ट्रम्प र किमको नक्कली जोडी पक्राउ, सोधपुछपछि रिहा

एजेन्सी

सोमबार, १३ फागुन २०७५, १५ : ५१
ट्रम्प र किमको नक्कली जोडी पक्राउ, सोधपुछपछि रिहा

भियतनाम । उत्तर कोरियाका नेता किम जङ् अन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनामको प्रहरीले सोधपूछ गरेको छ । किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिन रसेल ह्वाइटलाई प्रहरीले हपारेको छ । ती दुईले हनोइमा नेताहरूको बैठकको नक्कल गरेका थिए ।

सोधपूछ पश्चात् दुवैजनालाई प्रहरीले रिहा गरिदिएको छ । समाचार संस्था एएफपीसँग बोल्दै दुवैजनाले आफूहरूलाई त्यहाँबाट निकालिदिने धम्की आएको बताए ।

किम जङ् अनको नक्कल गर्ने हावर्ड एक्स खासमा हंगकंगका बासिन्दा हुन् । उनले एएफपीलाई भने, "उनीहरूले नक्कल गर्न बन्द गर्न अन्यथा देशबाट बाहिर निकालिदिने भनेका छन् ।" हावर्ड र ह्वाइटले भियतनामको राजधानी हनोइमा एउटा नक्कली शिखरसम्मेलनको आयोजना गरेका थिए। उनीहरूले उत्तर कोरियाको परमाणु महत्त्वाकांक्षा कम गराउनु आफ्नो उद्देश्य भएको बताएका थिए ।


अर्को साता साँच्चिकै शिखरवार्ता

अबको एक सातामा हनोइमा अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताको दोस्रो शिखरवार्ता हुन लागेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्थाले आफ्ना नेता किम जङ(अनले आउँदो बुधवार र बिहीवार हनोइमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुन लागेको एक शिखरवार्ताको लागि देश छाडेको पुष्टि गरेको छ । यो उक्त वार्ता हुनेबारे उत्तर कोरियाको पहिलो सार्वजनिक स्वीकारोक्ती समेत हो ।

किम झण्डै ३ दिन लगाएर चार हजार किलोमिटर परको भियतनामी राजधानी पुग्नेछन् । यी दुई नेताहरूबीच दोस्रोपटक हुन लागेको यस वार्तामा किमको टोलीमा उनका परमाणु मामिला दूत, विदेशमन्त्री र उनकी बहिनी छन् । (बीबीसी)

प्रतिक्रिया दिनुहोस