– कोमल वली
१९ जुलाई, दिउँसो प्रधानमन्त्री कार्यालयबाट मलाई फोन आयो । साँझ प्रधानमन्त्री निवासमा भेट्ने कार्यक्रम तय भएको थिएँ । म साँझ भनिएको समयमा नै त्यहाँ पुगेँ । त्यहाँ पुग्दा दिनेश डिसी र पर्यटनमन्त्री रवीन्द्र अधिकारीज्यु पहिले नै पुगिसक्नु भएको रहेछ । प्रधानमन्त्री केपी शर्मा ओलीज्यु पनि हुनुहुन्थ्यो ।
केहीबेर बसेपछि हामीबीच कुराकानी हुन थाल्यो । प्रधानमन्त्रीज्युले भन्नुभयो– सुभाष चन्द्रजी आउँदै हुनुहुन्छ ।
जी टिभीका सुभास चन्द्रजी आउँदै हुनुहुँदो रहेछ । उहाँहरुसँग फिल्म सिटी बनाउने विषयमा कुरा हुन लागेको रहेछ । प्रधानमन्त्रीज्यूले केही अघि फिल्म सिटी बनाउँछु भनेर भन्नु भाषण गर्नुभएको रहेछ । यो कुरा गर्दै उहाँले भन्नुभयो– तपाईंहरु पालुङटार गएर आउनुहोस् न, हेर्नुस्, सम्भव छ कि छैन l
रवीन्द्र अधिकारीज्यूले यसमा सही थप्नु भयो, त्यो क्षेत्र अत्यन्त राम्रो भएको भन्नुभयो । अनि हामीले प्रधानमन्त्री कार्यालयमा नै निक्र्योल गर्यौँ, हामी पालुङटारमा पुगेर आउने । राम्रो भएमा जया चन्द तथा सुभाषजीको टिमलाई पनि लिएर जाने । प्रधानमन्त्रीज्युले नै भन्नुभयो– कोमलजी पनि पुगेर आउनुहोस् l
२० जुलाई विहान हामी जाने भयौँ । हामीले पहिले साढे आठ बजे जाने तय गरेका थियौँ । तर, विमानस्थल पुग्दा नै ११ बज्यो । त्यहाँ पनि केही समय भुलेपछि हामी हेलिकोप्टरमा पालुङटारतिर लाग्यौँ । जुलाई अगस्टको समय । फ्याट्टै पानी पर्न सक्थ्यो । आकाशमा कालो बादल मडारिएको थियो । तर, त्यतिको मौसममा हेलिकोप्टरले उडान भर्न सक्दो रहेछ । हामी हेलिकोप्टरमा बस्यौँ । रवीन्द्रजी अगाडि बस्नुभयो । पछाडिपट्टी पाइलटको साइडमा झ्यालछेउ म बसेँ ।
हेलिकोप्टरले उडान भर्यो । उडान सुरु भएलगत्तै रवीन्द्रजी अत्यन्त एक्टिभ देखिन थाल्नुभयो । उहाँ हामीलाई हामी पुगेको ठाउँबारे जानकारी दिनुहुन्थ्यो । जी टिभीले गर्ने जी सिने अवार्ड नेपालमा नै पो गर्ने कि भन्ने पनि हामीबीच कुराकानी भयो । कतिबेला क्याप्टेनसँग कतिबेला हामीसँग उहाँ कुरा गरिरहनु भएको थियो । हाम्रो क्याप्टेन सर योङ हुनुहुन्थ्यो । बादल लागिरहेको र मेरो अनुहारमा थोरै त्रास देखेर हुनुपर्छ रवीन्द्रजीले भन्नुभयो– मलाई त युवाहरुले गरेको कुरामा एकदम विश्वास लाग्छ, योङ पिपुलले भरेको उडान होस् या अरु कुरा त्यसमा पनि विश्वास लाग्छ, कुनै डर लाग्दैन ।
हेलिकोप्टर भनिएको ठाउँभन्दा अलिक पर ल्यान्ड गरियो । जहाँ पहिले ल्यान्ड गर्ने तयारी थियो, त्यो ठाउँ नजिकै पानी थियो, त्यसैले पाइलटले आफ्नै विचार पुर्याएर त्यसलाई अलिक सेफ ठाउँमा ल्यान्ड गर्नु भएको थियो ।
हेलिकोप्टरबाट झर्ने वित्तिकै रवीन्द्रजीले भन्नुभयो– म त पहिले विमानस्थल भएका र अहिले बन्द भएका सबै ठाउँमा फेरि उडान सुरु गर्ने पक्षमा छु, विमानको यात्राजस्तो सुरक्षित यात्रा अरु केही हुँदैन, यो अभियानमा लाग्ने छु । हामीले जहाँ फिल्म सिटी बनाउने भनेर हेर्न गएका थियौँ, त्यहाँ पनि विमानस्थल बन्न सक्ने स्थान रहेछ ।
त्यहाँ कार्यक्रम सकेर हामी फर्कियौँ । विमान धादिङको आकाशमा आइपुगेको थियो । मन्त्रीज्यू फोनमा निकै व्यस्त हुनुहुन्थ्यो । म बाहिर हेर्दै थिएँ । अचानक ठूलो हावाहुरी चल्यो । नौबिसे माथि आइपुग्दा त हावा निकै जोडले चल्न थाल्यो । म डराएँ । अनि मैले गुनासो पनि गरेँ– यसरी उड्नुभन्दा त एकछिन पछि उडेको भए पनि हुने वा विहान छिटो गर्न पाएको भए हुने ।
रवीन्द्रजीले भन्नुभयो– महादेव पुकार्नुस् न, तपाईंको महादेव छन् नि l
उहाँले यसोभन्दा पहिले नै महादेव पुकार्न थालिसकेकी थिएँ । नागढुगांमाथिको आकाशमा आइपुग्दा त मुसलधारे पानी पर्न थाल्यो । हामी काठमाडौं छिर्यौँ, मैले मनमा पशुपतिनाथवाहेक अरु केही सम्झिनँ सकिनँ । मलाई लाग्यो, एकै मिनेटमा के के हुनसक्छ, सक्छ यो जीवन ।
विमानस्थलमा उत्रिएपछि चाहिँ बल्ल रवीन्द्र अधिकारीज्यूले मलाई हेर्नुभयो र हाँस्नुभयो । अनि पाइलटलाई धाप मार्नुभयो । उहाँले पनि हामी ठूलो जोखिम मिलेर आएको कुरा स्वीकार्नु भयो । पछि उहाँसँग म जनकपुरबाट फर्किँदा सँगै यात्रा गरेकी थिएँ तर त्यो हेलिकोप्टरको यात्रा थिएन ।
जे होस्, त्यो पालुङटारमा गएर फर्किएर आउँदाको हेलिकोप्टर यात्रा डरलाग्दो थियो, रवीन्द्र अधिकारीज्यूसँगको पहिलो हेलिकोप्टर यात्रा थियो ।
आज दिउँसो उहाँ सवार भएको हेलिकोप्टर क्र्यास भयो र उहाँको निधन भयो भन्ने कुरा मैले पत्याउनै सकेकी छैन । अहिले अमेरिकी यात्रामा भएकाले पनि मलाई त्यो कुरा सपना हो जस्तो आभास भइरहेको छ ।
जे नहनु पर्ने थियो, त्यही भयो । देशले एउटा सच्चा नेता गुमाएको छ, श्रद्धाञ्जलि ।
प्रतिक्रिया दिनुहोस