- सूर्यप्रकाश सुवेदी ‘पथिक’
चाल्र्स शोभराजले एकपटक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा भनेका थिए ‘म यहाँबाट सग्लो हात्ती बिना रोकटोक सजिलै छिराउन सक्छु’, कुख्यात शोभराज जसले अपराधका अनेकौ किम्वदन्ती बनाएका थिए, अहिले नेपालको जेलमा सजाय भोगिरहेका छन् । नेपालको अन्तरर्राष्ट्रिय विमानस्थलको बारेमा उनको टिप्पणी पंचायतकालको हो । राजा, महाराजा र उनका भाइ खलकको थुप्रै अनियमित कामको लागि यो विमानस्थल प्रयोग भएको र कसैले नबोल्ने स्थिति थियो त्यो बेला । सुन तस्करी राजतन्त्रको संरक्षण त्यो बेला फलेको फुलेको थियो । सुन बूढा मन्त्री र सुन बहादुरहरुको किस्सा नेपालीले सुनेकै थिए ।
बहुदलको आगमनसँगै अबैध सुन तस्करीको जालो तोड्ने काम प्रभावकारी रुपमा निरन्तर हुन सकेन । केही राम्रा प्रयास भए तर तस्करहरु नयाँनयाँ योजना बुन्छन र सजिलै राज्यलाई चक्मा दिंदै आफ्नो गोरखधन्दा अविरल चलाइरहेका छन् । यो धन्धामा राज्यको नुन खाएर तस्कर र अपराध नियन्त्रण गर्ने जिम्मा पाएका केही अपराधी अधिकारी नै संग्लन हुने हुँदा यो समस्या विकराल बन्दछ । अझ प्रहरीका उच्च अधिकारी, गृहका पदाधिकारी र मन्त्रीले नै कतिपय सन्दर्भमा संरक्षण गर्छन अनि परिस्थिति भयावह र काबु बाहिर बन्दो रहेछ्र । जब रक्षक नै भक्षक बन्दछन् अनि सामान्य नागरिकको केही जोड चल्दैन ।
सनम शाक्य हत्या र ३३ किलो सुनका पेरिफेरिमा यो सानो टिप्पणी गर्न लागिएको छ्र । रामबहादुर थापा बादल गृहमन्त्री भएपछि गरिएको चर्चित कारवाहीमध्ये यो पनि एक हो । गृहमन्त्री रामबहादुर थापा बादलले पदभार सम्भाल्नु पूर्व नै सनम शाक्यको हत्या भइसकेको थियो । हत्यामा संलग्न भनिएका केही मतियार प्रहरीले समाती लगभग यो प्रकरणलाई उसले ‘सफलतापुर्वक’ किनारा लगाइसकेको थियो । सनम शाक्यको हत्यामा उसैका साथीहरु तीन जना जेल गइसकेका र उनीहरुले साविती बयान पनि दिएपछि समाज र सरोकारवाला बोल्ने पनि ठाउँ थिएन । यसरी यो मुद्दा जमिन मुनि दस फिट तल मजबुतीका साथ गाडिएको थियो ।
तर, गृहमन्त्रीलाई भित्र कतै निकै ठूलो रहस्य र षड्यन्त्र लुकेको छ भन्ने निरन्तर लागिरह्यो । झन् यो प्रकरण सुन तस्करी र नेपालको एकमात्र अन्तरार्राष्ट्रिय एयरपोर्ट पनि जोडिएको देखिएपछि गहिरो अनुसन्धान गर्नुपर्ने निष्कर्षमा उहाँ पुग्नुभयो । उहाँलाई सनम शाक्यका परिवार, पूर्वको पार्टीका कमरेड, गृहका कर्मचारी र केही पूर्वका पत्रिकाहरुका सूचनाले निरन्तर आफ्नो बिश्वास दृढ बनाउदै लग्यो । यसको उचित छानविन गर्न शुरुमा प्रहरीकै उच्च स्तरीय टोली बनाउने सोचाइ बन्यो । गृह मन्त्रालय सम्भालेको शुरुकै महिनामा नेपाल प्रहरीसँग राम्रो सहकार्यका लागि विश्वासिलो वातावरण नबनी सकेको अवस्था, प्रहरीले एकपटक किनारा लागिसकेको मुद्धामा पुनः छानविन गर्न परेमा आउने केही मनोवैज्ञानिक समस्या र कतिपय प्रहरी अधिकृत पनि यसमा मुछिएको आदि कारणले गृहमन्त्रालयकै छानविन समिति बनाउँदा प्रभावकारी हुन्छ भन्ने लाग्यो ।
