पाँच जना युवाहरुले सुरु गरे सामूहिक तरकारी खेती

सफल खबर संवाददाता

सोमबार, १३ फागुन २०७५, १९ : ४८
पाँच जना युवाहरुले सुरु गरे सामूहिक तरकारी खेती

चितवन । नेपालमै सम्भावना देखेर पछिल्लो समय युवाहरुले विभिन्न आयमूलक पेशा अंगालन थालेका छन् । यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नम्बर –२३ जगतपुरस्थित मधुपुरीमा पाँच जना युवाहरुले आधुनिक प्रविधिबाट तरकारी खेती सुरु गरेका छन् ।
ढुंगाना एग्रीकल्चर प्रोडक्ट प्रालिको नामबाट सञ्चालनमा आएको सो फर्मले मौसमी तथा बेमौसमी तरकारीहरु टमाटर, सिमि, बोडी, फर्सी, भेन्टा, करेला, लौका, चिचिन्ना, मुला, घिरौला आदि उत्पादन गर्दै आईरहेको छ ।
विस २०७५ देखि सुरु भएको फर्म धादिङका सामर्थ ढुंगाना, सिवहरी सिलवाल, रामकृष्ण रिमाल र चितवनका कमल अर्याल, सुमन लुईटेलले सञ्चालकमा ल्याउनु भएको हो । करिब ७० लाख रुपैयाँ लगानीमा सुरु गरेको सो एग्रीकल्चर फार्मका लागि २५ बिघा जग्गा भाडामा लिईएको छ ।

एग्रीकल्चर फार्म सञ्चालन आएसँगै स्थानीय ३५ जना रोजगार भएका छन् । फार्मबाट उत्पादित तरकारी स्थानीय नारायणगढ, काठमाडौँ र देशका अन्य बजारहरुमा बेच्ने गरेको फर्मका सञ्चालक मध्येका एक शिवहरि सिलवालले बताउनुभयो ।
आधुनिक प्रविधिबाट खेती गर्दा लगानी बढी लाग्ने भएकाले भारतीय तरकारीको मुल्यसँग प्रतिष्पर्धा गर्न गाह्रो भइरहेको उहाँको भनाई छ ।

स्थानीय तरकारीको उत्पादलाई वृद्धि गरी भारतीय बजारको तरकारीको आयात कम गर्न फर्मलाई सञ्चालनमा ल्याइएको फर्मका अध्यक्ष सामर्थ ढुंगानाले बताउनुभयो ।
कृषिमा तत्कालै क्रान्ति नगरेसम्म यसको सम्भावना नरहेकोले युवाहरुको सामूहिक प्रयासमा व्यवसायीक तरकारी खेती सुरु गरेको जानकारी दिनुभयो ।
 क्षेत्रफल अझै बढाएर कृषिमा कायापलट ल्याउने गरी तरकारी खेतीमा लाग्ने बताउनुभयो ।
साहित्यमा रुची राख्ने फार्मका अर्का सञ्चालक कमल अर्यालले स्वदेशमै बसेर कृषिमा नै केही गरौ भन्ने उद्देश्यले तरकारी खेतीमै कथाहरु खोजी साहित्यमा कलम चलाउने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस