नेकपा माओवादी (क्रान्तिकारी) को पन्ध्र दिने मेची–महाकाली अभियान चितवनमा सकियो

मंगलबार, २१ फागुन २०७५, १७ : ०५
नेकपा माओवादी (क्रान्तिकारी) को पन्ध्र दिने मेची–महाकाली अभियान चितवनमा सकियो

चितवन । देशका चारवटा शहरबाट फागुन ७ गतेदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी (क्रान्तिकारी) को १५ दिने जनजागरण अभियान मंगलबार समापन भएको छ ।
झापाको काँकडाभिट्टा, कञ्चनपुरको गड्डा चौकी, काठमाडौँको शान्तिबाटिका, कास्कीको पोखरा एक साथ उद्घाटन भएको कार्यक्रम भरतपुरस्थित चौबिसकोठीमा एक कार्यक्रमका बीच अभियानको समापन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै पार्टीका केन्द्रीय सदस्य एवं देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले अभियानले पूर्णता पाएको बताउनुभयो । ‘अभियानले आम नागरिकसँग सुझाव संकलन गरेको छ, उहाँले भन्नुभयो,‘यही सुझावको आधारमा पार्टीले नयाँ कार्यदिशा लिने छ । अभियानले निराशामा रहेका नेपालीलाई पुनः आशाको मार्ग देखाएको छ ।’

वर्तमान सरकारको चर्को विरोध गर्नु भएका उहाँले नेकपा नक्कली कम्युनिष्टहरु गठबन्धन भएको आरोप लगाउनुभयो । ‘जबसम्म देशमा हत्या हिंसा, भ्रष्टचार र महगीको नियन्त्रण हुँदैन तबसम्म पार्टीले खबरदारी गर्न छाड्दैन, उहाँले भन्नुभयो,‘वर्तमान सरकार सही गतिमा नहिडेर त्यसको विपरिततर्फ हिडेको छ । देशमा भ्रष्टचार, कमिश्नतन्त्रहरुले बढुवा पाएको छ ।’


पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता हरिभक्त कँडेलले नेकपा नेतृत्वको सरकार राष्ट्रियता र स्वधिनता पक्षमा नरहेको आरोप लगाउनुभयो । ‘अहिलेको सरकारले भारतसँग आत्मसर्मपण गरेको छ, उहाँले भन्नुभयो, नेपालको क्षेत्रफल १० हजार वर्गमिटरभन्दा बढी हराउदा पनि निशब्द भएर बसेको छ । देश अहिले साम्राज्यवादीहरुको अखडा बनेको छ ।’


त्यस्तै पाटीका सचिव एवं केन्द्रीय सदस्य परी थापाले अहिलेको सरकारलाई कम्युनिष्ट सरकार भन्न नमिल्ने बताउनुभयो । उहाँले कम्युनिष्ट सरकार देशमा आएसँगै भ्रष्टचारले प्रश्य पाएको भन्दै जनताले यस सरकारबाट सुख,शान्ति र विकासको आशा गर्न नसक्ने बताउनुभयो । कार्यक्रममा जनयुद्धका शहिद,बेपत्ता तथा घाईतेका परिवारलाई सम्मान गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस