– हेमन्त काफ्ले
नेपालमा पत्रकारिताको कखरा पढेका र कलम चलाएकाहरु नै यतिबेला प्रवासी नेपाली पत्रकारिताको आधारस्तम्भ हुन् भन्दा फरक नपर्ला । मुलुकमा यसलाई पेशा बनाएकाहरु सुन्दर भबिष्यको खोजी गर्दै विदेश पुगेपछि आफ्नो प्यासनलाई छाड्न नसक्दा प्रवासी नेपाली पत्रकारिताको प्रभाव बढेको पाइन्छ । हुन त दुई चार औंलामा गन्न सकिने नेपालीहरु विदेशी सञ्चारमाध्यममा काम नगरेका होइनन् । तर पनि व्यवसायिकरुपमा भन्दा पनि पत्रकारिताको प्यास मेट्न नसक्दा विदेश पुगेकाहरुले नै यसको बिँडो थामेको कुरो कसैबाट लुकेको छैन ।
यतिखेर संसारभर छरिएर रहेका नेपाली समुदायसँंगै कैयन देशमा नेपाली तथा अंग्रेजी भाषाका पत्रिका र अनलाइन बग्रेल्ती देख्न पाइन्छन् । नेपालीहरुको बाुहल्यता रहेको अमेरिका र अस्ट्रेलिया, जापान र कोरियाजस्ता देशमा समेत प्रवासी पत्रकारिताको चहलपहल बढ्दो छ । नेपालमा गरेको पत्रकारिता र विदेशमा बसेर गरिने पत्रकारितामा केही फरक भएपनि नेपाली अनलाइन र दैनिकका प्रतिनिधिहरुको पत्रकारितामा त्यत्ति अलग पक्ष भटिँदैन । विदेशमा दर्ता भएका पत्रिका स्थानीय कानुनअनुसार गाइडेन्स हुने हनाले पनि जिम्मेवार पत्रकारिता गरेको अनुमान लगाउन सकिन्छ । तर सोही स्थानबाट नेपाली अनलाइनहरुमा लेखिने समाचार साप्ताहिक स्टाइलको हुने गर्दछ ।
प्रवासको पत्रकारिताको कुराकानी गर्दा अमेरिका र अस्ट्रेलिया अनि युरोपमा पत्रकारिता गर्दैगर्दा गोपनीयताको हक सबैभन्दा महत्वपूर्ण पक्ष मानिन्छ । अपराधमा संलग्न व्यक्तिदेखि बालबच्चा, बृद्ध र महिलाका बारेमा लेख्ने समाचारका बिषयमा सधै सजग हुनुपर्दछ । देखेको कतिपय समाचार पनि लेख्न भने गोपनीयता र मानवअधिकारको सरोकारका कारण लेख्न नपाएको कैयन दृष्टान्तहरु छन् । जस्तो अस्ट्रेलियामा आत्महत्याको समाचार खुलेआम समाचारका रुपमा सम्प्रेषण गर्न पाइँदैन । यसले आम मानिसमा गलत सन्देश फैलाउने हुनाले पनि यहाँको पत्रकारिताको कोड अफ कन्डक्टले यो विषयमा रोक लगाएको छ । त्यति मात्र होइन, अपराधमा संलग्न व्यक्तिको तस्वीर र अपराध प्रमाणित नभइन्जेलसम्म समाचार बन्न पाउँदैनन् । हाम्रो देशमा अख्तियारले पत्र काटेकै भरमा हामीले लेख्ने समाचार, आरोप लागेकै भरमा अपराधीझै बनाउने प्रवृत्ति यहाँको पत्रकारितामा पटक्कै चल्दैन । मानहानीको विषयमा पनि यहाँको कानुन निकै गम्भीर र झन्झटिलो अनि मंहगो भएकोले मानिस यो झमेलामा पर्न चाहँदैनन् । मानहानीको मुद्दामा अरबौं रुपैयाँसम्मको क्षतिपूर्ति हुने हुनाले यंहाँका मिडियाहरुले समाचारलाई मसिनोसँंग केलाएर र प्रमाणित हुनेगरी मात्र लेख्ने गर्छन् । प्रवासी नेपाली पत्रकारिताको पहिलो पुस्तामा मात्र सीमित भएकोले पनि हामी अहिले यी सम्बन्धित मुलुकका कानुनी कुरासँंग गम्भीर भएको देखिँदैन । हाम्रा समाचारहरु प्रायः हाम्रै समुदायभित्र रहने भएकाले पनि ठूला र अप्ठ्यारा चुनौती खेप्नुपरेको देखिँदैन । हुन त प्रवासमा नेपाली समाज फराकिलो बन्दै गर्दा आपसी समन्वय र सञ्चार अनि भात्तृत्वका लागि शुरु भएको हाम्रो सामुदायिक पत्रकारिता अझसम्म व्यवसायिक बन्न सकेको छैन ।
पत्रकारितालाई पेशा बनाएर विदेशमा रमाउनेहरु मात्र केही औंलामा गन्न सकिने होलान् । नत्र आफ्नो नित्य कर्म सकेर बचेको समयलाई सदुपयोग गर्ने पार्टटाइम पत्रकारहरुले नै धानेका छन् प्रवासी पत्रकारिता । अस्ट्रेलियाको विषयमा कुरा गर्दा समाचारको पृष्टि गर्न सम्बन्धित निकायलाई लिखित पठाउने प्रचलन बढी देखिन्छ । इमेलमार्फत आधिकारिक धारणा माग गर्दा समाचार पृष्टि गर्न केही समय पनि लाग्ने गर्छ । कहिलेकाहीँ देखेको घटनाको समेत पुष्टि नगरी समाचार लेख्न निकै कठिन हुने गर्छ । सम्बन्धित निकायले यसको पुष्टि गरेपछि मात्र घटनाका विषयमा आधिकारिक समाचार बन्ने गर्छन् ।
हुन त प्रवासी नेपाली समाजको हित र संरक्षण अनि नेपाली भाषा, कला, संस्कृतिको जगेर्नाका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि छ । पछिल्लो परिस्थितिमा प्रविधिले पत्रकारितालाई सहजतासँंगै चुनौती पनि थपिदिएको छ । सामाजिक सन्जालहरु नागरिक पत्रकारिताको रुपमा उदाउँदै गर्दा प्रवासमा पत्रकारिताले आफ्नो अस्तित्वको लागि मर्यादित भएर अगाडि बढ्नुपर्ने बेला आएको छ । नेपाली समाजको हकहित र एकताको लागि कलम चलाउने र सम्बन्धित मुलुकको कानुन र परिधिभित्र रहेर पत्रकारिता नगरे प्रवासी पत्रकारिताले अबका दिनमा थुप्रै चुनौती समेत व्यहोर्नुपर्ने हुन्छ ।
असीको दशकदेखि विदेशिन सुरु गरेको नेपाली समाजलाई जोड्ने र यसका हितका खातिर कलम चलाउने अहिलेको प्रवासी पत्रकारिताको आवश्यकता हो । विदेशमा सानो समाचारले समाजमा ठूलो प्रभाव पार्ने हुनाले समाचार पस्किँदा सत्य र तथ्यको आधारमा कलम चलाएमात्र प्रवासमा विस्तारै फष्टाएको नेपाली पत्रकारिताले दिगो स्वरुप लिने छ । यसलाई साँच्चिकै भन्नुपर्दा रहरमा फुलेको अप्ठयारो फूलका रुपमा लिँदां हुन्छ । विदेशमा काम सकेर नामका लागि समाजमा जोडिने यो कर्म साँच्चिकै गारो र सारो पनि छ । समाचार लेखेन भने गाली, लेख्यो भने ताली अनि तलमाथि भयो भने घरबार उठिबासको पालि । (पत्रकारिताबाट)
(लेखक नेपाल पत्रकार महासंघको पूर्वकोषाध्यक्ष हुन् । उनी हाल अष्ट्रेलियामा छन् ।)
प्रतिक्रिया दिनुहोस