उचालिसकेको एउटा खुट्टाले नेपाल टेक्न छाडेपछि अर्को खुट्टा पनि विदेशतिर जान उचालिन्छ । नेपालमै बसेर पढ अनि नेपालभित्रै आफ्नो भविष्य देख्ने गर भनेर सम्झाउने प्रयास गर्ने अभिभावकहरू पनि हार खान्छन् र अन्ततः ुमुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छु भनेझैं आफ्ना सन्ततिहरूको विदेशिने रहर पूरा गरिदिने अभिभावकहरू विवश हुन्छन् ।
आगम बाबु हाम्रो जेठो, माहिलो, साहिँलो, कान्छो जे भने पनि एउटै छोरो हो । उसले नेपाली र अंग्रेजीका वर्णमाला तनहुँको पञ्चनगरस्थित एकता सदन स्कुलमा सिक्यो । गुणस्तरीय पढाइका लागि उसलाई हामीले गैंडाकोटको नमुना आवासीय माविमा भर्ना गरिदियौं । उसले त्यही स्कुलबाट १ कक्षादेखि १२ कक्षासम्मको शिक्षा हासिल गर्यो । उसले विज्ञान मूल विषय लिएर पढे पनि डाक्टर वा इन्जिनियर बन्ने सपना कहिल्यै देखेन । उसले आइटी पढ्ने रुचि देखायो । छन त आँगनमै आइटी पढ्ने प्राइवेट कलेज थियो तर उसले नारायणी नदी तरेर भरतपुरको इन्द्रायणी कलेजमा ढुक्कसँग चार वर्ष पढ्ने विचार गर्यो । हामीले उसको लक्ष्य र रुचिअनुसार उसलाई इन्द्रायणी कलेजमा बीएस्सी सिएसआइटी पढ्नका लागि भर्ना गरिदियौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त त्यस कलेजबाट पहिलो सेमेस्टर पनि राम्रै अंक ल्याएर उत्तीर्ण गर्यो तर उसले दोस्रो सेमेस्टर पढ्ने रुचि भने देखाएन ।
स्वदेशभित्रको पढाइप्रति आगम बाबुको किन रुचि देखिएन भनेर हामीले अनुसन्धान गर्यौं र उसको मनोविज्ञान पनि बुझ्यौं । उसँग सँगै पढेका साथीहरू एकएक गरेर पढ्ने निहुँमै विदेशिए । उसले आफूलाई एक्लो भएको अनुभूति गर्दै गयो । त्यतिमात्र होइन उसले आफ्नै देशमा आफ्नो भविष्य देख्न नसक्ने भयो । उसलाई नेपालमा यस्ता यस्ता सम्भावना छन् र भविष्य पनि छ भनेर हामीले बारम्बार नसम्झाएका होइनौं तर गधापच्चीसी उमेर नाघ्न ६ वर्ष बाँकी नै रहेकाले होला उसले हाम्रो कुरा पत्याउने आधार देखेन र हामीले पनि उसलाई सबल आधार दिन सकेनौं भने सरकारले पनि यस्ता युवाहरूलाई देशभित्रै रमाएर बस्नका लागि पत्यारिलो आधार प्रदान गर्न सकेन । जसका कारण हामीले उसलाई देश नछाड भन्न सकेनौं र उसलाई आज बिदाइ गर्न हामी बाध्य भयौं ।
ुगृहासक्तस्य नो विद्याु अर्थात् घरको सुखसुविधामा रमाउने व्यक्तिले यथार्थमा विद्या आर्जन गर्न सक्तैन भनेर मैले सानैमा पढेको थिएँ । मैले पनि दुई कक्षा पढ्दादेखि आमाबुबासँगै जन्म घरको न्यानो आँगन नछाडेको भए आज अरब देशको एउटा लाहुरे हुन्थेँ होला । भारतमा दुई वर्ष बस्ता आफ्नो नेपाली स्वाभिमानमा चोट नलागेको र मलाई दुःखेको अनुभूति नभएको भए मलाई आजका युवाहरूलाई जस्तै विदेश नै मनपर्थ्यो होला । देश खाएर शेष भएको छोरो पाको हुन्छ भनेर हाम्रा पुर्खाहरूले त्यसै भनेका थिएनन् होला । त्यसैले प्रत्येक अभिभावकले आफ्ना छोरालाई एकपटक विदेश पठाउनैपर्ने रहेछ । ठेस नलागेसम्म आफू हिँडेको बाटोको मूल्य थाहा नहुने भएकाले उनीहरूले विदेशमा गएर आफ्नो स्वाभिमानमा चोट लागेको अनुभूति गर्नैपर्ने रहेछ र त्यही अनुभूति बाक्लिँदै गएपछि आफ्नो जन्मभूमि अनि आफ्ना आमाबुबाप्रतिको सम्मानभाव बढ्दै जाने रहेछ ।
लंका जितिसकेपछि लक्ष्मणले सुनैसुनले सजिएको लंकामा नै बसौं वनजङ्गलले भरिएको अयोध्या किन फर्कनुपर्यो र १ भनेर आफ्ना दाजुसँग प्रस्ताव राखेका थिए । त्यो सुनेर रामले लक्ष्मणलाई सम्झाउँदै ुअपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीु अर्थात् हे भाइ लक्ष्मण १ मलाई सुनैसुनले युक्त भएको लंका मन पर्दैन किनभने आफ्नी आमा र आफ्नो जन्मभूमि मेरा लागि स्वर्गभन्दा पनि महान् हुन्छ भनेर लक्ष्मणलाई अयोध्या फर्काएका थिए । आगम बाबु एक्लै आज अस्ट्रेलियाको मेलवर्न सिटीको भिक्टोरिया प्रान्तमा जानका लागि हामीसँग बिदाइ भयो । उसले त्यहाँ पुगेकै दिनदेखि आफ्नो जीवनका लागि लंका जित्न रामलक्ष्मणले गरेको जस्तै संघर्ष गर्न सुरु गर्नुपर्नेछ । ज्ञान र धन कमाउने संघर्ष गर्दै गएपछि आजको लक्ष्मणका रूपमा अस्ट्रेलिया भित्रिएको आगम बाबु भोलि संघर्षमा विजेता बनेपछि उसमा रामको प्रवृत्तिको उदय हुनेछ । जतिसुकै संघर्ष गरेपनि उसका धेरैजसो साथीहरूले लक्ष्मणको प्रवृत्ति अँगालिरहन छाड्ने छैनन् र उसले प्राप्त गर्ने जीवनसाथी पनि लक्ष्मणकै प्रवृत्तिलाई अँगाल्नु अस्वाभाविक हुने छैन तर हामीहरूले आज उसलाई दिएको आशीर्वादले उसले राम बनेर उनीहरूलाई आफ्नो जन्मभूमि फर्काउने अभियानमा लाग्ने सफलता प्राप्त गर्नेछ भन्ने हामीहरूलाई पूर्ण विश्वास छ । उसले विदेशिएका युवाहरूलाई स्वदेश फिर्ता गराउने बेलासम्म नेपाल आजकै नेपाल रहने छैन र नेपालमा पनि एउटा स्थायी पद्धतिको विकास अवश्य हुनेछ जसका कारण उसले विदेशमा आर्जन गरेको ज्ञान र धनले नेपाललाई सजाउने पर्याप्त र विश्वस्त आधार प्राप्त हुनेछ भन्ने कुरामा हामीहरू आशावादी छौं ।
२०७३ मा प्रकाशित ुचुँदीरम्घामा पुनर्जन्मु नामक जीवनीपरक निबन्धसङ्ग्रहको ुहाम्रो जन्मवंशका उत्तराधिकारीहरूु शीर्षकको अन्तिम निबन्धको अन्तमा मैले यस्तो लेखेको थिएँ स् ूयिनीहरूलाई जापान, जर्मन, अमेरिका, अस्ट्रेलिया आदि देशमा जिउने सपनाहरू यही देशमा देख्न र यही देशलाई सजाउने प्रेरणा दिइरहनकै लागि हामी बाँचिरहेक छौं र उनीहरूले पनि हाम्रा यस्तै सद्भाव र प्रेरणाका नदीहरूमा पौडिएर आफूलाई निर्मल बनाउने प्रयत्त गर्दै आएका छन् । हामी प्रत्येक आमाबुबाले आफ्ना प्रत्येक सन्ततिमाथि यस्तै आडभरोसा राख्तै जान सक्यौंभने हामीमात्र होइन हाम्रो देशका सच्चा उत्तराधिकारीहरू पनि यही देश र यही माटामै रमाउने छन् ।ू आस्था छोरीले त अझसम्म विदेश जाने सपना देखेकी छैन र दाजु अस्ट्रेलिया जाँदै गर्दा बाबाले स्वदेशमै रम्ने र विदेश नजाने भनेर लेख्नुभएको थियो भनेर उसले दाजुलाई सम्झाएकी छ । आमाबुबाको मात्र होइन बहिनीको सम्झनाले पनि आगम बाबु स्वदेशमा आएरै रम्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।
आगम बाबु विदेश जाने साइत निकाल्दै गर्दा आफ्नै गाउँको शिरमा रहेकी मौलाकालिका माताको उसले आफ्नै आमाका साथमा दर्शन गरेर मौलाकालिका देवीको आशीर्वाद थापेको छ अनि नेपाल छाड्नुपूर्व उसले शिवरात्रिको पावन अवसरमा पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्किने वरदान प्राप्त गरेको छ । त्यसैले मौलाकालिका माता र पशुपतिनाथजस्ता पिताको आशीर्वादले उसलाई अस्ट्रेलियामा ज्ञानार्जन र धनार्जन गरिरहँदा सदैव यही देशमा फर्किन बारम्बार प्रेरणा दिइरहनेछन् जसका कारण निमित्तमात्रका हामी आमाबुबालाई उसले कहिल्यै भुल्ने अवसर नै पाउने छैन । त्यसैले हामी उसलाई बिदाइ गर्दा पनि यही पवित्रतम भावनाले ढुक्क हुन सकेका छौं ।
आगम बाबुको अस्ट्रेलियाको बसाइ सुखद एवं सुस्वस्थ रहोस् अनि आफ्नो जीवनको भविष्य कोर्ने योजनाको निर्माणमा पूर्णरूपमा सफता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
प्रतिक्रिया दिनुहोस