अन्ततः मन्त्रिपरिषद्को बैठकबाट गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको अध्यक्षतामा एक शक्तिशाली छानविन समिति बन्यो । जसमा नेपाल प्रहरी,राष्ट्रिय अनुसन्धान लगायतका प्रतिनिधि सामेल थिए । यसले लामो अनुसन्धान ग¥यो र एक एक गरी अपराधीहरु कानुनको कठघरामा ल्यायो । हिजोसम्म साढे ३३ केजी सुन र सनम शाक्य हत्या मात्र चर्चा र अनुसन्धान थियो भने अब नेपालकै अहिलेसम्मको सबैभन्दा ठूलो सुन तस्करीको संजालसँग जम्काभेट भइरहेको थियो ।
गृहमन्त्रीले विगतमा टनका टन सुन एरपोर्टबाट तस्करी भइरहेको कुरा सार्वजनिक मंचमा भनिरहदा मानिसहरु बिश्वास गर्न गाह्रो मान्दथे । तर, छानविन समितिले ३८ क्विन्टल सुन गोरे र उसको गिरोहले केही बर्षको अन्तरालमा तस्करी गरेको सप्रमाण पेश ग¥यो । सुन तस्करीमा एअरलाइन्सका र एयरपोर्टका कर्मचारी, प्रहरी प्रशासन ,तस्कर, राजनीतिक नेतृत्व , विदेशी खरिदकर्ताहरु एक आपसमा कसरी जोडिएर काम गर्दा रहेछन सबै कुरा छर्लंग पा¥यो । उच्च स्तरीय छानविन समितिले ७५ जना प्रतिवादी कायम भएकोमा ४६ जना पक्राउ गरेको र तीमध्ये ३४ जना पुर्पक्षका लागि जेल चलान भएका र ३६ जनाको चल अचल सम्पती रोक्का गरिएको छ ।
नेपालमा सुनको तस्करी पहिला भन्दा गुणात्मक कमी आएता पनि पूर्णरुपले अन्त्य भइसकेको छैन । गोरे र उसको गिरोह भने पूर्ण रुपले ध्वस्त भएको छ । तस्करहरु नयाँनयाँ उपाय र नाका प्रयोग गरिरहेका छन् । अहिले पछिल्लो समयमा उत्तरतिरको नाका बढी प्रयोग भइरहेको देखिन्छ । छिटफुट सुन र तस्कर पक्राउ परिरहेका छन् । यस्ता अपराधीका बिरुद्ध गृहको कडा कदम थाहा पाएका तश्करहरुले एकै पटक ठूलो मात्रामा ओसारपसारभन्दा सानो परिणाममा तस्करी गरिरहेको देखिन्छ ।
अनुसन्धान समितिले सप्रमाण समातेका सुन तस्करहरुलाई पनि अदालतले भटाभट साधारण तारिखमा छोडिदिएपछि मानिसहरुमा अनेकौ खुल्दुली र प्रश्नहरु उब्जिएका थिए । मिलेमतो र अन्य अघोषित सम्बन्धका तानाबानाका कथाहरु सल्बलाइरहेका थिए । अहिले सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र समशेर राणाले यो प्रकरणमा गलत रबैया अपनाएका न्यायाधीशहरुलाई एकमुस्ट कारवाहीको कदम चालेपछि वातावरण सहज बनेको छ ।
सुन लगायतका तश्करहरुका बिरुद्ध गृहले संचालन गरेको यो कदम हजार पाइला हिंडाइको पहिलो पाइलो मात्र हो । अझ यो क्षेत्रमा गर्न पर्ने धेरै छ । ३३ किलो सुन प्रकरणमै फरार ३१ जना अभियुक्तलाई कानुनको घेरामा ल्याउने पहिलो काम छ । उनीहरुबाट अझ यो क्षेत्रमा लागेका अन्य अभियुक्त निश्चित जोडिन्छ । यसमा सहभागी अझै ‘उच्च ठुला माछाहरु’ तानिने निश्चित छ । गोरे भन्दा पहिला भएका सुन तस्करीको संजालको समेत प्रमाण हात लाग्यो भने यो क्षेत्रको सबै संजाल सजिलै ध्वस्त गर्न सकिन्छ ।
गृहमन्त्रालय र गृहमन्त्रीले सनम शाक्य हत्या र ३३ किलो सुन प्रकरणमा निभाएको भूमिका देशमा कानुन व्यवस्था कायम गर्न गरिएको सानो प्रयास हो । यो एक गृहको नियमित काम हो । यसको खासै ठूलो चर्चा र प्रशंसा गरिरहनु पर्ने होइन तर बिगतमा यति सानो जस्तो काम पनि नगरी कतिपय सन्दर्भमा उल्टो काम भएकोले यो चर्चा आएको हो । तश्करका अपराधी र अपराधलाई जरोकिलोसम्म ध्वस्त पार्न सबैको इमान्दार प्रयत्न आवस्यक छ ।
प्रतिक्रिया दिनुहोस