प्रचण्ड विजय अभियानमा पूर्वलडाकुहरुले साथ दिने

शुक्रबार, २४ कार्तिक २०७४, १८ : १३
प्रचण्ड विजय अभियानमा पूर्वलडाकुहरुले साथ दिने


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष, पूर्वप्रधानमन्त्री एवं संयुक्त वाम गठबन्धनबाट प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर तीनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनमा जिताउन पूर्व लडाकुहरुले साथ दिने भएका छन् ।

चितवनको कालिका नगरपालिका वडा नम्बर सात सगुनटोलमा शुक्रबार आयोजित पूर्वलडाकुहरुको भेला एवं अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डकै अगाडि पूर्वलडाकुहरुले उनलाई साथ दिँदै प्रचण्ड विजय अभियानलाई सफल पार्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै प्रचण्डले पूर्वलडाकुलाई कम्युनिष्टहरुको बहुमतको सरकार हेर्न अब धेरै समय नलाग्ने बताएका छन् । यस अगाडि कम्युनिष्टको बहुमतको सरकार नहुँदा देशका लागि बलिदान र योगदान गरेका पूर्वलडाकुहरुलाई केही गर्न नसकेको सत्य भएको उनले बताए ।

“२–४ महिना हेर्नुस् अनि थाहा पाउनुहुन्छ, हाम्रो वामपन्थी गठबन्धनको केन्द्र र प्रदेश सरकार बनेपछि हामी सबैको समस्या समाधान गर्छौं” प्रचण्डले भने, “तपाईहरु पूर्वलडाकु, म पूर्वसुप्रिम कमाण्डर, हामीले सामान्यरुपमा मात्रै तपाईहरुको समस्यालाई समाधान गर्न सकेका थियौं । अब वामपन्थीहरुको बहुमतको सरकार बनेपछि कम्युनिष्ट सरकारले हामी पूर्वलडाकुलाई सम्झेको रहेछ भनेर तपाईहरुले भन्नुहुनेछ ।”

पूर्व जनमुक्ति सेना संघ नेपालले आयोजना गरेको भेला तथा अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले “देशमा आएको परिवर्तन र गणतन्त्रको स्थापना सँगसँगै यसको संस्थागत विकास र संविधान कार्यान्वयनमा पूर्वलडाकुको महत्वपूर्ण भूमिका रहेको छ ।” पार्टी र राज्यले पूर्व लडाकुको समस्या मात्र होइन घाइते, अपाङ्ग र बलिदानी दिएकाहरुको पनि सम्मान गर्न बाँकी रहेको प्रचण्डले बताए ।

“जब हामी एमाले र माओवादी केन्द्र एक हुने घोषणा ग¥यौं तब सामन्ती पश्चगमनकारीहरु छट्पटाएका छन्” प्रचण्डले भने, “हामी यस अगाडि सानो थियौं, हाम्रो सरकारमा शक्ति कम थियो, हामी अब वाम गठबन्धनले बहुमत ल्याई स्थायी सरकार बनाउँछौं । त्यस समयभित्र सबै समस्या समाधान हुन्छ, तपाईहरु ढुक्क हुनुहोस् ।”

“मैले चितवनबाट चुनाव जित्नमात्र उम्मेदवारी दिएको होइन, आफू चितवनबाट निर्वाचनमा उम्मेदवार भएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, आफू जन्मेको हुर्केको ठाउँबाटै देशको नेतृत्व गर्न चाहेको छु । जित्न त मैले देशको जहाँबाट पनि सक्थेँ तर म यहीँ आएको छु । तपाईहरुको माया र ममताले गर्दा आएको छु । हामी चुनाव लगत्तै दुई पार्टी एक हुन्छौं । तपाईहरु चितवनका नौ वटै उम्मेदवारसहित देशैभर वाम गठबन्धनलाई जिताउनुहोस् । हामी देशमा स्थायी सरकार बनाएर समृद्ध मुलुक बनाउन चाहन्छौं ।”

पूर्वी चितवनको कालिका नगरपालिका लगायतका क्षेत्रमा चार सयभन्दा बढी पूर्वलडाकु स्थायी रुपमा घर बनाई बस्दै आएका छन् । भूमिगत समयमा गजुरी जेल तोड्न सफल माओवादीका पूर्वलडाकु देवीप्रसाद ढकालले भने

, “खोला त¥यो, लौरो बिस्र्योजस्तो हामी पूर्वलडाकुहरुलाई भएको अवश्य हो, तर हामी ढुक्क छौं । समय आएको छैन, अब आउँदैछ । हामीजस्ता गरीब, सर्वहारा, उत्पीडितको । हाम्रो सुप्रिम कमाण्डर प्रचण्डले यी कुरा भुल्नु भएको छैन । भुल्नु हुने पनि छैन । हामी ढुक्क छौं ।”


पूर्वलडाकुहरुसँगको अन्तरक्रिया एवं सम्बोधन कार्यक्रममा प्रचण्डले पूर्वलडाकुको बसाई, अवस्था र उनीहरुको घर हेर्न आफूलाई इच्छा भएको बताएका छन् । म तपाईहरुको घर हेर्न आउँछु, बसाई हेर्न आउँछु, प्रचण्डले भने, धेरै सुनेको छु, समस्याहरु छन् । मैले गर्न सकेको छैन, गरेर देखाउँछु । म तपाईहरुको गाउँमा सुटुक्क आउँछु, अनि मात्र थाहा हुन्छ, तपाईहरुको अवस्था कस्तो छ, कसरी बस्नु भएको छ, के गर्दै हुनुहुन्छ, हेर्न चाहन्छु ।

 

प्रतिक्रिया दिनुहोस